ग्रामीण पर्यटनको सन्दर्भिकता माथि एक अनुसन्धान

ग्रामीण पर्यटनको इतिहासलाई हेर्ने हो भने, अमेरिकी विद्वान हेक्टर सेबल्लोस लास्क्युरेनले १९८० सालतिर ग्रामीण पर्यटन बारे पत्ता लगाएको पाइन्छ र उहाँले १९८३ सालतिर ग्रामीण पर्यटनसँग मिल्दो-झुल्दो शब्द “इकोटुरिज्म“ लाई प्रयोगमा ल्याउएको बुझिन्छ । ग्रामीण पर्यटन बारेमा भारतको पर्यटन मन्त्रालयले यस्तो धारणा राखेको पाइन्छ, “Rural Tourism is any form of tourism that showcases the rural life, art, culture, and heritage at rural location, thereby benefiting the local community economicllay and soclliay as wlle as enabling interaction between the tourist and the locals for a more enriching tourism.’’ त्यस्तै प्रकारले “गाउँले पर्यटन नेपाल‘’ संस्थाका अध्यक्ष तेजेन्द्र शर्मा पौडेलज्यू ग्रामीण पर्यटन बारेमा यस्तो धारणा राख्नु हुन्छ, “ग्रामीण समुदायको मौलिक जीवन पद्धतीका बहुअयामिक पाटोहरुलाई जोड़ेर अध्ययन, अवलोकन र मनोरञ्जनको पक्षलाई बिकास गर्दै त्यसैलाई आधारित बनाएर पर्यटन ब्यवसायको बिकास गर्नु नै ग्रामीण पर्यटन हो ।’’ ( मध्यान्ह अनलाइन, श्रावण-१५-२०७८) । यसरी नै गाउँले सरल भाषामा भन्ने हो भने ग्रामीण पर्यटन भन्नाले स्वदेशी/विदेशी सबै खाले पर्यटकहरुलाई गाउँ-घरमा घुमाउने, लोप हुन लागेको विविध जातीय कला- संस्कृतिहरुलाई देखाउने र पारम्पारिक अनि हुन सकेमा जैविक खाना खुवाउने, गाउँको सफा र शुद्ध वातावरणसँग रमाउनु लगाउने इत्यादि कुराहरु बुझ्न सकिन्छ । ग्रामीण पर्यटनले मात्र अहिलेको परिवेश सापेक्ष पर्यटकहरुलाई सेवा दिनु सक्छ भन्ने सोच अब बिस्तारै पलाएको छ । गाउँ बस्तीको नाम सुन्दा शहरीयाहरु नाक खुम्चौउथे, गाउँकै भए पनि दुई-चार दिन शहरतिर पसे आफ्नै जन्म थलो र गाउँ- घरलाई भुल्थे अनि कसैले कुन ठाउँको भन्ने प्रश्न गरे आफ्नो गाउँको नाउँ/नाम निर्धक्कसँग बताउनु नसकेर निकै अलमल पर्थे तर, अहिले त्यस्तो अवस्था भने छैन गाउँ-बस्तीको महत्वलाई सबैले चिन्ने मौका पाएकोछ, ग्रामीण पर्यटन मार्फत गाउँ बस्तीमा बिरोजगार रहेका युवाहरुलाई स्वरोजगार हुनेमा ठुलो सहयोग पुर्‍याएको छ । गाउँ-बस्तीले धेरै नाम, दाम र सम्मान कमाउने पनि मौका पाएको छ ।

