समाचार प्रभाव ः १० बजे विद्यालय पुग्दा देखियो यस्तो फरक दृश्य

मेचीनगर । मेचीनगरको कविशिरोमणि माविमा सोमबार विहान १० बजे पुग्दा फरकखालको दृश्य देखिएको छ । विहान १० नबज्दै विद्यालय परिसर भित्र शिक्षक, कर्मचारी तथा विद्यार्थी प्रवेश गरिसकेका थिए ।
शैक्षिक स्तर खस्किएको भन्दै अभिभावकहरुले आइतबार विद्यालय घेराउ गरेका थिए । विहान ९ः४५ बजे विद्यालय परिसर पुगेका अभिभावकहरुले समयमा नआउने शिक्षकहरुलाई प्रवेशमा रोक समेत लगाएपछि सोमबारबाट विद्यालयमा सुधारको संकेत देखिएको हो ।
सोमबार पनि अभिभावकहरुले विद्यालयमा छड्के अनुगमन गरेका थिए । अनुगमनका क्रममा सबै शिक्षक तथा कर्मचारी समयमै आइपुगेको पाइएको अभिभावक कपिल चापागाईंले बताए । विद्यालय हितका निम्ति अभिभावकले चासो र चिन्ता देखाएकोमा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले धन्यवाद दिएका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यार्थीको आकर्षण बढाउन कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ । आगामी शुक्रवार कार्यक्रम गरेर अंग्रेजी कक्षाको सुरुवात गरिने जनाइएको छ ।