कहिलेसम्म रहन्छ डेंगी महामारी ?  विज्ञ भन्छन्– चाँडै नियन्त्रण हुने संकेत छैन

काठमाडौं । नेपालमा पछिल्लो समय उत्कर्षमा पुगेको डेंगी संक्रमणले महामारीको रूप लिएको छ । चिसो बढेसँगै डेंगी घट्ने अपेक्षा गरिएको छ । सरकारले कात्तिकपछि डेंगी घट्दै जाने अनुमान गरेको छ । तर, विज्ञ अहिले नै भन्न नसकिने बताउँछन् ।

नेपालमा १३ दिनमा २७ जनाको मृत्यु भएको छ भने १५ हजार बढी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असोजका १३ दिनमा मात्रै देशभर १५ हजार ८९२ जना डेंगी संक्रमित थपिएका हुन् ।

भदौ ३० गतेसम्म डेंगी संक्रमितको संख्या १२ हजार २१७ रहँदा असोजका १३ दिनमा यो संख्या २८ हजार १०९ पुगेको छ । यही अवधिमा २७ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै असोजयता सात हजार ९१ जना संक्रमित थपिएका छन् । हाल देशभर डेंगी संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको छ । असोजयता महाशाखाको तथ्यांक छ । तर, यो तथ्यांक देशभरका ११८ वटा अस्पताल तथा प्रयोगशालाबाट इवार्स (अर्ली वार्निङ रिपोर्टिङ सिस्टम)मा इन्ट्री भएको तथ्यांक मात्रै हो ।

कतिपय निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरू इवार्स सिस्टममा अझै समावेश नभएकाले यही नै अन्तिम तथ्यांक हो भन्न सक्ने अवस्था नरहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

अहिले नै संक्रमण घट्ने संकेत छैन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो साता डेंगी संक्रमितको संख्या गत साताभन्दा केही घटेको जनाएको छ । तर, संक्रमितको यही तथ्यांकलाई हेरेर डेंगी अब नियन्त्रणमा आयो भन्न नसकिने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको दाबी छ ।

डा. पुनका अनुसार घरमै रहेर औषधि खाइरहेका र सरकारको तथ्यांकमा नजोडिएका धेरै संक्रमित भएकाले अहिले देखिएकाभन्दा धेरै गुणा संक्रमित छन् । आफूले अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडीमा दैनिक २५ देखि ३० जना डेंगीका बिरामी हेरिरहेको उनको भनाइ छ ।

“अस्पतालमा अहिलेभन्दा १० प्रतिशत चाप कम भयो भने बल्ल घटेको भन्न सकिन्छ । अहिले डेंगी संक्रमण उत्कर्ष र स्थिर छ । यसअघिका वर्षहरूमा मंसिर अन्तिमसम्मै पनि डेंगी देखिएको रेकर्ड छ,” उनले भने ।

कात्तिक अन्तिमदेखि घट्ने अनुमान
नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगी संक्रमणले यसअघि सन् २०१९ मा महामारीको रूप लिएको थियो । २०१९ मा १७ हजार ९९२ जनामा संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको थियो । तर, कोभिड–१९ को महामारी फैलिएसँगै सन् २०२० र २०२१ मा डेंगी कम देखिएको महाशाखाको तथ्यांक छ ।

गत वर्ष ५४० जनामा देखिएको डेंगी संक्रमण असोज अन्तिमसम्म रहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. दाहाल बताउँछन् । अहिलेको अवस्थालाई हेर्दा यस वर्ष कात्तिक अन्तिमसम्म संक्रमण देखिने अनुमान महाशाखाले गरेको डा. दाहाल बताउँछन् ।

“मनसुन लम्बिएसँगै त्यसभन्दा बढी समय पनि नदेखिएला भन्न सकिन्न” डा. दाहाल भन्छन्, “किनकि तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएसम्म एडिस लामखुट्टे बाँच्ने सम्भावना रहिरहन्छ ।”