वैश्विक महामारी कोरोनाको संक्रमणदेखि जो कोहीले पनि गाउँ-बस्तीलाई सम्झिन्ने गर्छन, भनौँ अहिले गाउँ-बस्तीको महत्व बढेको छ । अहिलेको जमानामा शहर बजारमा जति नै घर बिल्डिंग भए पनि गाउँ-बस्तीमा फार्म हाउस अर्थात घर जग्गा-जमीन छैन भने त्यो गरिबमा गनिन्छ किन भने स्वास्थ्य भनेको नै ठुलो धन हो भन्ने कुरा सबैले बुझेको छ । गाउँ-बस्तीको महत्वलाई अझ नजदीकबाट विश्वलाई स्पष्ट रूपमा चिनाउनेमा ग्रामीण पर्यटनले मुख्य भूमिका निर्वाह गरेको पाइन्छ । बिभिन्न देशका ठूला-ठूला महानगरीहरुमा बसेर त्यहाँका कोलाहलमय वातावरण, प्रदुषित हावा पानी, अस्तव्यस्त जनजीवनसँग वक्का-दिक्क भएकाहरु जो कोही होस, नयाँ जीवनको खोजीमा आफ्नो जिन्दगीको आयु अलिक बढाउने अभिप्रायले गाउँ-बस्ती पस्ने सोचमा ग्रामीण पर्यटनको सहारा लिने गर्छन् । हुन पनि शहर बजारमा कहि कतै नपाइने अनुभव र मनोरञ्जन गाउँ बस्तीमा पाइन्छ, त्यसको वणर्न गर्नु धेरैलाई गाह्रो हुने गर्छ । ग्रामीण पर्यटनसँग नजिकबाट जोडि़एको शब्द हो “होमस्टे’’ अर्थात घर बास । होमस्टेको बारेमा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गादत्त दाहालज्यू यसो भन्नु हुन्छ, “पर्यटकहरुले होटलमा खाने खाना भन्दा होमस्टेमा उपलब्ध हुने खानामा फरक स्वाद र बढ़ी आत्मीयता पाउने भएको कारण होटलको अलावा होमस्टे नै रूचाउने गरेको पनि पाइन्छ । साथै होटलको तुलनामा होमस्टे सञ्चालन कार्य सहज र कम खर्चिलो पनि छ ।’’www.setoghar.com हुन पनि होटलहरुको तुलनामा होमस्टेमा खुल्ला वातावरणसँग रमाउदै अति शुलभ मुल्यमा बस्नु-खानु त्यही पनि निखुर बस्तीको साग-सब्जी, दुध, दही, मही, घीउ, माछा-मासु पाइन्छ । यसरी नै भारतमा होमस्टेको अवधारणा नयाँ नभए पनि वैश्विक महामारी कोरोनाको समयमा होमस्टेको लोकप्रियता ह्वताई उच्चस्तरमा पुगेको रिपोर्ट दक्षिण एशिया ओवरसीज एचभीएस ग्लोबल हा‘स्पिटालिटीका अध्यक्ष मनदीप एस लम्बाले बताउनु भएको छ, Homestays are not a new concept in India but their popularity has increased significantly in the last one year. The popularity of homestays has increased manifold in the post–COVId/ era when social distancing, cleanliness, hygiene, and privacy have become the top priorities for travelers 28.Mar.2021 अहिले विश्वमा होमस्टेको तथ्यांक हेर्नु हो भने १७६ वटा राष्ट्रहरुलाई मिलाएर होमस्टेको संख्या ३३,००० रहेकोछ भने भारतमा १,६६३, छिमेकी राष्ट्र नेपालमा ३२४ वटा होमस्टेहरु अहिलेसम्ममा पंजीकृत भएका छन् ।

