किन घटिरहेको छ निक्षेप ?

५ वर्षयता हरेक असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्दो

झापा । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरूबाट मात्र करिब सवा खर्ब रुपैयाँ निक्षेप घटेको छ । असार मसान्तदेखि साउन मसान्तसम्ममा उल्लिखित रकम बराबरको निक्षेप वाणिज्य बैंकहरूबाट बाहिरिएको हो । साउनमा वित्तीय प्रणालीबाट निक्षेप बाहिरिनु (घट्नु) नयाँ भने होइन ।

५ वर्षयता हरेक वर्ष असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्दै आएको छ । तर, अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष बैंकहरूको निक्षेप धेरैले घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो । साउन मसान्तसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्षको अन्त्यमा आर्थिक कारोबार धेरै हुने र तीमध्ये केहीको भुक्तानी साउनमा मात्र हुने भएकाले असार मसान्तको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेप घट्ने गर्छ । पछिल्ला वर्षका आर्थिक कारोबार बढेसँगै भुक्तानी गर्न बाँकी रकम पनि धेरै भएकाले केही वर्षयता साउनमा निरन्तर निक्षेप घट्ने गरेको चार्टर्ड एकाउन्टेन्ट एवं पूर्वबैंकर अनलराज भट्टराईले बताए । तर, पछिल्ला वर्षमा आयात उच्च दरले बढेकाले भुक्तानी गर्नै ठूलो रकम बाहिरिन थालेपछि वित्तीय प्रणालीबाट निक्षेप बाहिरिने क्रम पनि बढेको उनको तर्क छ ।

‘केही वर्षयता हरेक वर्ष असार मसान्तमा भुक्तानी गर्न बाँकी रकम साउन लागेपछि भुक्तानी भएकाले निक्षेप घट्ने गरेको थियो । ती वर्षमा कुल निक्षेपको १ प्रतिशत हाराहारीमा निक्षेप घटेको देखिन्थ्यो,’ उनले भने, ‘यो वर्ष करिब २ प्रतिशतले निक्षेप घटेको छ । यसको प्रमुख कारण बढ्दो आयात नै हो ।’ आयातित वस्तु तथा सेवा भुक्तानीका लागि धेरै पैसा मुलुक बाहिर गएपछि बैंकहरूले शाख सिर्जना (क्रेडिट क्रिएसन) गर्न अर्थात् निक्षेप संकलन पाएनन् । यसकारण बैंकको निक्षेप घटेको उनले बताए ।

‘अहिले बजारमा विदेशी मुद्रा आपूर्ति पनि घटेको छ । व्यापारीहरू (बैंक) ले नेपाली रुपैयाँले राष्ट्र बैंकसँग डलर किनेर आयातको भुक्तानी गर्दा नेपाली पैसा राष्ट्र बैंकमा थन्कियो, विदेशी मुद्रा मुलुकबाट बाहिरियो । यसो हुँदा बैंकहरूले शाख सिर्जना (क्रेडिट क्रिएसन) गर्न पाएनन्,’ उनले थपे, ‘आयात बढेसँगै निक्षेपको घट्ने परिमाण पनि बढ्ने गरेको छ ।’ गत साउनमा आयात १२ प्रतिशतले घटेको देखिन्छ । आउँदा महिनामा पनि आयात घटिरहे निक्षेप घट्ने क्रममा पनि सुधार आउन सक्छ । अन्यथा अझै केही महिना बैंकहरूलाई तरलताको समस्या कायमै हुने देखिन्छ । वित्तीय प्रणालीबाट बाहिरिएको निक्षेप क्रिप्टोकरेन्सीलगायत अवैधानिक कारोबारमा उपयोग नभएको उनको दाबी छ । ‘अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सीको मूल्य इतिहासमै सबैभन्दा तल झरेको छ,’ उनले भने, ‘यसकारण लगानीकर्ताको आकर्षण घटेको छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ असारको तुलनामा ०७५/७६ साउनमा करिब १० अर्ब ३३ करोडले निक्षेप घटेको थियो । आर्थिक वर्ष ०७५/७६ असारको तुलनामा ०७६/७७ साउनमा करिब १४ अर्ब २० करोडले निक्षेप घटेको थियो । आर्थिक वर्ष आर्थिक वर्ष ०७६/७७ असारको तुलनामा ०७७/७८ साउनमा करिब ५ अर्बले निक्षेप घटेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब ८० अर्ब रुपैयाँले घटेको छ । ‘सन् २०१७ अघिसम्म रेमिट्यान्समार्फत नेपाल भित्रिने विदेशी मुद्रा आयातमार्फत बाहिरिने रकमभन्दा बढी हुने भएकाले विदेशी मुद्रा सञ्चितिको चाप परेको थिएन भने बैंकमा निक्षेप पनि घटेको थिएन,’ अर्थशास्त्री विश्वास गौचनले भने, ‘सन् २०१७ पछि आयातका लागि गर्नुपर्ने भुक्तानी रेमिट्यान्समार्फत भित्रिने विदेशी मुद्राभन्दा धेरै बढी हुन थाल्यो । यसो हुँदा विदेशी मुद्रा सञ्चितिमा पनि चाप पर्न थाल्यो । बैंकहरूको निक्षेप पनि घट्न थाल्यो ।’

