प्रहरीको विशेष टोली तस्करकै चंगुलमा फस्यो

झापा । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोली अहिले झापामा तैनाथ छ ।

प्रहरी नायव उपरीक्षक होमबहादुर थापा नेतृत्वको टोली पूर्वी नाका काँकरभिट्टा सहितका क्षेत्रमा तैनाथ रहेर यहाँ हुने तस्करीका विषयमा सोधी खोजी गरिरहेको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध धन्दा (चोरी, तस्करी) नियन्त्रणका लागि झापा आएको प्रहरीको टोली तस्करीमा संलग्न व्यक्तिहरूकै चंगुलमा फसेसँगै उनीहरूको मिसन प्रति प्रश्न उब्जिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट थापाको नेतृत्वमा आएको टोलीले पूर्वी नाका काँकरभिट्टा आसपासमा रहेर निगरानी गरेझैँ गर्दै इलाम हुइँकिएको थियो । यातायात व्यवस्था कार्यालय इलामले सवारी चालक अनुमति पत्रको परीक्षामा बदमासी गर्न सक्ने भन्दै निगरानीका लागि सेटिङ समेत मिलाएको खुलेको छ ।

यता, झापामा समेत मोटरसाइकलको ट्रायल पास गराइ दिए बापत ३० हजार रुपैयाँ दिने भन्दै प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ४ जनालाई रकम बाढेको खुलेको छ ।

यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिन सक्ने गरीको रणनीति बनाएर काम सुरु गर्न लागेको प्रहरी प्रधान कार्यालयको विशेष टोलीको गोप्य योजना समेत सार्वजनिक भएको छ ।

होटेल किङ्सबरीमा बसेर बनाएको योजना विफल भएसँगै मिसन टोली अलमलिएको बताइएको छ । तस्करीमा संलग्न उच्च ओहोदाका व्यपारीसँग सुरुमै हिचमिच बढाएसँगै उनीहरूको योजना विफल भएको बुझिएको छ ।

‘जे कुराको निगरानी गर्न आयो, त्यही ठाउँमा बास बसेर हिमचिम वडासँगै योजना विफल हुनु स्वाभाविक हो,’ एक व्यक्तिले भने, ‘काँकरभिट्टास्थित एक होटेलमा बास बसेको प्रहरीको टोलीले सबै कुरा ओकलेपछि मिसन सक्सेस हुने कुरै आएन नि ।

प्रहरी प्रधान कार्यालयको विशेष टोली झापामा मात्र नभई देशका विभिन्न जिल्लामा खटिएको छ । प्रवीण विष्ट, धर्मराज भण्डारी लगायतको टोली यति वेला देश दौडाहामा रहेको प्रहरी श्रोतले बताएको छ ।