अतिथि देव् भवः अर्थात अतिथिलाई हाम्रो संस्कृतिमा भगवानको रूपमा हेर्ने चलन छ । गाउँ घरमा अतिथि पर्यटकको रूपमा आए उहाँको स्वागतमा पारम्पारिक टिका लगाएर अथवा समुदायको दस्तुर अनुसारको सगुन खुवाएर फूलमाला पहिराएर घरमा भित्राउनु सकेमा अति असल हुन्छ, त्यो दस्तुर शहर बजारको होटलहरुमा पाउन सकिँदैन । होमस्टे नयाँ घरमा भन्दा विरासतमा रहेको पुरानो घरको भित्री भागलाई मर्मती गरेर बनाउनु सकेमा अझ राम्रो हुन्छ, बाहिर पुरानो देख्ने भित्र नयाँ ढाँचा दिनु सकेमा अझ राम्रो हुन्छ तर शौचालय प्रत्येक कोठासँग जोडि़एको सफा र फराकिलो अनि पश्चिमी शैलीमा बनिनु जरूरी हुन्छ, साथै शौचालयमा चाहिने सामग्रीहरु फेसवाश, सेम्पो,नुहाउने साबुन, लुगा धुने साबुन, फेस टा‘वेल, टूथपेस्ट र ब्रूस, टा‘यलेट पेपर आदि राख्नुहोस, बिस्तारामा बिछ्याउने कपड़ा, सिरानीको खोल, नुहाउने र मुख पुछने झाड़न (टा‘वेल)मा सेतो रंगको छान्नु होस, यो रंगमा मैला छिटो देखिन्छ र लगतै फेरिन्छ, नियममा पनि सेतो रंगको हुनु जरूरी छ। होमस्टेको घरलाई रंग-चुना लगाउनु नसके पनि माटोले चिटिक्क लिपेर या भित्र काठ लगाएर सफा राखे भईहाल्छ । अहिले हाम्रो समाजमा पुरानो घर भत्काएर त्यसको ठाउँमा नयाँ घर बनाउने चलन छ, त्यसो गर्दा पुरानो विरासतमा रहेको अमुल्य निधिहरु नष्ट भएर जानेछ, पुरानो घरको संरक्षण र सम्वर्धन गर्नु सके मात्र जातीय पहिचानको निसानी रहने छ ।

पुरानो घरलाई स्वदेशी अनि विदेशी पर्यटकहरुले साह्रै मन पराउँने गर्छन् । होमस्टेमा कुनै खाली कोठा नभए भन्सा कोठाको एक छेउमा सानो संग्रहालय अथवा आफ्नो पुर्खाले प्रयोग गरेको अति पुरानो चीज-बीच, हात-हतियार, पोशाक, इत्यादिलाई सजाएर राख्न सकिन्छ । भन्सा कोठा अथवा बैठक कोठाबाट हिमालहरु देखिन्छ भने पूणर् विवरणसहितको नक्सा झुन्डियाउनु होस, नभए वरीपरीको दृश्यको नक्साहरु राखे पनि हुन्छ, वरिपरी जंगलतिर पाइने काठ र बाँसबाट बनिएको सामग्रीहरुलाई सजाए र राख्न पनि सकिन्छ । होमस्टेमा जति सक्दो पुरानो झड़के कांसाको थाल, बटुका, पानी पिउने लोहोटाहरु चलाएमा असल हुन्छ, त्यसलाई अतिथिहरुले साह्रै मन पराउँने गर्छन् । होमस्टेको वरिपरी रुख अनि ढुङ्गाको कापतिर जंगली सुनखरी अथवा बनमा फुल्ने अनेक थरीका फूलहरु रोपेर घरलाई सजाउनु सकिन्छ । होमस्टेको भन्सा कोठामा डाइनिंग भए पनि हुन्छ नभए पनि हुन्छ, हुनै पर्छ भन्ने जरूरत छैन, कतिलाई गुन्द्रीमाथि राड़ी/बुर्कासान ओछयाएर अघिपट्टी चांगदेन राखे पनि हुन्छ नत्र मुड़ाको छेउमा सानो-सानो टेबलमा खान दिए पनि भइहाल्छ । होमस्टेका परिवारले नै मिलेर खाना पकाएको राम्रो हुन्छ, खाना दिई रहन्दा घरको परिवार त्यही रहेर तरकारीहरुको परिकार, त्यसको स्वाद बिषयमा कुरा गर्ने, खाना आफै थपी दिने, खाना मिठो भए/ नभएको सोध्ने, आत्मीयता राख्ने र परिवार जस्तै ब्यवहार गर्नु होमस्टेको मुख्य उद्देश्य हो ।