प्रायः बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा निक्षेपको ब्याज निक्षेपकर्ताको खातामा हालिदिने भएकाले पनि असार मसान्तमा निक्षेप बढ्ने तर निक्षेपकर्ताले ब्याजबापतको रकम निकाल्ने भएकाले साउनमा निक्षेप घट्ने सामान्य प्रवृत्ति नै रहने उनले बताए । ‘पछिल्ला वर्षहरूमा नेपालमा निक्षेप घट्नुको प्रमुख कारण आयात नै हो । आयातमार्फत धेरै रकम बाहिरिँदा बैंकहरूले साख सिर्जना गर्न पाएनन्,’ उनले भने । हरेक पछिल्ला वर्षहरूमा तरलता समस्या झन्झनै बढ्दै जानु पनि यसकै कारण भएको उनको दाबी छ । ‘पहिले वित्तीय प्रणालीमा लगानीयोग्य रकम मात्र अभाव (लिक्विडिटी क्राइसिस) थियो । पछिल्ला महिनाहरूमा निक्षेपकर्तालाई फिर्ता दिने रकममा पनि कमी (लिक्विडिटी क्रन्च) देखिन थालेको छ,’ उनले भने, ‘यो समस्या स्वचालित रूपमा समाधान हुने सम्भावना देखिँदैन ।’

राष्ट्र बैंकले पनि पेट्रोलियम पदार्थलगायत वस्तु तथा सेवाको आयातमा भुक्तानी भएको रकम बढेको, निर्माण परियोजनाहरूको गत वर्ष भएका कामको भुक्तानी भएको, राजस्व परिचालनलगायत कारणले साउनमा बैंकहरूको निक्षेप घटेको बताउँदै आएको छ । ‘धेरै रकम आयात भएका वस्तु तथा सेवाको भुक्तानीमै गएको देखिन्छ । यस अवधिमा पुरानो बक्यौता पनि भुक्तानी भएको हुन सक्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘यद्यपि बचतको ठूलो हिस्सा आयात भुक्तानीकै लागि प्रयोग भएको प्रारम्भिक आकलन छ ।’ गत साउनमा मात्र आयात भुक्तानीका लागि करिब १ खर्ब रुपैयाँ बाहिरिएको हुन सक्ने राष्ट्र बैंकको आकलन छ । साउन लागेपछि सरकारले राजस्व संकलन गरे पनि खर्च निकै कम भएकाले पनि बैंकको निक्षेप घटेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । साउनमा मात्र नभएर गत आर्थिक वर्षको चार माहिना (साउन, कात्तिक, माघ र वैशाख) मा निक्षेप घट्यो भने बाँकी ८ महिनामा निक्षेप बढेको छ । आयात नियन्त्रण नगरिए आउँदा महिना पनि निक्षेप घट्ने क्रम नरोकिने जानकारहरू बताउँछन् ।