गणतन्त्रका सारथी र राजतन्त्रका हिमायती बीचको चौथो ‘म्याच’

राजु अधिकारी । झापा । एकातिर राजतन्त्र र हिन्दू राज्य अभियानका सबैभन्दा मुखर नेतृत्वकर्ता राजेन्द्र लिङ्देन अनि अर्कातिर गणतन्त्र स्थापनामा निर्णायक भूमिका निर्वाह गरेका नेता कृष्णप्रसाद सिटौलाबीचको प्रतिस्पर्धाले झापा ३ को चुनावी भिडन्त चाखलाग्दो बन्दैछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेन र कांग्रेसका प्रभावशाली नेता सिटौला दुवैले यस पटकको निर्वाचनमा राजनीतिक विचारको आधारमा प्रतिस्पर्धा हुने बताइरहेका छन्। यसर्थ उम्मेद्वारहरूले वैचारिक रूझानलाई चुनावी एजेण्डा बनाउने ज्यादै थोरै क्षेत्रमा पनि  झापा ३ पर्ने भएको छ।

लिङ्देन र  सिटौलाबीचको चौथो चुनावी प्रतिस्पर्धा चाखलाग्दो हुनुको अर्को कारण २०७४ को नतिजा पनि हो।

त्यसबेला चुनावको मुखैमा आश्चर्यजनक रूपमा एमाले र माओवादीबीच गठबन्धन भयो। देशैभर वामलहर चल्ने अनुमान गरिएका बेला वाम गठबन्धनले झापा ३ मा आश्चर्यजनक निर्णय लिँदै राप्रपाका लिङ्देनलाई सघाएको थियो।

गणतन्त्र प्राप्तिकै लागि दशक लामो समय सशस्त्र युद्ध गरेको माओवादी र पञ्चायतकालमा गरेको सशस्त्र गतिविधिकै आडमा हुर्किएको एमालेले कट्टर राजावादी लिङ्देनलाई अघिल्लो चुनावमा काँध थापेका थिए। दुई ठूला कम्युनिष्टको आड पाएका लिङ्देनले त्यसबेला सिटौलालाई सजिलै हराए।

यसपटक लिङ्देनको साथमा माओवादी त हुनेछैन तर अर्को ठूलो कम्युनिष्ट पार्टी एमाले भने फेरि उनको सहयोगी बनेको छ। एमालेकै सहयोगमा पुनः चुनाव जित्ने योजनामा लिङ्देन छन्। कांग्रेस नेता सिटौला माओवादीसहितका सत्ता गठबन्धनका सहयात्री दलहरुको साथमा अघिल्लो चुनावको बदला लिने पक्षमा छन्।

यसका लागि लिङ्देनले स्थानीय चुनावको गणितलाई आत्मविश्वास आर्जन गर्ने आधार बनाएका छन् भने सिटौलाले त्यो गणितभन्दा आफ्नो राजनीतिक एजेण्डालाई मुख्य अस्त्र मानेका छन्। गएको स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र राप्रपाका वडाध्यक्षका उम्मेद्वारहरुले पाएको मत सत्तागठबन्धनका दलहरुको भन्दा धेरै छ।

१ लाख ३१ हजार ४३२ मतदाता रहेको झापा ३ मा भद्रपुर नगरपालिकाका आठ वटा वडा १, २, ३, ४, ५, ६, ७ र ८, हल्दिबारी, बाह्रदसी र कचनकवलका सबै वडाहरु र बिर्तामोड नगरको एउटा वडा नम्बर १० सहित कूल २८ वडा पर्छन्।

यो क्षेत्रका २८ वडामध्ये कांग्रेस एक्लैले १६ वटा वडा जितेको छ भने राप्रपाले ५, एमाले  ४, माओवादीले २ र एउटा वडा स्वतन्त्र उम्मेद्वारले जितेका छन्।

यो  क्षेत्रका वडामा एमालेका वडाध्यक्षले पाएको मत मत २१ हजार ८५ छ। कांग्रेसको २५ हजार ९४९ छ। राप्रपाको २१ हजार १५९, माओवादी केन्द्रको ६ हजार ६८८ , जनता समाजवादीको ५३७ र नेकपा एकीकृत समाजवादीको १२ मत छ।

झापामा एमाले गठबन्धनमा जसपा सामेल नहुने भएको छ। उसले आफ्नै उम्मेद्वार खडा गर्ने जनाएको छ। यद्यपि राप्रपा र एमालेको मत मिलाउँदा  ४२ हजार २४४ मत हुन्छ। सत्ता गठबन्धनबाट जसपा बाहिरिँदा गठबन्धनसँग ३२ हजार ६४९ मत मात्रै छ।

२०७४ को चुनावमा लिङ्देनले ४४ हजार ६ सय १४ मतसहित विजयी भएका थिए। सिटौलाले ३१ हजार १ सय ५९ मत मात्रै पाएका थिए।