अतिथिहरु धेरै राम्रा-राम्रा घर र रंगीन शहरहरुमा बसेर आएका हुन्छन्, पुरानो घर शान्त वातावरणमा दुई चार दिन बिताउने मन बनाएर गाउँ बस्तीमा आएका हुन्छन् । तर, पुरानो घरमा बस्नुको सट्टा नयाँ घर अथवा बिल्डिंगमा अतिथिहरुलाई बास दिए खुशी हुँदैनन् दुई दिनको लागि आएका थिए भने एक दिन मात्र बस्छन्, एक दिनको पुरै नोक्सान हुन्छ, यो कुरालाई ध्यानमा राख्नु जरूरी हुन्छ । होमस्टेमा घरको परिवारसँगै बसेको राम्रो हुन्छ, र चारदेखि आठ कोठासम्म भए प्रयाप्त हुन्छ, त्यतिलाई सिहार-संहार गर्न सजिलो हुन्छ, त्यो भन्दा बेसी बनाएमा होमस्टेको नियम उलंघन हुन्छ अनि अतिथिलाई राम्रो ध्यान दिनु पनि सकिदै र त्यो क्षेत्रमा भएको आफ्नो मान-प्रतिष्ठा पनि खराब भएर जान्छ ।

होमस्टेमा बस्ने खानेको भाउ दरमा कहिले सम्झौता नगर्नु होस,भाउ दर अलिक महंगो र सुहाउँदो राख्नु होस, त्यसो भएमा राम्रा खालका अतिथिहरु तपाई कहाँ आउने छन् र तपाईले पनि खाने बस्नेको गुणस्तरमा सधै याद गर्नु हुनेछ, नत्र दरभाउमा मोलतोल गर्ने खालका अतिथि आउने छन् र तपाईले पनि आफ्नो खानपान र बसाईको स्तरलाई घटाउनु हुनेछ, त्यसले तपाईलाई भविष्यमा ठुलो नोक्सान गराउने छ । होटल जस्तो होमस्टेमा खाने कुराको कुनै मेन्यु ( खाने चीजको सूची ) हुँदैन, जे खाए पनि भरपेट थपी-थपी दिने र खाने हो, होटलमा जस्तो जति थप्यो त्यति बिल उठने होइन, बिहानको खाजा, दिउँसो र बेलुकीको खानाको दर भाउ एकैचोटी अघिबाटै तोकिएको हुन्छ, बेलुकीपखको स्नैक्स र चिया – पानी सित्थैमा दिने होमस्टेमा चलन छ । खानाको बिषयमा तपाई कहाँ आउने अतिथिलाई यति मात्र सोध्नु होस, तपाईहरु कतिजना शाकाहारी र कति माँसाहारी हुनु हुन्छ र त्यसमा के के लिनु हुन्छ, त्यही हिसाबले खानाको प्रवन्ध गर्नु होस । खानामा धान अनि मकैको चामल, मकै अनि गहुँको रोटी,कोदो अनि मकैको ढिंडो, इत्यादी अतिथिको इच्छा अनुसार दिनु सकिन्छ । शाकाहारीहरुलाई आफ्नै बारीमा फलेको गाउँले परिकारको सबै सागसब्जी देखि सिस्नुसम्म,दालमा अनेक प्रकारको अनि दुध, दही,मही,घीउहरुमा कुनै एक राख्न सकिन्छ । अचारमा गुन्द्रूक, सिन्की, फिलिंगे, फर्सी,इन्द्रेनी,चिंगफिंग, टिम्बुर, खानाक्पा, दुंगदुंगे, इन्द्रेनी,रुख