झापा २ मा अग्नि खरेलविरूद्ध ‘वार्मअप’ गर्दै कांग्रेसका यी चुनावी खेलाडी अग्नि खरेलविरूद्ध लड्ने तयारीमा छन् केशवकुमार बुढाथोकी

झापाली नेता केशवकुमार बुढाथोकी नेपाली कांग्रेसभित्रका ‘चुनावी खेलाडी’ भनेर चिनिन्छन्। २०४२ सालदेखि विभिन्न चुनाव लड्दै आएका र धेरैजसोमा सफलता पाएका यिनै चुनावी खेलाडी पछिल्लो पाँच वर्षयता भने मैदान बाहिरै छन्।

पाँच वर्ष लामो चुनावी विश्रामपछि बुढाथोकी त्यहीँ मैदानमा खेलाडीका रूपमा प्रवेश गर्न यतिबेला ‘वार्म अप’ मा छन्। आफूले यसअघि दुई पटक जितेको क्षेत्र झापा ४ (यसअघिको झापा ५) छाडेर उनी यसपटक झापा २ ताक्दैछन्। यहीँ क्षेत्रबाट उनको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिसमा परेको छ।

‘विगतमा नेताहरूले रोजेर चुनाव लड्ने भएपछि वरिष्ठहरूलाई आफ्नो क्षेत्र छाडेर म अन्यत्र गएको थिएँ, त्यहाँ पनि दुई-दुई पटक आफू र पार्टीलाई जिताएँ’, सेतोपाटीसँग कुरा गर्दै बुढाथोकीले भने, ‘यसपटक भने म आफ्नै क्षेत्रबाट चुनाव लड्ने तयारीमा छु।’

यद्यपि आफैंले टिकट पाउने–नपाउने निश्चित भइनसकेको बताउने उनी टिकट जसले पाए पनि आफू खुलेर जिताउन लाग्ने बताउँछन्। यहीँ क्षेत्रबाट कांग्रेसका अरू नेताहरू सरिता प्रसाईँ, सुधीर शिवाकोटी, जलकुमार गुरूङ, छत्र गिरि पनि दाबेदार छन्।

बुढाथोकी आफैंले टिकट पाउन मरिहत्ते नगर्ने तर जित्ने उम्मेद्वार भने आफैं रहेको दाबी गर्छन्। झापा २ मा गठबन्धनका अन्य दलको भन्दा कांग्रेसकै दाबी बलियो रहने उनको भनाइ छ। त्यसका लागि उनले स्थानीय चुनावको गणित अघि सारे। ‘यहाँका २५ मध्ये १२ वडा कांग्रेस, १२ एमाले र एउटा राप्रपाले जितेको छ’, उनी भन्छन्, ‘त्यसैले यहाँ पुँजी काँग्रेसकै ठूलो छ। अरू दलको पनि थपेपछि त्यो बढ्छ। तर, पुँजी (मत) नभएका दलहरूले चुनाव लड्दा सोचेजस्तो सफलता हात नलाग्न सक्छ।’

गठबन्धनसँग यो क्षेत्रमा प्रतिस्पर्धा गर्न एमालेले अग्नि खरेललाई अघि सार्ने सम्भावना बलियो छ। २०७४ को चुनाव जितेकी पवित्रा खरेल, पूर्व मेयर ध्रुव शिवाकोटी लगायतका नेताहरू पनि दाबीमा छन्। तर, अध्यक्ष केपी ओलीका विश्वासपात्र खरेल नै उम्मेद्वार बन्ने सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन्।

त्यस्तै पत्रकारिताबाट अभियन्ता हुँदै स्वतन्त्र चुनाव लड्न आइपुगेका स्वागत नेपाल जस्ता स्वतन्त्र उम्मेद्वार पनि यहीँ क्षेत्र ताक्दैछन्। कांग्रेस नेता बुढाथोकी यो क्षेत्रमा गठबन्धनको मुख्य प्रतिस्पर्धा एमालेसँगै हुने बताउँछन्। प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेर २०७४ मा सबैको स्याबासी पाएका उनी फेरि चुनाव लड्न किन अग्रसर हुँदैछन्? ‘यो क्षेत्रमा कांग्रेसले सधैंजसो हार मात्रै व्यहोरेको छ’, उनले भने ‘एकपटक आफ्नो क्षेत्रमा पार्टीलाई जिताउने धोको छ।’

२०७४ मा वाम गठबन्धन बनेपछि उनी झापामा चुनाव लड्न हच्किएका थिए। त्यसबेला उनले चतुर्‍याइँ देखाउँदै भनेका थिए, ‘अब नयाँ पुस्ता अघि सर्नुपर्छ। म नयाँहरूका लागि मैदान छाड्न तयार भएको हुँ।’