मंसिर ४ मा हुने मतदानका दिन झापा-३ मा मौजुदा गणित हाबी होला कि, सिटौलाले अनुमान गरेझैँ गणतन्त्रवादी वैचारिक रूझान निर्णायक बन्ला? सम्भवतः यहीँ प्रश्नको उत्तरले यो क्षेत्रको चुनावी विजेताको टुंगो लगाउनेछ।

कांग्रेस नेताहरू अघिल्लो संघीय चुनाव र स्थानीय चुनावको गणितले आउँदो निर्वाचनमा अर्थ नराख्ने बताउँछन्। ‘स्थानीय चुनावमा हाम्रै क्षेत्रमा काँग्रेस–एमाले गठबन्धन गरेर चुनाव लडिएको थियो, अब त्यसको हिसाब तपाईँ कता लगाउनुहुन्छ?’, कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका भद्रपुरका मेयर गणेश पोखरेल भन्छन्, ‘त्यसैले स्थानीय चुनावको गणित निर्णायक हुँदैन।’

गएको सथानीय चुनावमा कचनकवल गाउँपालिकामा राप्रपाविरूद्ध काँग्रेस–एमालेले गठबन्धन गरेर सफलता पाएका थिए।

क्षेत्रमा पाँच वर्ष राप्रपाको नेतृत्व हुँदा विकासमा क्षेत्र नै पछि परेको दाबी पोखरेलको छ। ‘कृष्ण सिटौला यहाँको सांसद नहुँदा क्षेत्र नै अन्धकारमा परेको तथ्य सबैले बुझेका छन्’, पोखरेलले थपे, ‘यसले धेरै कुरा बताइहाल्छ।’

कचनकवल गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका राप्रपाका अन्जार आलम भने लिङ्देनको नेतृत्वमा क्षेत्रको विकासमा कायापलट भएको दाबी गर्छन्। ‘पाँच वर्ष अघिको क्षेत्र र अहिलेको क्षेत्रमा आकाश जमिनको अन्तर छ’, आलमले भने ‘केही भएन भन्नु पूर्वाग्रह मात्रै हो।’

सिटौलाको जित-हारको लुकामारी

२०४८ यताका सबै चुनाव यहीँ क्षेत्रबाट लड्दै आएका कांग्रेस नेता सिटौलाको चुनावी यात्रामा जितहारको लुकामारी चल्दै आएको संयोग छ।

त्यसबेलाको झापा –१ (हाल झापा ३) मा २०४८ मा पहिलोपटक चुनावी प्रतिस्पर्धा गरेका उनले अहिलेसम्म प्रतिस्पर्धा गरेका ६ वटा चुनावमध्ये तीन वटामा जीत र तीन वटामा हारको सामना गरेका छन्। २०४८ मा चुनाव हारेका उनले २०५० को उपनिर्वाचन जितेका थिए। ५१ को मध्यावधिमा पराजीत सिटौला २०५६ मा विजेता भए। २०६४ को पहिलो संविधानसभामा पराजीत उनी २०७० मा विजेता बने। २०७० मा लिङदेनलाई नै हराएका सिटौला २०७४ मा उनीबाटै पराजीत भए।

झापाबाट राजनीतिक यात्रा आरम्भ गरेका सिटौला झापाको पार्टी सभापति भए। त्यसपछि केन्द्रीय सदस्य बनेका उनी गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मात्रै बनेनन्, नेपाली राजनीतिको प्रभावशाली पात्र पनि बने। समन्वयकारी र मिहेनती मानिने सिटौलाका लागि अघिल्लो चुनावको पराजय उनको राजनीतिक जीवनका लागि हानीकारक सावित भयो।

कांग्रेसको नेतृत्वमा दाबी गरिरहेका उनले सभापतिमा शेरबहादुर देउवाको पक्षमा उभ्याएर पार्टीभित्र आफ्नो ठाउँ सुरक्षित पार्दै आएका छन्। यसपटक गठबन्धनमा सिट बाँडफाँट गर्ने कार्यदलको संयोजकको भूमिकामा सिटौला नै थिए।

उनले क्षेत्रको विकास र नेपालले अंगीकार गरेको राजनीतिक व्यवस्थाको सुरक्षालाई मुख्य मुद्दा बनाएका छन्। त्यसो त लिङ्देनले पनि क्षेत्रको विकाससँगै राजतन्त्र, हिन्दू राज्य स्थापना र संघीयता खारेजी आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।

लिङ्देनको यहीँ एजेण्डा कतिपय एमाले कार्यकर्तालाई चिढ्याउने आधार बनेको छ। ‘हरेक पटक राजनीतिक आदर्श भुलेर राजावादीलाई जिताउन नसकिने’ भन्दै एमाले युवा नेता डम्बर गिरिले लिङ्देनविरुद्ध बागी उम्मेद्वारी दिएका छन्। गिरि २०७४ मा हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष भएका र यसपटकको स्थानीय चुनावमा अध्यक्षमा पराजीत बनेका नेता हुन्।

