शिवसताक्षीमा कार रूखमा ठोक्किँदा दुई जनाको मृत्यु

शिवसताक्षी । शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ  । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।  घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा- ५ निवासी ४४ वर्षीय बलराम यादव र इटहरी- १० का ३० वर्षीया गीता चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए । घाइते हुनेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका- ६ निवासी ४० वर्षीया रिता चौधरी, इटहरी- ८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान- १५ निवासी ३६ वर्षीय बिभिसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेको उनले बताए ।

प्रहरीका अनुसार मङ्गलवार साढे ४ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका९ १० स्थित सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा गएर ठोक्किएको थियो । रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।  चालकसहित कारमा ६ जना सवार थिए ।