टमाटर, ठटने, पुदिना, भटमास, चुर्पी, धनिया, गोल भेड़ाको आगोमा पोलेर बनाएको अचारहरुमा कुनै एक दुईवटा सामेल गरे असल हुन्छ, तर बजारको अचारलाई प्राथमिकता नदिएर घरमा बनाएको राम्रो हुन्छ, तपाईकोमा उपलब्ध नभए छर – छिमेकलाई बनाउनु लगाउनु सक्नु हुन्छ । बिहानको चिया- कााफी त्यसपछि खाजामा पापर, कोदो, मकै, गहुँको रोटीहरुमा कुनै एक, कुखुराको अण्डा केहि अचारसँग, बेलुकीपखको स्नेक्समा भुटेको भटमास, मटर, मकै, गहुँ, मकैको च्युरा, सेलरोटी, मोमो, चाउमिन, थुक्पा अथवा स्थानीय खान्कीहरु सामेल गर्नु सकिन्छ ।

अब मांसाहारीमा अतिथिहरुको पसन्द जो सजिलै उपलब्ध हुन्छ, चुल्हाको भारमा धुँवाले सुकाएको मासु साह्रै मन पराउने गर्छन्,पोल्ट्री कुखुराको मासु भए पनि आगोको धुँवामा सुकाएको स्वाद बेग्लै मानेर खाएको अनुभव छ । अनि स्थानीय खोलामा मारेको माछा अतिथिहरुलाई साह्रै स्वादिलो हुन्छ । घरमा गैस चुल्हा भए पनि आगोको चुल्हामा दाउराले पकाएको खाना र उमालेको पानी स्वादिलो मानेर खाने र पिउने गर्छन् । चुल्हामा आगो बालेको धेरैले देखेको हुँदैन, अतिथिको नानीहरुलाई साह्रै रमाइलो हुन्छ, कति नानीहरुले मलाई नै प्रश्न गरेका थिए चुल्हाको माथि भएको धुँवा लागेको कालो भारलाई देखाउँदै त्यहाँ कसरी (कारपेटिंग) गाड़ी गुड़ने रोड जस्तै अल्कत्र लगायो ? पर्यटकहरु रमाइलो ठाउँहरुमा मात्रै आउँछन भन्ने कुरा एक भ्रम मात्र हो , पर्यटकहरु गाउँ – ठाउँमा जहाँ ल्याए पनि आउँछन् तर ल्याउने सही तरिका अपनाउनु सक्नु पर्‍यो, होमस्टेमा अतिथि ल्याउनलाई विज्ञापनको निकै ठुलो भूमिका हुन्छ आफ्नो वेबसाइट बनाउनु होस, समय – समयमा अपडेट गर्दै गर्नुहोस, एक दुई मिनटको वीडियो बनाएर यूट्यूबमा हाल्नु सक्नु हुन्छ, फेसबुक मार्फत पनि विज्ञापन दिनु सक्नु हुन्छ, आफ्नो होमस्टेको नामसँगै सम्पर्क नम्बर दिएर भिजिटिंग कार्ड अनि ब्रोचर छपाउनु होस, तपाई जहाँ पनि कार्यक्रमतिर पुग्नु हुन्छ, चिनजान अनि अन्यलाई त्यो कार्ड सहित (ब्रोचर) विवरण सहितको सानो पुस्तिका पनि बाड़नु होस, जसमा तपाईको होमस्टेबाट घुम्ने ठाउँहरुको विवरण,ठेगाना, सम्पर्क नम्बर सहित सुत्ने खानेको (ट्ररीफ)दरभाउ पनि लेखिएको हुन्छ, बेला – बेलामा “पर्यटन ब्यापार मेला“ ( टीटीएफ) को आयोजना हुने गर्छ, त्यसमा भाग लिनु होस, ग्रामीण पर्यटनसँग जोडि़एका सरोकारवालाहरुसँग जोडि़न्नु सके अझ राम्रो हुन्छ, टूर्स एंड ट्रेवल्स कम्पनीहरुसँग सम्पर्क राख्नु होस तर बिस्वासीनियता र भरपर्दो