झापाको चुनावी जोडघटाउ: सिटौला-लिङ्देनलाई मार्सीको चुनौती, २ मा उम्मेद्वार छान्न एमालेलाई सकस

झापा । कात्तिक वा मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारीका लागि टिकट सुरक्षित गर्न झापामा नेताहरूको दौडधूप सुरु भएको छ । प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरूको गृहजिल्ला झापामा टिकटको भागबण्डा लगाउन दलहरूलाई सकस छ ।

झापा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो । ओलीले भक्तपुरबाट मतदान गरेपनि उनी चुनाव भने झापाबाट लड्दै आएका छन् ।

स्थानीय तह निर्वाचनमा आएको नतिजाका कारण नेताहरूले निर्वाचन क्षेत्र अदलबदल गर्ने समेत चर्चा छ । अहिलेसम्म दलहरूबीच चुनावी तालमेलको खाका बनिसकेको छैन । गठबन्धन बन्दा या नबन्दा झापामा पूर्वपञ्चहरूको पार्टी राप्रपा निणर्ायक बन्ने देखिन्छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग एक सीट लिएर गठबन्धन गरेको राप्रपाले यसपटक दुई सीटमा दाबी गर्ने नेताहरूले बताएका छन् । लिङ्देनको गृहजिल्ला झापामा राप्रपाको प्रभाव कति छ भने भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कचनकवलमा राप्रपाविरुद्ध काँग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए ।

ओलीका अतिरिक्त ‘मार्सी’ उपनामले चिनिने मेडिकल व्यापारी दुर्गा प्रसाईं पनि चुनाव लड्न खोज्दैछन् । केपी ओली दोस्रोपटक प्रधानमन्त्री बन्दा महान्यायाधिवक्ता बनेका अग्नि खरेल पनि चुनाव लड्ने तयारी गर्दैछन् । झापाबाट प्रत्यक्ष चुनाव लड्ने भन्दै खरेलले बीचमै महान्यायाधिवक्ताबाट राजीनामा गरेका थिए ।

नेपथ्यमा वामपन्थी गठबन्धनको कसरत भइरहे पनि मंसिरको चुनावमा अहिलेको सत्ता गठबन्धनबीच नै चुनावी तालमेल हुने सम्भावना प्रबल छ । काँग्रेस र माओवादीबीच तालमेलका विभिन्न मोडालिटीमा कुराकानी भइरहेको छ ।

स्थानीय तहमा अपनाएको फर्मुला प्रतिनिधि सभामा लागू हुने सम्भवना छैन । स्थानीय निर्वाचनमा जनमत बदलिएको भन्दै काँग्रेसले पुरानो फर्मुला मान्य नहुने दाबी गरिरहेको छ । यसअघि जितेको निर्वाचन क्षेत्र लिएर चुनाव लड्ने मापदण्ड झापाकै कारण लागू गर्न काँग्रेसलाई अप्ठ्यारो छ । काँग्रेससँग चुनावी तालमेल गर्दा माओवादी केन्द्रले झापामा २ सीट दाबी गर्ने तयारी गरेको छ ।

झापा १ मा विश्वप्रकाशको भेट रविन कोइरालासँग

झापा १ मा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्मा नै चुनावी मैदानमा उत्रिने लगभग निश्चितजस्तो छ । चुनावको सम्भावित नतिजाबारे शर्माले तीनजनाको टीम बनाएर अनौपचारिक सर्वेक्षण सुरू गरेका छन् ।

