झापामा बाढीले घर डुबानसँगै दर्जनौं परिवार विस्थापित [तस्बिरहरू]

झापा । बाढीका कारण झापाका हजार भन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काइ लगायत नदीमा आएको बाढीले घर डुबानसँगै दर्जनौं परिवार विस्थापित भएका छन् । खासगरी नदी किनारा आसपासका सुकुमबासी बस्तीहरू बाढीले प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह–६ तेलिया डाँगीमा रतुवा खोलाको बाढी पस्दा वडा नम्बर ४ र ५ का सयभन्दा बढी घर डुबानमा परेका छन् । त्यस्तै भद्रपुरका विभिन्न वडामा मेचीको बाढीले सय बढी घर डुबाएको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा पारेको छ भने झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेका छन् । यस्तै गौरीगञ्ज ४ का १५ घर डुबानमा परेपछि बाढी पीडितहरूलाई नजिकैको स्कुलमा सारिएको छ । शिवसताक्षी नगर ४ को एक ब्रोइलर कुखुरा फर्ममा बाढी पस्दा १२ सय कुखुरा मरेका छन्।

जसकारण करिब साढे १० लाख बढीको क्षति भएको पीडित परिवारले बताएका छन् । बाह्रदशी गाउँपालिका २ गौरीगाउँमा अदुवा खोलाको बाढी पस्दा ७ घरका ३३ जना विस्थापित भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म जिल्लामा मानवीय क्षति भने भएको छैन ।