कम्पनीहरुसँग मात्र सम्बन्ध गरेको असल हुन्छ, सबैलाई बिस्वास गर्नु सकिन्दैन, तपाईलाई डुबाउनु पनि सक्छ । शहरमा आएका पर्यटकहरुलाई पनि गाउँ – बस्तीको पर्यटकीय श्रोत र साधनहरुलाई नै उपयोग गरेर आय – आर्जन गर्ने बाटो बनाएका हुन्छन् तर प्रकृतिले अघिबाटै त्यो श्रोत – साधन गाउँ – घरलाई उपलब्ध गराएको हुन्छ, पैसा त्यही वरीपरी घुमी रहेको हुन्छ तर चिन्नु र बुझ्नु सक्नु पर्छ । गाउँमा पर्यटकहरु किन आउन रूचाउँछन् अनि केका लागि ल्याउन सकिन्छ, भन्नेमा अति पुरानो विरासतहरु, कुनै जातिको संस्कृति,परम्परा, रीतिरिवाज,दस्तुरहरु, बन- सम्पदा र जड़ी – बुट्टीको अनुसन्धान गर्न, ध्यान अनि योग गर्न, बन-जंगल, चरा-चुरूँगी, जंगली जानवर, जंगली फल-फूल, खोला-नाला, हिमाल, पहाड़,तराई हेर्न, धार्मिकस्थलको दर्शन गर्न बिशेष गरेर आउने गर्छन् । तर, कहिले कही खुल्ला आकाश र ताराहरु हेर्न र रांके भूत अनि दन्ते कथाहरु सुन्न र बुझ्न पनि आउने गरेको बुझिएको छ, तर अत्याधिक रूपमा शान्त वातावरणमा बस्ने र पुस्तक अध्ययन गर्ने पर्यटकहरु बेसी मात्रमा गाउँ – बस्तीमा आउन रुचाएको देख्न पाइन्छ । पर्यटन क्षेत्रमा ६ देखि ७ महिनासम्म सिजन रहने गर्छ तर ग्रामीण पर्यटनमा भने वर्षभरी सिजन बनाउनु सकिन्छ, मंगसीर देखि वैशाख महिनासम्म बिभिन्न विवाहको साइतहरु हुन्छ, गुरु पुणर्िमा धामी- झाँक्री, बिजुवा,फेदांगमा – फेदांगबाहरुको गुरुपुजा, अलैची टिप्ने, सुन्तोला टिप्ने समय हुन्छ, दोहोरे मकै गोड़ने बेलामा लिम्बु गाउँहरुमा रमाइलो दमके नाचमा टाड़ा-टाड़ाको तरुनी – तन्देरीहरु मकै बारीमा भेला भएर माया-प्रीतिका गीतहरु गाउदै मकै गोड़ने चलन छ । सावन महिनामा पहाड़ी भेगमा पुरै खोला छेकेर कही तिते माछा, कही सावने पाहाको खोगी थाप्ने चलन छ, हेर्ने, पकडि़ने,पकाएर खाने, इत्यादिमा पनि अतिथिहरुलाई वेबसाइटमा हालेर आमन्त्रणा दिन सकिन्छ । बिना सिजनमा करिब एक हप्ताको निम्ति च्याबरूंग बजाउने, डम्फु बजाउनु सिक्ने अनि अन्य बिषयमा तालिम दिनु सकिन्छ, त्यस तालिमको निम्ति केहि रकम तोकेर आफ्नो वेबसाइटमा हाल्नु होस, तालिम समाप्ती पछि प्रमाणपत्र सहित खादा-माला लगाएर बिदा गर्नुहोस । आसार महिनामा धान रोपाई गर्ने कतिपय गाउँ-ठाउँमा नौमती बाजासँगै धान रोपाई गर्ने बेठीको चलन अझै पनि यथावत छ, यसमा झन् ज्यादा अतिथिहरु आउने र रमाउने बुझिएकोछ । गाई दुहुनु , मही पार्नु, गोरु जोत्नु , बिभिन्न पकवान पकाउनु सिकाउनु होस, विश्वमा धेरैले गाउँले