चार नेताले छाडे चन्दको साथ

काठमाडौँ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका चार नेताले पार्टी परित्याग गरेका छन् । आफूलाई माओवादी आन्दोलनको मूल धार दाबी गर्दै आए पनि चन्द नेतृत्वको नेकपा पछिल्लो समय एकपछि अर्को फूटबाट गुज्रिएको छ ।

बिहीबार पार्टीका पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्जार्ज ओमप्रकाश पुनसहित ४ जनाले पार्टी परित्याग गरेका हुन् । बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजनीतिक धार बाटो बदलेको घोषणा गर्दै पुनसहित शीर्ष ४ नेताले पार्टी छाडेका हुन् ।

पार्टीबाट राजीनामा घोषणा गर्नेहरूमा संविधानसभा सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार रहेका छन् ।

माओवादी धारा र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि उनीहरूको ठहर छ ।

केही समयअघि मात्रै स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले चुलिएपछि चन्द नेतृत्वको नेकपा विभाजित भएको थियो । चिवतनको पर्सामा सम्पन्न राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय लिएको थियो ।