काँकरभिट्टामा उभिए सँगै विपी-पुष्पलाल

काँकरभिट्टा । काँकरभिट्टाको विपी-पुष्पलाल बाटिका परिसरमा नेपाल कम्युनिस्ट पार्टीको संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको पूणर् कदको सालिक र गेट स्थापना भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

विपी-पुष्पलाल बाटिक सहिद स्मृति प्रतिष्ठानले विपी-पुष्पलाल वाटिका प्रवेशद्वार र परिसरमा दुईजना नेताको सालिक एकै ठाउँमा निर्माण गरेको छ । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टामा रहेको विपी-पुष्पलाल वाटिका परिसरमा प्रदेश, स्थानीय र वडा सरकारले समन्वय गर्दै आकर्षक वाटिका निर्माण गरेपछि आकर्षण बनेको हो ।

वाटिकाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न १ नम्बर प्रदेश, मेचीनगर नगरपालिका र मेचीनगर ६ नम्बर वडा कार्यालयको करीव ६८ लाख रुपैयाँ लागतमा वाटिकाभित्र विभिन्न प्रकारका संरचना, बगैँचा, बस्ने स्थानसहित दुईजना नेताको पूणर्कदको सालिक निर्माण गरेको प्रतिष्ठानका सचिव नरेन्द्रप्रकाश सिटौलाले बताए ।

प्रतिष्ठान परिसरमा विभिन्न प्रकारका पंक्षीहरु समेत छन् । ती पंक्षीले समेत आन्तरिक पर्यटकको मन लोभ्याउने तथा काँकरभिट्टा हुँदै पश्चिम नेपालका विभिन्न स्थानसम्म जाने यात्रुहरु समय बिताउन पनि दिनभरजसो यही वाटिका आउने र घुम्ने गरेको सचिव सिटौलाले बताए ।

मेचीनगर नगरपालिका वडा नम्बर ६ को कार्यालयसँग रहेको वाटिका परिसरमा थप अन्य संरचना बन्न थालेपछि आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको हो । सार्वजनिक बिदाका दिन दुईदेखि तीन सय र अन्य बेला सयको हाराहारीमा आगन्तुक देखिन थालेको प्रतिष्ठानले जनाएको छ ।

रौनक बढेसँगै नजिकै रहेका होटल र चियापसल व्यवसाय सञ्चालनमा आउन थालेको प्रतिष्ठानले जनाएको छ । वाटिका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मेचीनगर नगरपालिकाले योजना अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

धेरै वर्षअघिदेखि उजाड डाँडोमा वृक्षारोपण गरी विपी-पुष्पलाल शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । उक्त वाटिकामा पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाको प्रतिमा निर्माण गर्ने योजना रहेको थियो । ढिलै भए पनि योजना सफल भएको छ ।

अब केही दिनमा वाटिका परिसरमा निर्माण गरिएको प्रतिमाहरुको अनावरण हुँदैछ । सालिक र सालिक राख्ने फाउन्डेसनमा मात्रै १४ लाख रुपैयाँ बढी खर्च भएको सचिव सिटौलाले बताए ।