अस्वस्थ जीवनशैलीले हुनसक्छ मधुमेह

मधुमेह भएपछि सबैलाई लक्षण देखिँदैन । लक्षण नभएपछि मधुमेह छैन होला भन्ने भ्रम धेरैलाई होला । तर त्यो गलत हो । ५० प्रतिशत बिरामीहरुमा सुगरको लेभल उच्च भए पनि कुनै लक्षण देखिँदैन । त्यसैले वार्षिक एकपटक सुगर जाँच गराउनुपर्छ ।

काठमाडौँ ।  मधुमेह अर्थात् डायबेटिज जसलाई धेरैले ‘सुगर’ भनेर बुझ्दछन् । हाम्रो शरीरमा ग्लुकोजको लेभल नर्मल हुनुपर्छ । मधुमेहमा भने शरीरमा चिनीको मात्रा एक प्रकारले चाहिनेभन्दा बढी देखिन्छ । यो दीर्घरोगभन्दा पनि यो एउटा सिन्ड्रोम हो, जसलाई समयमै नियन्त्रण गर्न सकिएन भने धेरै अंगहरुलाई असर गर्छ । यसले आँखा, मिर्गौला, मुटु, कलेजोलाई असर गर्छ जसले पछि गएर ठूलो रोग निम्त्याउँछ ।

मधुमेह देखिनका कारण धेरै हुन सक्छन् । नेपालमा यो रोग बढ्दै गएको देखिन्छ । मुख्यत: हाम्रो जीवनशैली अनि अस्वस्थ खानपिन । मानिसको खान्कीमा धेरै परिवर्तन भइसकेको छ । आजभन्दा २०–२५ वर्षअगाडि जति हामी घरमै बनेका स्वस्थकर खान्की खान्थ्यौँ त्यसमा धेरै फाइबरका मात्रा हुन्थे । अहिले हामीले मम:, पिज्जा, चाउमिनलगायतको फास्ट फुड तथा प्याकेटका खानेकुराहरुमा बढी रमाएका छौं । यस्ता खानेकुराले मोटोपन बढाएको छ जसले युवा उमेरमै विभिन्न नसर्ने रोगहरु देखा पर्न थालेका छन् । जसमा मधुमेह पनि एक हो । मोटोपन जति बढ्दै गयो त्यति शरीरमा बोसो बन्छ । ‘इन्सुलिन’ भन्ने हर्मोनको गडबडी भएर मधुमेह देखिन्छ । मोटोपनले यो हर्मोनलाई काम गर्न दिँदैन र मधुमेह हुन्छ ।

अहिले युवा उमेरमै मधुमेह रोगीहरु बढ्न थालेका छन् । सुगर ‘साइलेन्ट किलर’ हो । मिर्गौला बिगार्ने धेरैजसो मधुमेहकै कारण हुन्छ । साथै आँखाको ज्योति पनि गुमाउने यो प्रमुख कारण हो । मधुमेह हुँदा हृदयघात हुने सम्भावना २ देखि ३ गुणाले बढेर जान्छ । प्यारालाइसिस हुने सम्भावना पनि डबल भएर जान्छ । यी अंगहरु बचाउन पनि मधुमेहबाट बच्नुपर्ने हुन्छ ।

जति छिटो थाहा पाइयो त्यति नै उपचार छिटो हुन्छ र अंगहरु क्षति हुनबाट बच्छ । मधुमेह प्राय: सञ्चो हुँदैन । यदि वंशाणुगत हो भने त एकपटक देखिएपछि सधैँ देखिन्छ । तौल नियन्त्रणमा राख्दा पनि कसै कसैलाई नियन्त्रणमा आउन सक्छ । यदि तपाईंले कुनै औषधि प्रयोग गर्नुभएको छ र पछि चलाउनुपरेन भने पनि मधुमेह नियन्त्रणमा आउन सक्छ । मधुमेहलाई नियन्त्रणमा राखियो भने यसले खासै केही असर पार्दैन । नियन्त्रणमा भएन भने यसले विस्तारै शरीरका विभिन्न अंगमा क्षति पुर्‍याउँदै लान थाल्छ ।