२०७४ मा झापा मात्रै होइन, मेचीका चारै जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा प्रत्यक्षतर्फ काँग्रेस निल नै भयो। प्रदेशमा पनि एकै सिट जितेन। २०४८ को आम निर्वाचनमा पनि कांग्रेस निल नै भएको थियो। झापा १ का एमाले सांसद द्रोणप्रसाद आचार्यको निधनपछि भएको २०५० को उपनिर्वाचनमा कृष्णप्रसाद सिटौलाले विजय हासिल गरेका थिए। त्यसबेला कांग्रेसजनले लगाएको नारा थियो ‘मेचीकाली जोडियो, लालकिल्ला तोडियो।’

यसपटक २०७४ मा स्थापित वाम किल्ला भत्काउन आफू अघि सरेको बुढाथोकीको दाबी छ। बिर्तामोडको १ देखि ९, कनकाईको ७ र ८, अजर्नुनधाराका ११ वडा, बुद्धशान्तिको तीन वटा वडा गरेर कूल २५ वडा रहेको यो क्षेत्रमा स्थानीय चुनावको गणितमा एमाले सबैभन्दा बलियो देखिन्छ।

यहाँका वडाध्यक्षले पाएको मत अनुसार एमाले ३६ हजार ३ सय ९६, कांग्रेस ३२ हजार ६ सय ७२, राप्रपा ९ हजार ५ सय ३१, माओवादी २ हजार ४ सय ३७, जसपा ५०६, नेकपा (एकीकृत समाजवादी) १७३ छ।

राप्रपा र एमाले मिल्दा गठबन्धनभन्दा धेरै मत हुने देखिन्छ। नेता बुढाथोकी भने आउँदो चुनाव गठबन्धनले सजिलै जित्ने दाबी गर्छन्। ‘गठबन्धनसँग संविधान, व्यवस्था जोगाएको एजेण्डा छ’, उनले भने ‘अरूसँग त्यस्तो एजेण्डा के छ?’

पञ्चायतकालदेखि नै चुनाव लड्दै, धेरैजसो जित्दै र केही हार्दै पनि आएका उनी २०६४ को पहिलो संविधानसभा चुनावपछि झनै चर्चामा आएका थिए। झापाका चक्रप्रसाद बाँस्तोला, कृष्णप्रसाद सिटौला, नरेन्द्रविक्रम नेम्वाङ लगायतका ‘हेभिवेट’ नेताहरू सबैले माओवादी उम्मेद्वारसँग पराजय व्यहोर्दा बुढाथोकी भने चुनाव जित्न सफल भए।

पार्टीका सबै प्रभावशाली नेताले रोजेर चुनाव क्षेत्र लिएको त्यो बेला झापा ५ र ६ उब्रिएको थियो। ‘मैले त्यहीँ उब्रेकोमध्ये ५ नम्बर रोजेर चुनाव लडेको थिएँ’, बुढाथोकीले सम्झिए, ‘आफैं रोजेर क्षेत्र छानेकाहरू कसैले चुनाव जितेनन्। मैले चाहिँ जितेँ।’

२०७४ मा आफू पूर्व प्रतिबद्धता अनुसार चुनाव नलडेको दाबी उनको छ। ‘मलाई दुई पटक चुनाव जिताउन भूमिका निर्वाह गरेका हालका झापा सभापति देउमान थेवेलाई मैले वचन दिएको थिएँ, अब तपाइँ लड्ने भनेर’, उनले भने, ‘म झापा २ मा जान चाहन्थेँ। तर, तत्कालीन जिल्ला सभापति उद्धव थापाले फेरि उठ्ने भनेपछि म बाहिर बसेको हुँ।’

पाँच वर्ष चुनावी दौड बाहिर रहेको समयलाई उनले पुस्तक लेखनमा लगाए। ‘आफ्नो–आफ्नो सगरमाथा’ नामक आत्मकथामा बुढाथोकीले आफ्नो कमजोरीप्रति पनि निर्मम समीक्षा गरेको वरिष्ठ अधिवक्ता लीला उदासीको टिप्पणी छ। झापामा बसेर लामो समय वकालत गरेका वाम पृष्ठभूमिका उदासीले इतिहास सुरक्षित गर्न बुढाथोकीको पुस्तक सफल रहेको बताएका छन्। ‘म मेरो सगरमाथा पुगेर ओर्लेको मान्छे हो,’ आफ्नो पुस्तककै नाम लिँदै उनले भने, ‘त्यसैले पहिला म जसरी पनि टिकट लिन मरिहत्ते गर्ने पक्षमा छैन। पार्टीले मूल्यांकन गरेर दिए ठीकै छ भन्नेमा छु।’