यस्तो असन्तोष धेरै रहेको एमाले कार्यकर्ताहरु बताउँछन्। ‘एकपटक भूल गरियो फेरि कतिपटक गर्ने?’, यहीँ क्षेत्रबाट टिकट दाबी गर्नेमध्येका एक नेताले भने, ‘हामीले सधैं राप्रपालाई जिताइदिनुपर्ने हो भने एमाले भएर किन बस्नु? सधैं लादेको निर्णय मान्न सकिन्नँ।’

एमालेभित्रको यो असन्तोषबारे राप्रपा बेखबर छैन। उसको कार्यकर्ता पंक्ति एमालेले ‘इमान्दारीपूर्वक मत दिए जितिने’ शर्त राखेर कुरा गरिरहेका छन्। ‘चुनावमा गणितको खेल हुन्छ’, यहीँ क्षेत्रका राप्रपाका एक नेताले भने, ‘यदि एमालेहरुले इमान्दार रुपमा मतदान गरे भने हामी चुनाव जित्नेछौं।’

एमाले नेताहरू पार्टी पंक्ति तालमेलप्रति प्रतिबद्ध रहने बताउँछन्। ‘हामी पूरै इमान्दार हुनेछौं’, एमाले नेता यामबहादुर श्रेष्ठ भन्छन्, ‘राप्रपालाई हामीले यहाँ सघाउँदा उसको सहयोगले हामीलाई अन्य क्षेत्रमा फाइदा हुन्छ।’

पहिले साथ, अहिले चुनौती

पञ्चायतकालमा राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्वमा रहेका राजेन्द्र लिङदेन मेची क्याम्पसमा राम थापा मारिँदा त्यो घटनाका मुख्य आरोपित मध्येका थिए। यद्यपि उनले उक्त घटनामा आफ्नो संलग्नता सधैं अस्वीकार गर्दै आएका छन्।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले गरेको कू पछि उनी जिविस झापाको मनोनित सभापति थिए। लोकतन्त्र स्थापनापछि उनी लामो समय गुमनाम जस्तै रहे।

२०५६ मा सिटौलाविरूद्ध चुनाव लडेका उनी त्यसबेला तेस्रो भए। पहिलो संविधानसभा चुनावमा उनी उठेनन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा ३ मा उनी सिटौलाका मुख्य प्रतिस्पर्धी बन्दै दोस्रो भए। २०७४ मा आइपुग्दा उनलाई चिट्ठा परेझैं भयो। वाम गठबन्धनको साथमा उनले सिटौलालाई पराजीत गरे।

राजावादी लिङ्देन त्यहीँ चुनावी जितको बलमा निरन्तर राजनीतिक प्रगति उन्मुख बन्दै गए। राप्रपाका अध्यक्ष कमल थापाले चुनाव हारेर उनले जित्दै गर्दा झापामा लिङ्देनलाई सञ्चारकर्मीले सोधेका थिए, ‘संसदीय चुनाव जित्नुभयो, अब पार्टी नेतृत्वमा पनि दाबी रहन्छ कि?’

त्यसबेला महामन्त्री रहेका लिङ्देनले ‘त्यो अकल्पनीय भएको’ मात्रै बताएका थिएनन्,  ‘कमल थापाकै कारण आफू यहाँसम्म आइपुगेको’ अभिव्यक्ति दिएका थिए। त्यसो भनेको पाँच वर्ष बित्दा नबित्दै लिङ्देनले महाधिवेशनमा उनै थापालाई हराए, जसलाई उनी आफ्नो नेता र अभिभावक मान्थे।

लिङ्देनको यो राजनीतिक छलाङ उनैलाई जिताएका एमाले र माओवादीका लागि भने टाउको दुखाई बन्दै गयो। कतिसम्म भने गएको स्थानीय चुनावमा यहीँ क्षेत्रको कचनकवलमा काँग्रेस र एमाले मिलेर राप्रपाविरुद्ध लडे। एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा राप्रपाकै राम थापा कांग्रेस र माओवादी सहयोगमा मेयर बने। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा गएर ‘गाउँमा नेता आए जनताले कुन चोर आयो भन्न थालेको’ बताएर लिङ्देनले तालीसमेत बटुले।

झापा ५ मा अहिले पनि राप्रपाको सहयोग बेगर चुनाव जित्न नसकिने निष्कर्षमा पुगेपछि ओलीले झापा ३ सहित दुईटा प्रदेशसभा दिएर राप्रपालाई साथैमा राखे।

माओवादीले भने अघिल्लो चुनावमा लिङ्देनलाई सघाएर आफूले गल्ती गरेको बताइसकेको छ। ‘त्यो चुनावमा उनलाई सघाउनु हाम्रो गम्भीर भूल थियो’, माओवादीका क्षेत्रीय इन्चार्ज हिक्मत घिमिरेले भने, ‘यसपटक उनलाई हराएर त्यो गल्ती सच्याइनेछ।’

राप्रपाका अन्जार आलम भने लिङदेनको जितलाई कसैले रोक्न नसक्ने बताउँछन्। ‘एमालेसँगको तालमेल र हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष पनि भएका कारण उहाँको जीत निश्चित छ’, आलमले भने ‘हाम्रो अध्यक्षलाई जसरी पनि जिताइनेछ।’ सेतोपाटी