जनजीवनमा भोगेका दुःख – सुखहरु देखेका हुँदैनन् , पैसा खर्च गरेर यी कुराहरु हामीबाट उहाँहरु अनुभव गर्नु चाहन्छन् । घरमा एक जना अलिक कम्प्यूटर र अंग्रेजी जान्ने भएमा यो क्षेत्रमा घरमा बसीबसी निकै ठुलो ब्यापार गर्न सकिन्छ । ग्रामीण पर्यटनको अर्थ र उद्देश्य नै सबैको सहयोग र सबैलाई आय मिलोस भन्ने हो । ग्रामीण पर्यटन भित्र गाइडले रू १००० देखि रु १५०० सयसम्म दैनिकी ज्याला पाउनु सक्छ भने चरा, सांप र पुतलीको गाइडले अलिक धेरै नै दैनिकी ज्याला पाउनु सक्छ, (कुक)भान्सेको राम्रै आयस्ता हुन्छ, ड्राइवर, गाड़ी मालिक,फल – फूल, साग – सब्जी, माछा – मासु, अचार, जाड़-रक्सी, इत्यादिमा छर-छिमेकको पनि राम्रै आयस्ता हुनु सक्छ तर मेहनत चाही गर्नु सक्नु पर्छ । पर्यटकलाई गाउँमा घुमाउने कार्यक्रम (क्ष्तष्लभचबचथ) मा छोटो ट्रैकिंग, हाईकिंग,नेचर वा‘क, विलेज ट्रेक, एंगलिंग, दुवाली फर्काएर माछा मार्ने,रिवर ट्रेक, धार्मिकस्थल, छाँगा, पहरा, ढुङ्गा, जंगल, कुनै उद्यान, अभ्यारण्यलाई ध्यानमा राखेर कार्यक्रम बनाएमा असल हुन्छ । बेलुकीको मनोरंजनमा कैम्प फायर लगाएर संगिनी,मारूनी, डम्फु, धाननाच, च्याबरूङ्ग, बालन, समुदाय र ठाउँ अनुसारको मौलिकता झल्किन्ने खालका नाचहरु सामेल गर्न सकिन्छ तर त्यसको दर भाउ अघिबाटै तोकेर अतिथिलाई सुचना अथवा विवरण दिएको हुनु पर्छ । अहिलेको यस आधुनिक युगमा ग्रामीण पर्यटनले मात्र हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज, भेष – भुषा, दस्तुर, खानपान, बहुमुल्य जड़ीबुटी इत्यादिको संरक्षण र सम्वर्धन गर्नेछ भन्नेमा कुनै दुईमत नहोला ।

अतिथि बिदा हुने समयमा आगन्तुक डायरी Visitors Book: Diary, मा लेखाउनु अति जरूरत हुन्छ, त्यो नै तपाईसँग एक निधिको रूपमा अन्तसम्म रहन्छ, टिप्पणीमा तपाईको वरिपरी देखिने दृश्यको वणर्न, खानपान ब्यवहार, तपाईले अतिथिलाई पुर्‍याएको सत्कार साथै घरको पाल्तु जानवरहरुको सम्झना गरिएको हुन्छ । डायरीमा अतिथिले लेख्ने ठाउँमा नाम,ठेगाना, सम्पर्क नम्बर, ईमेल इत्यादि लेख्ने ठाउँ हुनु परयो कहिले कहि पुरानो याद ताजा गराउन अतिथिलाई ईमेल गर्ने गर्नु पर्छ ताकि त्यस ठाउँलाई उहाँले फेरी सम्झनेछ उहाँ नआए पनि कुनै चिनजानलाई त्यस ठाउँको भ्रमणमा पठाउनेछ, भन्नुको मतलब उहाँले फेरी तपाईलाई अप्रत्यक्ष रूपमा पैसा पठाउने छ । अतिथिको बिदाई समारोहमा घरका पाको मान्छेले दस्तुर अनुसारको टिका लगाएर खादा – माला लगाएर आशिर्वाद दिएर बिदा गरेमा त्यो सधै