जिल्लाका नेताहरूसँगको ब्रिफिङमा शर्माले काठमाडौँबाट तीनजना सर्वेक्षक आएर फिल्डको अवस्थाबारे सुक्ष्म विश्लेषण गरिरहेको बताएका थिए । विगतमा दुईपटक पराजय व्यहोरेका शर्माले यसपटक नतिजा उल्टाउने योजना बनाएका छन् । जीत सुनिश्चित हुने भएमात्र उनले उम्मेद्वारी घोषणा गर्नेछन् । काँग्रेसको महामन्त्री रहेको र भविष्यमा मन्त्री बन्ने सम्भावना रहेकाले यस क्षेत्रका मतदाताले यसपटक आफूलाई विजयी गराउने शर्माको विश्वास छ ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादी केन्द्रका सुरेन्द्र कार्की (राम कार्की) सँग पराजित भएका थिए । काँग्रेससँग तालमेल भए विश्वप्रकाशको क्षेत्रबाट कार्की विस्थापित हुने सम्भावना ज्यादा छ । विश्वप्रकाश र राम कार्कीमध्ये एकले झापाको कुनै अर्को क्षेत्र रोज्नुपर्नेछ । झापा १ का सडक ‘अफ्रिकन सुन्दरीका गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका कार्कीले एमालेसँग गठबन्धन हुँदा शर्मालाई पराजित गरेका थिए ।

एमालेसँगको तालमेलका कारण कार्कीले ३६ हजार १ सय ७३ मत पाउँदा विश्वप्रकाशले ३३ हजार ३ सय १० मत पाएका थिए । कथम्कदाचित विश्वप्रकाश शर्मा उठेनन् भने यो क्षेत्रबाट उषा गुरुङ उठ्ने सम्भावना छ । उनी यसअघि दुवै संविधान सभामा समानुपातिक सांसद थिइन् ।

चुनावमा उठे भने विश्वप्रकाशको भेट एमालेका रविन कोइरालासँग हुने सम्भावना छ । २०७० सालको चुनावमा कोइरालासँग शर्मा पराजित भएका थिए । कोइराला मेचीनगर नगरपालिकाका पूर्व मेयर पनि हुन् । देशभर काँग्रेसले राम्रो नतिजा ल्याएको समयमा विश्वप्रकाशको गृहनगरमा भने काँग्रेस पराजित बनेको छ ।

झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामध्ये गाउँपालिकामा मात्र काँग्रेस विजयी भएको छ । मेचीनगरमा काँग्रेसको अवस्था खस्किएको छ । यसअघि १५ मध्ये ७ वडा जितेको काँग्रेस अहिले ३ वटामा खुम्चिएको छ । विश्वप्रकाशको वडा रहेको ९ नम्बरमा काँग्रेसको पराजय भएको छ । बुद्धशान्तिमा पाएको राम्रो मत विश्वप्रकाशको आधार हो ।

वाककला भएका शर्मालाई चुनाव परिचालनको कमाण्डर बनाएर समानुपातिक सूचीको अग्रस्थानमा राख्ने निणर्य भएपनि आश्चर्य मान्नुपर्ने छैन । त्यसो हुँदा राम कार्कीले गठबन्धनको तर्फबाट टिकट पाउने सम्भावना रहन्छ ।

झापा २ मा एमालेभित्र रस्साकस्सी

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा २ बाट एमालेकी पवित्रा निरौला खरेल काँग्रेसका उद्धव थापालाई पराजित गरेर विजयी भएकी थिइन् । खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा काँग्रेसका उद्धव थापाले ३१ हजार ५० हजार मत प्राप्त गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति रहेकी खरेलले माधव नेपालको साथ छाडेर एमाले नै रोजेकी छिन् । तर, अग्नि खरेलले समेत यही क्षेत्र रोजेका कारण एमालेले कसलाई उम्मेद्वार बनाउँछ भन्ने एकिन छैन ।

नेकपा एमाले प्रदेश १ कमिटी इन्चार्ज समेत रहेका देवराज घिमिरे यही क्षेत्रबाट चुनाव लड्ने तरखरमा छन् । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरेले टिकट फुत्काउने सम्भावना प्रबल रहेको जिल्लाका एक नेताले बताए । खरेल र घिमिरेका अतिरिक्त चिन्तन पाठकले पनि यही क्षेत्रबाट चुनाव लड्न रुचि देखाएका छन् ।