मधुमेहका धेरै प्रकार छन्: मुख्यत ‘टाइप वान’, ‘टाइप टु’ र ‘गेस्टेस्नल डायबेटिज’ यी ३ प्रकारका मधुमेह बढी देखिने सम्भावना रहन्छ । ‘टाइप १’ मधुमेह कुनै संक्रमणको कारणले हुने भनिन्छ । विशेषत: कुनै भाइरसको कारण हुन्छ भनिन्छ । तर कुन भाइरस भनेर अहिलेसम्म पुष्टि भएको छैन । यसले हाम्रो शरीरमा ‘प्यानक्रियाज’ भन्ने ग्रन्थीबाट इन्सुलिन हर्मोन निक्लिन बन्द गर्छ ।

इन्सुलिन हर्मोनले सुगरको लेभल एउटा निश्चित मात्रा रगतमा राख्नुपर्ने काम गर्छ । इन्सुलिन हर्मोन नै नबनेपछि मधुमेह देखिन्छ ।हालसम्म यो मधुमेह उपचारका लागि इन्सुलिन हर्मोन नै लगाउनुपर्ने हुन्छ ।यो धेरै बालबालिकालाई देखिन्छ । विशेषगरी ३० वर्ष मुनिका व्यक्तिहरुमा यो अलि बढी देखिएको छ । यो अरु उमेरका लागि लाग्दैन भन्ने होइन तर बालबालिकामा बढी देखिन्छ ।

‘टाइप टु’ मधुमेहमा इन्सुलिन हर्मोन त बन्छ तर विभिन्न कारणहरु जस्तै मोटोपन, वंशाणुगत कारणहरुले गर्दा हर्मोनले काम गर्न छोडिदिन्छ जसलाई ‘इन्सुलिन रेसिसटेन्स’ भनिन्छ । हर्मोनले काम गरेन भने मधुमेह हुन्छ । धेरै उमेर भएको, मोटोपन भएको र घरकै अरु सदस्यलाई छ भने पनि यो मधुमेह हुन्छ । यो मधुमेहको समस्या धेरै छिप्पिएको छैन भने कहिलेकाहीं मुख बारेर । जस्तै खानपिन, व्यायाम तथा सामान्य ट्याबलेटले नियन्त्रण गर्न सकिन्छ । संसारमा ९० प्रतिशत यो मधुमेह भएका व्यक्तिहरु छन् बाँकी अरु मधुमेह रोगीहरु रहेका छन् । ‘गेस्टेस्नल डायबेटिज’ गर्भावस्थामा हुने मधुमेह हो । यसले बच्चा र आमा दुवैलाई असर गर्न सक्छ । कहिलेकाहीं प्यानक्रियाजको ग्रन्थी अरु केही कारणजस्तै चोटपटक, किमोथेरापी गर्दा, पत्थरी हुँदा काम गर्न सक्दैन त्यतिबेला पनि मधुमेह हुन सक्छ । कसैले जन्मदै मधुमेहको समस्या लिएर आएका हुन सक्छन् । मधूमेह धेरै प्रकारका भए पनि सबैले गराउने समस्या उही हो ।

मधुमेह भएपछि सबैलाई लक्षण देखिँदैन । लक्षण नभएपछि मधुमेह छैन होला भन्ने भ्रम धेरैलाई होला तर त्यो गलत हो । ५० प्रतिशत बिरामीहरुमा सुगरको लेभल उच्च भए पनि कुनै लक्षण देखिँदैन । त्यसैले वार्षिक एकपटक सुगर जाँच गराउनुपर्छ । लक्षण देखिएन भने उनीहरु डाक्टरकोमा जाँदैनन् र एकैचोटी शरीरका अंग बिग्रिएपछि बल्ल थाहा हुने हुन्छ जुन जोखिमको अवस्था हो । पिसाब लागिराख्ने, प्यास बढी लाग्ने, बढी भोक लाग्ने, तौल एक्कासी घट्ने, आँखा धमिलो हुने, हात खुट्टा झमझमाउने, गुप्तांगमा चिलाउने, पोल्ने जस्तो लक्षणहरु मधुमेहका हुन् ।

  • पिसाब लागिराख्ने, प्यास बढी लाग्ने, बढी भोक लाग्ने, तौल एक्कासी घट्ने, आँखा धमिलो हुने, हात खुट्टा झमझमाउने, गुप्तांगमा चिलाउने, पोल्ने जस्तो लक्षणहरु मधुमेहका हुन् ।

