फाइनलका लागि नेपाल र यूएई प्रतिस्पर्धा गर्दै

झापा । एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको किनरारा ओभलमा नेपाल र यूएईबीचको अहिले बिहान ८ः१५ बजे खेल सुरु हुनेछ । नेपाल र यूएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल यूएईले जितेको छ ।

यूएई समूह ’ए’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । नेपाल भने समूह ‘बी’को उपविजेता टोली हो । यूएईले ४ खेलमा ७ अंक जोडेको थियो भने मलेसिया ६ अंक जोडेर समूह उपविजेता बनेको थियो ।

समूह ‘बी’मा नेपालले ४ खेलमा ६ अंक जोडेको थियो । यो समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो । नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।