२०४८ मा कांग्रेसबाट टिकट नपाउने भएकै कारण उनी राप्रपामा लागेर झापामा चुनाव लडेका थिए। त्यसलाई उनले राजनीतिक जीवनको भूल भनेर किताबमा स्वीकार गरेका छन्। ‘आफूलाई जे लाग्यो त्यहीँ सही मानेर अघि बढ्दा, सल्लाहकार टिम नहुँदाको असर थियो त्यो’, उनले भनेका छन्, ‘राजनीतिमा टिम चाहिनेरहेछ। जसले सही गलत के हो भनेर सुझाव देओस्।’

२०४२ मा राष्ट्रिय पन्चायत सदस्यमा ६२ हजार मत ल्याएर विजयी भएका उनी मरिचमान सिंहको प्रधानमन्त्रीत्वकालमा जलस्रोत सहायक मन्त्री बनेका थिए। २०४६ को जन-आन्दोलनका बेला बहुदलका पक्षमा वक्तव्य दिएपछि उनलाई उनका दार्जिलिङ सहपाठीसमेत रहेका राजा वीरेन्द्रले मन्त्रीबाट बर्खास्त गरे।

जब उनी मन्त्रीबाट हटाइए, फर्केर झापा आउँदा उनलाई जिल्लाका कांग्रेस नेताहरूले परपरैको व्यवहार गरेको उनले पुस्तकमा उल्लेख गरेका छन्। पुस्तकका अनुसार दार्जिलिङमा वीरेन्द्र उनका क्लासमेट थिए भने ज्ञानेन्द्र र धीरेन्द्र जुनियर थिए। तर, कलिलै भएका कारण उनलाई राजा र राजपरिवारबारे केही थाहा थिएन। ‘पछि पन्चायतको चुनाव जितेर जाँदा पनि वीरेन्द्रलाई मैले जितेको थाहा थिएन’, उनले भने, ‘उसले मलाई क्षेत्री भनेर चिनेको थियो, चुनाव बुढाथोकीले जितेको थियो।’ पछि भेट हुँदा वीरेन्द्र छक्क परेको उनको भनाइ छ।

राजपरिवारसँगको सम्बन्ध, पञ्चायतको चुनाव लडेर मन्त्रीसमेत भएकै कारण कांग्रेसका झापाली नेताले आफूलाई पूर्वाग्रह राखेको उनले पुस्तकमा उल्लेख गरेका छन्। ‘म गिरिजाबाबुको सल्लाहमा पञ्चायत चुनाव उठेर जितेको मान्छे थिएँ, मन्त्री हुँदा पनि उहाँसँग सल्लाह गरेरै भएको थिएँ’, उनले लेखेका छन्, ‘तर, झापामा सीके प्रसाईँहरूले पञ्चायत पसेको भनेर मलाई कांग्रेसमा ढिम्किन दिएनन्। त्यसैले मलाई सीके प्रसाइँविरूद्ध ४८ को चुनावमा राप्रपाबाट उठ्न बाध्य बनायो।’

त्यो ‘इगो’ ठीक नभएको स्वीकार गर्दै उनले पुस्तकमा त्यहीँ इगोले राजनीतिक जीवनमा धक्का पुगेको उल्लेख गरेका छन्। ‘मैले जति नै धक्का खाए पनि धुलो टकट्क्याउँदै उठेर हिँडेको भने छु’, उनले लेखेका छन्, ‘मैले जता अलमल भए पनि म लोकतन्त्रको पक्षमा भने सदा उभिएँ। त्यसमा सन्तोष छ।’

२०४८ मा राप्रपाबाट चुनाव लडेका उनी २०५० मा सीके प्रसाईकै हातबाट टिका लगाएर कांग्रेस फर्किए। र, २०५१ मा झापामा केपी ओलीविरूद्ध चुनाव लडे। ओलीसँग उनी पराजित भए।

२०५६ मा उनले टिकट पाएनन्। तर, त्यसबेला टिकट नपाउँदा उनले विद्रोह भने गरेनन्। काँग्रेस विभाजित भएपछि प्रजातान्त्रिक कांग्रेसको झापा सभापति भए। पार्टी एकता भएपछि पहिलो संविधानसभा चुनाव लड्दा जिल्लामा उनी एक्लैले सफलता पाए। यसपटक आफू त्यहीँ सफलता दोहोर्‍याउन आतुर रहेको उनी बताउँछन्।

२०४२ सालमै झापाली नागरिकले झण्डै चार दशकपछि पनि उनैलाई किन मत हाल्ने? उनको तर्क छ, ‘उमेर केवल संख्या हो। मुख्य कुरा विचार र सक्रियता हो। यदि तन्नेरीहरू हिम्मत गरेर चुनाव लड्न आउँछन् भने म छाड्न तयार छु। तर, उनीहरू खाली समानुपातिक ताकेर बस्ने अनि युवा कि युवा भनेर हुन्छ?’  सेतोपाटीबाट