झापामा खाल्डोमा डुबेको अवस्थामा बालक शव फेला

भद्रपुर ।  झापा गाउँपालिकामा डुबेको अवस्थामा सोमबार एक बालकको शव फेला परेको छ ।

झापा–३ का कामाटोलीको सन्थाल बस्तीका १४ वर्षीय बालक विजय टुडूको शव खाडीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकको शव सोमबार झापा–३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने र सुस्तमनस्थितिका विजय गौरीगाउँमा आइतबार घुम्दै आएको र स्थानीयबासीसँग खानेकुरा मागेर आएको स्थानीय शिक्षक प्रताप विश्वकर्माले बताए । दिउँसो फर्किने क्रममा सडक किनारमा सानो माईको बाढीले बनाएको खाल्डोमा डुबेर मृत्यु भएको उनको भनाइ छ ।

मृतक बालकको शवको कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।