युएईको अल–नाह्यान वंशः जसले मरुभूमिका घुमन्ते कबिला समाजलाई विश्व शक्तिमा बदल्यो

एजेन्सी । ५० वर्ष अघि तिनको पहिचान अरबी प्रायद्वीपको मरुभूमिमा बसेको कबिला राज्यहरू एक समूहको रूपमा थियो । लगभग आधा शताब्दीपछि, पहिलेका खुला खुल्ला बजार र पालका घर रहेको स्थान गगनचुम्बी भवनहरूले भरिएका छन् ।

आज त्यहाँ अरबी प्रायद्वीपमा सबैभन्दा ठूलो कला सङ्ग्रहालय पेरिसको लुभ्र सङ्ग्रहालयको शाखा खोलिएको छ । त्यहाँ न्यूयोर्क विश्वविद्यालय तथा पेरिसको सोर्बोन विश्वविद्यालयका विभाग खुलेका छन् ।

आज त्यहाँ संसारको सबैभन्दा अग्लो भवन, सबैभन्दा भव्य होटल (सात तारे होटल), संसारको सबैभन्दा महँगो पेन्टिङ (लियोनार्डो दा भिन्चीको साल्वाटर मुन्डी ) र विश्वको सबैभन्दा ठूलो सपिङ सेन्टर छ ।

यति मात्र होइन, सो देश आफ्नै अन्तरिक्षमा अभियान सञ्चालन गर्ने विश्वका थोरै देशमा सामेल भएको छ भने समृद्ध मुलुकको जस्तै उसले कार्यालय समय घटाएर साढे चार दिन पुर्‍याइसकेको छ ।

हामी संयुक्त अरब इमिरेट्स (युएई) को कुरा गर्दैछौँ । यो मुलुक उसको तेल खानीको प्रयोग गरेर आधुनिकता र प्रविधितर्फ अगाडि बढिरहेको छ । साथमा पछिल्लो समय यो पूर्व र पश्चिम बीचको पुल बन्न थालेको छ ।

एक प्रमुख वैश्विक शक्ति

पर्सियन खाडीको किनारमा अवस्थित युएई आधा शताब्दीभन्दा कम समयमा एक प्रमुख वैश्विक शक्ति बनेको छ । यस परिवर्तनका लागि विज्ञहरु शेख खलिफा बिन जायद अल नाह्यानलाई जस दिन हिचकिचाउँदैनन् । उनको गत महिना मे २०२२ मा ७३ वर्षको उमेरमा निधन भयो ।

अबु धाबीका शासक र युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानले क्षेत्रीय विकासको बलमा आफ्नो देशलाई विश्वको नक्सामा स्थान बनाए ।

सन् २०१४ मा मस्तिष्कघात भएपछि उनले शासनको नियमित काम छाडे तर उनको उपस्थिति जताततै देखिन्थ्यो । उनको तस्बिर होटेलको लबी, सरकारी कार्यालय र पसल तथा रेस्टुरेन्टहरूमा जताततै देखिन्थ्यो ।

सरकारी कामको निरीक्षण स्वाभाविक रूपमा उनका सौतेनी भाइ मोहम्मद बिन जायद अल नाह्यानको हातमा गयो । उनी पहिलेदेखि एमिरेट्सको विदेश नीतिको नेतृत्व गर्दै आएका थिए । र शेख खलिफाको मृत्युपछि मोहम्मद बिन जायद अहिले देशको राष्ट्रपति बनेका छन् ।

शेखहरूको यो वंशले कसरी आफ्नो देशलाई मध्य पूर्वको एक कबिलायी राज्यबाट सो क्षेत्रको सबैभन्दा शक्तिशाली देशमा परिणत गर्न सफल भयो त ?

सात कसरी बन्यो युएई ?

