झापामै पहिलोपल्ट धुलाबारी क्याम्पसमा बीई पढाई हुने

धुलाबारी ।झापाको मेचीनगरस्थित धुलाबारी क्याम्पसमा यसै वर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन तयारी भएको छ । सिभिल इन्जिनियरिङको स्नातक तह बीई पढाई हुने यो झापाकै पहिलो सामुदायिक क्याम्पस हुने भएको छ ।
धुलाबारी क्याम्पसले बिहिबार सम्मेलन गरी बीई कक्षाको पठनपाठन हुने विषयमा जानकारी दिएको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट बीई कक्षा सञ्चालनको अनुमति प्राप्त भएको र यही वर्षदेखि कक्षाहरु सुरु हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले जानकार दिए । । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले झापाको शैक्षिक इतिहासमा धुलाबारी क्याम्पसको यो सफलता कोशेढुंगा सावित हुने बताउँदै क्याम्पसको स्थापना र सञ्चालनमा विगतदेखि नै सहयोग पुर्याउँदै आएका संस्थापक, जग्गादाता, राजनीतिक दल, शिक्षासेवी, प्राध्यापक, शिक्षक र सञ्चालक समितिप्रति आभार व्यक्त गरेका थिए । क्याम्पसमा बीई कक्षा सञ्चालनका लागि ल्याब, पुस्तकालय लगायतका पूर्वाधार तयार भइसकेको र पढाउनका लागि उत्कृष्ट जनशक्ति उपलब्ध रहेको क्याम्पसका इन्जिनियरिङ विभागका संयोजक रुद्र मैनालीको भनाई छ ।
क्याम्पसमा यसअघि नै सीटीइभीटीबाट अनुमति लिएर आईटी र आर्केटिक विषयको ३ बर्षे इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको छ । अब पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल विषयको स्नातक कक्षा पढाई हुन लागेको हो ।