प्रत्यक्षतर्फ पनि केही क्षेत्रमा महिला उठाउनुपर्ने बाध्यताका कारण एमालेबाट पवित्राले फेरि टिकट पाउने सम्भावना पनि छ । प्रत्यक्ष चुनाव जितेको र महिला भएका कारण उनको टिकट खोस्न एमालेलाई कठिन हुनेछ ।

झापा २ मा नेपाली काँग्रेसका तर्फबाट सरिता प्रसाईं बलियो दाबेदार हुन् । एमालेले खरेल र काँग्रेसले प्रसाईंलाई टिकट दियो भने यो क्षेत्रमा दुई महिलाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर, दुवै महिलाले टिकट पाउने निश्चित भने छैन ।

गुरुराज घिमिरेलाई २ भोटले पराजित गरेर काँग्रेसको प्रदेश १ सभापति बनेका थापा काँग्रेसका तर्फबाट फेरि उम्मेद्वार बन्ने सम्भावना पनि छ । नेपाली काँग्रेस झापाका एक नेताका अनुसार सुधीर सिवाकोटी र केशवकुमार बुढाथोकी पनि यस क्षेत्रबाट टिकटका आकांक्षी हुन् । प्रसाईं यसअघि राष्ट्रिय सभा सदस्य थिइन् भने सुधीर र केशवकुमार यसअघि संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सिटौला-लिङ्देनको क्षेत्रमा मार्सी प्रवेश !

काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेर २०७४ सालमा झापा ३ बाट राजेन्द्र लिङ्देन उदाएका थिए । प्रतिनिधि सभामा राप्रपाको बिउ जोगाएका लिङ्देन गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्ष बने । पूर्वपञ्चको पार्टीका अध्यक्ष लिङ्देन समकालीन नेताहरूका सम्बन्धमा बोलेको एउटा डायलगका कारण अहिले निकै चर्चित छन् । काँग्रेस महाधिवेशन उद्घाटनका क्रममा लिङ्देनले नेतालाई गाउँमा चोर आयो भनेर भन्ने गरेको भन्दै भाषण गरेका थिए ।

झापामा चुनाव जित्नका लागि काँग्रेस या एमाले दुवैले राप्रपाको मुख हेरेका छन् । काँग्रेसले माओवादीसँग तालमेल गर्ने सम्भावना ज्यादा रहेकाले राप्रपासँग एमालेले तालमेल गर्ने सम्भावना छ । २०७४ सालमा ४४ हजार ६ सय १६ मत पाएर लिङ्देन विजयी भएका थिए । काँग्रेसका कृष्ण सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए ।

काँग्रेस र राप्रपा दुवैले आफ्नो अवस्था सुदृढ बनेको दाबी गरेका छन् । स्थानीय तह चुनावमा झापामा अनौठो तालमेल भएको थियो । कचनकवलमा राप्रपालाई हराउन काँग्रेस र एमाले मिलेका थिए भने ओलीको क्षेत्रमा एमाले हराउन राप्रपा र काँग्रेस मिलेका थिए । स्मरणीय छ, चितवनको भरतपुरमा एमाले र राप्रपा मिलेका थिए ।

यही क्षेत्रमा दुर्गा प्रसाईंले पनि आँखा गाडेका छन् । बीएन्डसी मेडिकल कलेज स्थापना गरेका प्रसाईंले लामो समयदेखि चुनावको तयारी गरिरहेका छन् । प्रसाईंका अतिरिक्त हरि राजवंशीले पनि यो क्षेत्रबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । प्रसाईंले भने अनौपचारिक रूपमा चुनावको प्रचारप्रसार नै शुरू गरेका छन् ।

झापा ४ मा को बन्ला उम्मेद्वार ?

