झापा गाउँपालिकाको बजेट ५० करोड ८१ लाख ५३ हजार

झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । झापा गाउँपालिकाको सभा हलमा सुरु भएको बाह्रौँ गाउँ सभामा उपाध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेकी थिइन् ।

झापा गाउँपालिकाको चालु आर्थिक वर्षमा २०७८–७९ मा ४५ करोड ७४ लाख ५ हजार ५ सयको बजेट रहेको थियो । आगामी आर्थिक वर्षका लागि ५ करोड ७ लाख ४८ हजार बजेट बढी ल्याएको हो । आयतर्फ सङ्घीय राजश्व बाँडफाँड प्राप्त हुने ९ करोड ९८ लाख ६ हजार , सङ्घीय सशर्त अनुदान २० करोड ९७ लाख , सङ्घीय समीकरण अनुदान १२ करोड ४९ लाख , सङ्घीय समपूरक अनुदान १ करोड ६० लाख , सङ्घीय विशेष अनुदान १ करोड , प्रदेश समीकरण अनुदान ७३ लाख ४६ हजार , प्रदेश राजश्व बाँडफाँड ४२ लाख २४ हजार ५ सय , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपूरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ६० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

व्ययतर्फ प्रस्तुत बजेटमा पूर्वाधार विकास कार्यक्रमतर्फ ११ करोड ६७ लाख ८९ हजार ५ सय , आर्थिक विकासतर्फ २ करोड ०६ लाख , वन वातावरण विपद् तथा सरसफाइतर्फ ६ लाख , संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ १४ लाख , सामाजिक विकासतर्फ ४ करोड २० लाख ४१ हजार , सङ्घीय सशर्त अनुदान २० करोड ९७ लाख , सङ्घीय विशेष अनुदान १ करोड , सघीय समपूरक अनुदान १ करोड ६० लाख , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपूरक अनुदान १ करोड र चालु खर्चतर्फ ८ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा , लेखा अधिकृत लक्ष्मी खतिवडा , प्रशासकीय अधिकृत हिमाल मिश्र , सातै वटा वडाका वडा अध्यक्षहरू , परिषद् सदस्यहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।