कमल गाउँपालिकाको बजेट ७१ करोड १२ लाख ३३ हजार

कमल । कमल गाउँपालिकामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७१ करोड १२ लाख ३३ हजार रुपैयाँभन्दा बढीको बजेट गाउँ सभामा पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रमीला न्यौपाने तिवारीले आज गाउँ सभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेस गरेकी हुन् ।

प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ २८ करोड २२ लाख ९७ हजार ५०० र पूर्वाधार विकासतर्फ २६ करोड २० लाख ८७ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५१ लाख २० हजार, संस्थागत सुशासनतर्फ ११ करोड १७ लाख ६८ हजार र पर्यटनतर्फ १ करोड रुपैयाँ विनियोजित बजेट उपाध्यक्ष तिवारीले सभामा प्रस्तुत गरेकी हुन् ।

नागरिकले तिरेको करबाट नै सबल र सक्षम स्थानीय तह निर्माण हुने भएको भन्दै बजेट मन्तव्यमा उपाध्यक्ष तिवारीले नागरिकको विकासप्रतिको सकारात्मक सोच र चाहना स्थानीय आवश्यकता पहिचान, सामाजिक, आर्थिक र गतिविधिलाई नागरिक मैत्री बनाउने गरी बजेट निर्धारण गरेको बताइन् ।

प्रस्तुत बजेट कार्यान्वयनका लागि गाउँपालिकाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ र स्थानीय सञ्चित कोषमा आय तथा खर्च गर्नका लागि बनेको विनियोजन विधेयक २०७९ तथा सोसँग सम्बन्धित विभिन्न अनुसूचीहरू समेत स्वीकृतिका लागि सभा समक्ष पेस गरिएको थियो ।

त्यस्तै आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, खानेपानी तथा सरसफाइ र स्वच्छता विधेयक २०७९, भूमि विधेयक २०७९, वन विधेयक २०७९, कृषि तथा पशुपन्छी विधेयक २०७९, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०७९, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन कार्यविधि २०७९ र सुशासन तथा स्थानीय सेवा समिति गठन तथा सञ्चालन कार्यविधि २०७९ समेत सभामा पेस गरिएको छ ।