सन् १९६० को दशकसम्म यो क्षेत्र बेलायती नियन्त्रणमा थियो । सो दशकको उत्तरार्धमा बेलायतले अरबी प्रायद्वीप छोड्ने निश्चित जस्तै भएको थियो ।

भारतमा बेलायती शासन हुँदा बेलायत र भारतबीच आउजाउ गर्ने जहाजमाथि अरबी क्षेत्रका केही लडाकु कबिलाले लुटपाट गर्थे ।

त्यसैलाई नियन्त्रण गर्न एक शताब्दी अघि बेलायतले पर्सियन खाडीसँग जोडिएको अरबीय भूभागमा नियन्त्रण बनायो । तटी क्षेत्रमा बढी उसको नियन्त्रण थियो भने बाँकी भेगमा कबिला शासन चलिरहेको थियो ।

भारत स्वतन्त्र भएपछि र अरबी क्षेत्रमा स्वतन्त्रताको माग बढ्न थालेपछि बेलायत यस क्षेत्र छोड्ने निर्णयमा पुग्यो ।

बेलायतले छाड्ने तयारी गरिरहेकै समयमा सो क्षेत्रका ६ बलियो कबिला समाजहरू दुबई, अबुधाबी, शारजाह, अजमान, उम अल क्वाइन, फुजैराहका शेखहरूले एक परिषद् गठन गरे । यो परिषद् उनीहरूबिच सीमालाई लिएर भइरहने विवाद मिलाउन गठबन्धन गरिएको थियो ।

स्पष्ट सिमाना नछुटिएका घुमन्ते समाज भएकाले उनीहरूबिच पटक पटक प्रभाव क्षेत्रलाई लिएर विवाद भइरहन्थ्यो । तर परिषद्ले विवाद मात्र मिलाएर बिस्तारै एकीकृत राज्य निर्माण प्रक्रिया सुरु गर्‍यो ।

डिसेम्बर १९७१ मा, यी ६ एमिरेट्स मिलेर नयाँ अर्ध–स्वायत्त देश संयुक्त अरब इमिरेट्स’ गठन भयो । केही महिना पछि अर्को छिमेकी एमिरेट्स रस अल खैमाह पनि उनीहरूसँग सामेल भयो । योसँगै संयुक्त अरब इमिरेट्सले आजको आकार पायो ।

७ एमिरेट्समध्ये आकार र प्रभावका हिसाबले सबैभन्दा ठूलो अबु धाबीका तत्कालीन अमिर जायद बिन सुल्तान अल–नाह्यान (खलीफा र मोहम्मदका पिता) देशको पहिलो राष्ट्रपति चुनिए ।

स्वतन्त्रताभन्दा केही अघि नै एमिरेट्समा तेल पत्ता लागिसकेको थियो र तेल विक्रीबाट आएको आयको ठूला मात्रा अर्थव्यवस्थामा खनाइयो । साथमा ती आयलाई सार्वजनिक पूर्वाधार निर्माणमा लगाउन थालियो ।

‘डिजर्ट किंगडम टु ग्लोबल पावरः द राइज अफ द अरब गल्फ’मा लेखक इतिहासकार रोरी मिलरका अनुसार अरबी मुलुकहरूले तेलको आम्दानीलाई सरोकारवालाहरूबीच बाँडफाँडको मजबुत प्रक्रिया निर्माण गरे । यसले गर्दा उनीहरूबिच द्वन्द्व हुन पाएन । परिणाम स्वरुप यो क्षेत्रले आर्थिक सफलता पायो ।

साथमा उनीहरुले तेलबाट बेचेर बचेको रकमलाई स्थिर सम्पत्तिहरू घर जग्गा, कला र स्टक रूपान्तरण गरेर पनि बुद्धिमत्तापूर्ण काम गरे ।

जेबल अली फ्री जोन

युएईका सबै सदस्य इमिरेट्समा समान रूपमा तेल उपलब्ध थिएन । यसले गर्दा धेरै तेल उत्पादन गर्ने अबुधाबी सम्पूर्ण मुलुकको विकासको सबैभन्दा ठूलो चालक बन्यो ।
अर्ध–स्वायत्त इमिरेट्स भएकाले, अलग अलग एमिरेट्सले आआफ्नै विकासका विकल्पहरु खोज्न थाले । यसले पनि तिनीहरूको अर्थतन्त्र विकासमा ठूलो भूमिका खेलेको छ ।