२०७४ सालको चुनावमा झापा ४ मा एमालेका लालप्रसाद साँवा लिम्बू विजयी भएका थिए । लालप्रसादले ४३ हजार ५ सय १५ मत पाउँदा काँग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका थिए । राई लिम्बूको बाहुल्य रहेको यो क्षेत्रमा जनजाति उम्मेद्वार उठाउनुपर्ने दबाब दलहरूलाई छ ।

चुनावी तालमेलमा साटफेर नभए काँग्रेसका तर्फबाट थेवे नै उम्मेद्वार बन्ने लगभग निश्चित छ । पार्टीको जिल्ला सभापति रहेका कारण थेबे उम्मेद्वार बन्ने प्रवल सम्भावना छ ।

एमालेमा भने लालप्रसादको विकल्प खोज्न तीब्र दबाब छ । वैदेशिक रोजगार व्यवसायीको पृष्ठभूमि रहेका सावा स्थानीय स्तरमा नभिजेको भन्दै कार्यकर्ता असन्तुष्ट देखिएका छन् । झापा ४ बाट उठ्नका लागि एमालेको बलियो उम्मेद्वार नभए पनि राधाकृष्ण खनाललाई उठाउने चर्चा सुरू भएको छ ।

केपी ओलीसँग भिड्न को आउला ?

झापा ५ बाट यसपटक पनि ‘हेवी वेट’ उम्मेद्वार चुनावी मैदानमा आउँदैछन् । दुईपटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने पात्रबारे काँग्रेसले अहिलेसम्म टुंगो लगाएको छैन ।

२०७४ सालको चुनावमा ओली ५७ हजार १ सय ३९ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए । ओली प्रधानमन्त्री रहेको समयमा अधिकारी ओलीसँग फेरि चुनाव लड्ने भन्दै चर्चामा आएका थिए । प्रतिनिधि सभा सदस्य महिन्द्रा सुब्बा या सुरेश सुब्बा आकांक्षी छन् । तर, ओलीसँग भिड्नका लागि प्रभावशाली नेताको खोजी भइरहेको काँग्रेसका एक जिल्ला नेताले बताए ।

गत प्रतिनिधि सभा चुनावमा काँग्रेस उम्मेद्वारसँग झण्डै ३० हजार मतान्तरले विजयी भएपनि अहिले जनमत फेरिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको गृहनगरमा एमाले पराजित भएको छ । जालझेल र तिकडम गरेर सरकारबाट हाइए पनि मूलढोकाबाट फेरि सिंहदरबार प्रवेश गर्ने ओलीले बताउँदै आएका छन् ।

प्रधानमन्त्रीमा ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका ओलीलाई चुनौती दिनका लागि काँग्रेसका तर्फबाट त्यो स्तरको नेता फेला परेको छैन । सरकारमा रहँदा ओलीले निर्वाचन क्षेत्रमा बजेट खन्याएका थिए ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल भएमा एमालेले स्थानीय तह निर्वाचनमा जस्तै राप्रपा, राप्रपा नेपाललगायत दलसँग गठबन्धन बनाउने योजना बनाएको छ । एमालेको बलियो पकड भएको क्षेत्रमा ओली आफै पनि बलिया उम्मेद्वार हुन् । राप्रपा, राप्रपा नेपाललगायतको भोट थपिँदा उनलाई जीत निकाल्न सहज हुने जिल्ला नेताहरूको आँकलन छ ।

२०६४ सालमा विश्वदीप लिङ्देनले अप्रत्यासित रूपमा पराजित गरेबाहेक ओलीले झापाबाट जीत निकालिरहेका छन् । स्थानीय नेताका अनुसार ओलीलाई झापा २ बाट चुनाव लड्न पनि कार्यकर्ताले प्रस्ताव गरेका छन् । तर, ओलीले भने ५ बाटै चुनाव लड्ने तयारी गरेको एक जिल्लास्तरीय नेताले बताए ।