स्मरणीय रहने छ, त्यो क्षणलाई अतिथिले कहिले बिर्सिन्ने छैन । अहिलेलाई पर्यटनको क्षेत्रमा शहर बजार भन्दा गाउँ-बस्तीलाई रोज्नेहरुको संख्या उच्च छ भन्दा अतियुक्ती नहोला तर यो सत्य हो । पर्यटन क्षेत्र अहिले गाउँमुखी भएकोछ, गाउँ घरमा आय श्रोतको मुहान फर्केकोछ तर त्यति हो मौकालाई गुम्नु दिनु भएन र पैसा कसरी समात्ने त्यो जान्न पर्‍यो । शहर बजारको होटलहरुमा आउने जानेको हिसाब हुँदैन तर होमस्टेमा आउने अतिथिहरुसँग नजिकबाट चिनजान हुने गर्छ र आत्मीयता बड़ेकोले सम्बन्ध र ब्यापारमा ठुलो मदत पुर्‍याउनु सक्छ ।

होमस्टेमा महिनौ दिनसम्म बस्ने अतिथिहरु पनि आउने गर्छन् आत्मीयता बड़ेकोले अनि अतिथि पनि परिवारको एक सदस्य सरह भइसकेकोले छुटनु साह्रो हुन्छ । ग्रामीण पर्यटनलाई सिक्किम राज्यले बिशेषस्थान दिएकोछ । सिक्किममा ग्रामीण पर्यटन अघिबाटै धेरै फस्टाएर गएकोछ,त्यसलाई अझ गति दिन वर्तमान सरकारले पर्यावरणलाई जोगाएर गाउँ- बस्तीमा धेरै पूर्वधारहरु तयार गरिसकेकोछ र अझ द्रुतगतिमा बनिन्दैछ । गाउँ-बस्तीमा ग्रामीण पर्यटनमा इच्छा राख्ने युवा उद्यमीहरुलाई प्रोत्साहन र सहयोग गर्नको निम्ति सिक्किमको मुल तीन जातिहरु भुटिया, लेप्चा, नेपालीको घरको जातीय ढाँचामा १००० वटा होमस्टे बनाएर दिने सिक्किम सरकारले एक ध्वजबाहक योजनाको घोषणा गरिसकेको छ । यस योजनाले ग्रामीण पर्यटनलाई ठुलो टेवा पुग्ने आशा गरिएकोछ । भारत (सिक्किम) र नेपालको सिमाना चिवाभञ्‍ज्याङमा दुवै पट्टीबाट ठुलो गाड़ी गुड़ने रोड पुगी सकेको अवस्था छ, अझ सिक्किम पट्टीबाट राजमार्गको निम्ति स्वीकृति अथवा केन्द्र सरकारले अनुमोदन गरिसकेकोछ, यस मार्गले नेपालको पूर्वी भेग र सिक्किमलाई ग्रामीण पर्यटन र ब्यापारको क्षेत्रमा ठुलो सहयोग र केन्द्र बन्ने सम्भावनाहरु बड़ेर गएको छ । सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोलेज्युले गत ७ अगस्त २०२२ को दिन राजधानी दिल्लीमा नीति आयोगद्वारा डाकिएको बैठकमा सम्माननीय प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदीज्युको उपस्तिथिमा यसको मुख्यता बिषयमा बिस्तृत जानकारी गराउनु भएको छ ।

अहिले विश्वमा पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटनले छोटो अवधिमा धेरै लामो फड़को मारिसकेको कुरा यस बिषयमा सरोकार राख्ने जो कोहिलाई पनि महसुस भएको छ, अनि भविष्यमा ग्रामीण पर्यटन दीर्घमियादी अनि विस्वव्यापीकरण भएर जानेमा कसैलाई पनि शंका छैन ।

-भारत (सिक्किम)