विश्व स्वास्थ्य संगठनले ३५ वर्ष कटेपछि एक–दुई वर्षको अन्तरालमा एकपटक सुगर जाँच गराउनुपर्छ भन्ने सिफारिस गरेको छ । हाम्रोजस्ते दक्षिण एसियाली मुलुकमा मधुमेहको जोखिम झन् बढी छ । यदि घरको कुनै सदस्यलाई मधुमेह छ भने अरु सदस्यलाई पनि हुने सम्भावना बढी हुन्छ । ‘टाइप टु’ डायबिटिज ६० देखि ७० प्रतिशत वंशाणुगत हुन सक्छ । त्यसैगरी तौल बढी हुनेहरुलाई पनि मधुमेह हुने सम्भावना धेरै हुन्छ ।त्यसैले तौल नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

तपाईंको ‘बडी मास इन्डेक्स’ (स्वस्थ्य तौल जाँच्नका लागि तौल र उचाइ नापिन्छ) २५ भन्दा बढी छ भने मोटोपन भनिन्छ । साथै उच्च रक्तचाप, कोलोस्ट्रोलको औषधि खाइरहेकाले पनि सुगर जाँच गराइराख्नुपर्छ । उनीहरुलाई पनि यो समस्या देखिने समस्या अधिक रहन्छ ।त्यसैगरी गर्भावस्थामा पनि समय–समयमा चेक गराइराख्नुपर्छ । जन्मिएकाे बच्चा ४ किलो भन्दा बढी छ भने पनि मधुमेहको खतरा रहन्छ । केमोको औषधि लिइराखेको मान्छे, आलस्य जीवन बिताउने, तनावयुक्त जीवन भएकाहरुमा पनि मधुमेह हुने सम्भावना रहन्छ । त्यसैले वर्षको एक पटक अनिवार्य सुगर जाँच गराउनु आवश्यक छ । यो जाँच सर्वसुलभ पनि छ ।

मधुमेह हुने जोखिम समूहमा परे भन्नेबित्तिकै मधुमेह भइनै हाल्छ भन्ने होइन तर उच्च जोखिममा भने परिन्छ । मधुमेह लाग्न नदिन खानपीन, जीवनशैली नियन्त्रण गर्नुपर्छ । तौल घटाउन सुरु गर्नुपर्छ । तौल बढाउने खानेकुरा, जंक फुड, मिठाइ, चकलेट, फास्टफुडहरु खानु भएन । सकेसम्म घरमै बनाएको शुद्ध खानेकुरा जसमा फाइबर धेरै हुन्छ त्यो शरीरलाई फाइदा गर्छ । तपाईंले खाने खानामा १० प्रतिशत फाइबर छ भने पनि मधुमेह हुने सम्भावना एकदम कम भएर जान्छ । कार्बोहाइड्रेट र फ्याटको सट्टा प्रोटिन बढी खानुपर्छ । तरकारी तथा फलफूल बढी खान सकिन्छ ।

त्यसैगरी अर्को महत्त्वपूर्ण पाटो हो शारीरिक व्यायाम । स्वस्थ्य शरीरका लागि विश्व स्वस्थ्य संगठनले १ हप्तामा कम्तीमा १५० मिनेट व्यायाम गर्नुपर्छ भनेकाे छ । व्यायाम आफूलाई सहज हुने जे पनि गरे हुन्छ जस्तै दौडिने, छिटो छिटो हिँड्ने, साइक्लिङ, जिम, डान्स, स्वीमिङ आदि व्यायामहरु गर्न सकिन्छ । रक्सी चुरोट खानुभएन साथै दैनिक ७ देखि ८ घण्टा मजाले निदाउन आवश्यक छ ।

तनावयुक्त जीवन जिउनु भएन । स्वस्थ्य जीवनशैली अपनाउँदा मधुमेह हुने सम्भावना धेरै हदसम्म घटेर जान्छ । ८ घण्टा भोकै बसेर खाली पेटमा गएर बिहानको सुगर चेक गराउने र १०० ‍(मिलिग्राम पर डेसिलिटर) भन्दा तल सुगर लेभल छ भने तपाईंमा समस्या छैन नभए १२६ कट्यो भने मधुमेह भएको मानिन्छ । १०० देखि १२५ को बीचमा छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।कतिपयमा आहारविहार तथा व्यायामले यो नियन्त्रण गर्न सहयोग गर्छ ।

(मधुमेह, थाइराइड तथा हर्माेन राेग विशेषज्ञ डा. तारा काेइरालासँग बुनु थारुले गरेकाे कुराकानीमा आधारित)