भानु साहित्यिक प्रतिष्ठानमा अन्तराष्ट्रिय स्तरको इ-पुस्तकालय

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टास्थित भानु साहित्यिक प्रतिष्ठानको कार्यालय भवन भित्रै अन्तराष्ट्रिय स्तरको इ-पुस्तकालय धमाधम निमार्ण भईरहेको छ ।

करिब एक करोड ५० लाखको लागतमा आधुनिक शैलीमा निमार्ण हुने भनिएको पुस्तकालयसँगै करिब ४ सय मानिस अट्ने सभाहलको समेत निमार्ण हुने भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद उप्रेती उप्रेतीले बताए । करिब १ कठ्ठा १० धुरको क्षेत्रफलमा निमार्ण हुने सो भवन बजार क्षेत्र भित्रै रहेकाले विविध कार्यक्रम,सभा र समारोहका लागि उपयोगी हुने उप्रेतीले बताए । प्रतिष्ठानले साहित्य क्षेत्रका अलवा कला र संगीतका क्षेत्रमा समेत वर्षेनी विविध कार्यक्रम गर्दै आएको भानु साहित्यिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मेदनी प्रसाद खरेल बताउँछन् ।

नेपालको पूर्वी नाका काँकरभिट्टामा अवस्थित प्रतिष्ठानले भारतको असाम, दार्जीलिङ्ग र भुटानमा रहेका नेपाली भाषी स्रष्टाहरुकोसमेत समय समयमा जमघट गराँउदै आएको छ । अहिले प्रतिष्ठानले करिब ४१ लाख बराबरको अक्षय कोष स्थापना गरेर सोही कोषको आम्दानीबाट आफ्ना विविध कार्यक्रम संचालन गर्दै आएको छ । पछिल्लो समयमा भानुसाहित्यिक प्रतिष्ठानमा कृष्ण पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज मेदनी खरेल प्रतिष्ठान समेत समाहित भएका छन् भने ति प्रतिष्ठानमा रहेको २० लाख रकम समेत भानु साहित्यिक प्रतिष्ठानमै थप भएको अध्यक्ष उप्रेतीले बताए । भानु साहित्यिक प्रतिष्ठानको भवन निमार्णका लागि हालसम्म नेपाल सरकारको अनुदान २७ लाख मेचीनगर नगरपालिकाबाट ५ लाख, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती र वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलबाट ३लाख र प्रतिष्ठानको आन्तरिक श्रोतबाट ५ लाख रकमको लागतमा निमार्ण कार्य भइरहे उप्रेतीले बताए ।

यसै गरि पुस्तकालय भवन निमार्णका लागि १ नं प्रदेश सरकारले १८ लाख ,संघीय संसद कोषबाट १० लाख ,मेचीनगर नगरपालिकाबाट ९ लाख २५ हजार निमार्ण कार्यमा खर्च भएको छ । भवन निमार्ण सम्पन्न गर्नका लागि थप ५० लाख लाग्ने उप्रेतीले बताए ।

नेपालको पूर्वीद्धार काँकरभिट्टामा जनस्तरबाट थालनी गरिएको यो कार्यले नेपालका लागि मात्र नभएर विश्वमै रहेका नेपाली भाषीहरुको शीरलाई उच्च बनाएको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।आगामी असार २९ गते आदिकविको स्मृति दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलले बताए ।