जस्तो केही इमिरेट्सले पर्यटनमा सफलता कमाएका छन् । अरूले विदेशी पुँजी आकर्षित गर्ने रणनीति अपनाएका छन् ।

आर्थिक विकासको विकल्प खोज्ने क्रममा दुबईले सन् १९८५ मा व्यावसायिक बन्दरगाह र व्यापारिक केन्द्र जेबेल अली फ्री जोन स्थापना ग¥यो ।

स्थापनाको लगभग ४० वर्षपछि पनि यो संसारको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्रका रूपमा रहेको छ । अझ अहिले यो धेरै गुणाले बढिसकेको छ ।

समुन्द्र, आकाश र स्थल मार्गबाट जोडिएको यस बन्दरगाहले आज युएईको अर्थतन्त्रमा ठूलो भूमिका खेलिरहेको छ । विदेशी लगानीकर्तालाई कर छुट, भन्सार शुल्क लाभ दिने भएकाले धेरै यहाँ लगानी गर्न आउँछ ।

युएईका संस्थापक जायद बिन सुल्तान अल–नाह्यानको दूरदर्शिताका कारण उनको मुलुकले २० औँ शताब्दीको अन्त्यसम्ममा विश्व नक्सामा स्थान बनाउन सक्षम भयो ।

शेख खालिफा र उनका सौतेनी भाइ मोहम्मदले तिनको पिताको सपनालाई २१ औ शताब्दीमा अघि बढाएका छन् ।

नयाँ शताब्दी – युएईको विकासका लागि शेखले के गरे ?

संयुक्त अरब इमिरेट्सका दोस्रो राष्ट्रपति खलिफाले उनको शासनकालको सबैभन्दा ठूलो चुनौती सन् २००८ मा दुबईमा आएको आर्थिक सङ्कटका रूपमा आयो ।

शेखले दुबईलाई उद्धारका लागि उसको कोषमा करोडौँ डलरको राहत कोष जारी गर्ने निर्णय लिए । पछि दुबई विश्वको सबैभन्दा अग्लो टावर बुर्ज दुबई निर्माण गर्ने स्थितिमा पुग्यो ।

जनवरी २०१० मा आधिकारिक उद्घटन भएको यो भवनलाई खलिफाको नामसँग जोडेर बुर्ज खलिफा भनिन्छ ।

समग्रमा एमिरेट्सका शासकहरुले तेल सम्पदाको प्रयोग गरेर त्यस भेगमा सांस्कृतिक र शैक्षिक केन्द्रलाई आकर्षित गर्न थाले । यसले विदेशमा तिनको छवि  बढ्यो ।

इमिरेट्सले ठूल–ठूला कम्पनी, ठूला घरजग्गा व्यवसाय, वित्तीय संस्था, ठूला ब्रान्ड र यहाँसम्म की फुटबल क्लब(जस्तै म्यानचेस्टर सिटी)मा लगानी गरिएको छ ।

एमिरेटले हालैका वर्षहरूमा पश्चिमका केही महँगो भवनको निर्माणमा पनि लगानी गरेको छ ।

अबु धाबी इन्भेस्टमेन्ट काउन्सिल विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष हो । सोभरेन वेल्थ फण्ड इन्स्टिच्युटको अनुमान अनुसार योसँग ७०० अर्ब डलर छ ।

शेख खलिफाले तेलमाथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जा अनुसन्धानमा लगानी प्रवर्द्धन गर्ने प्रयास सुरु गरेका थिए । तथापि निर्यातका लागि भने उनले तेल र ग्यासमा लगानी बढाइदिए ।

सन् १९९९ मा नेटोको समर्थनमा आफ्नो सेना कोसोभो पठाएको युएई, युरोपमा आफ्नो सेना पठाउने पहिलो आधुनिक अरबी मुलुक हो ।

युएई अहिले यमन युद्ध र लिबियाको गृह युद्धमा प्रत्यक्ष संलग्न छ । पहिलेदेखि आर्थिक शक्ति युएई अहिले यो क्षेत्रको सैन्य शक्ति गनिन थालेको छ। 

बीबीसी