लैंगिक हिंसा र बलात्कारीलाई लुकाउने समाज

धुलाबारीको पुरानो कोलोनी भएको ठाउँ अहिले बेलुका स्थानीय युवाहरुले क्रिकेट खेल्ने गर्दछन् । उनीहरु प्लटिङ गरेको पिचलाई कृच बनाएर जसोतसो जुगाड गरेर खेलिरहेका छन् । हालै सम्पन्न भएको स्थानीय निकायको निर्वाचनका लागि झापा गएका बेला बेलुका साथीहरुसँग भेट्न, गफ र छलफल गर्न निस्केको बेला म पनि क्रिकेट खेल्न पुग्थेँ ।

एकदिन क्रिकेट खेलिरहेको बेला एक १०-११ वर्षका बालक मसँग आएर गफ गर्न थाले । उनले मलाई सिधै आफ्नो विद्यालय नजिकको बस्तीमा बस्ने र आफ्नै विद्यालयमा पढ्ने उमेरले उ भन्दा सानी बालिकाकोे बलात्कार भएछ भनेर सूचना दिए । उनले कुनै प्रसंग नबनाई यस्तो सूचना दिँदा म अलमलमा परेँ ।

उनले आफै थपे सर, अस्ती तपाईंले मानवअधिकारको कक्षा लिँदा यस्तो गर्नु हुँदैन र अधिकार र न्याय पाउनुपर्छ भन्नु भएको थियो । उनी करिब दुई महिना अगाडि इस्ट होराइजन अंग्रेजी उच्च माध्यमिक विद्यालयमा मानवअधिकारका विषयमा कक्षा ६ का विद्यार्थीसग“को छलफलमा सहभागी एक विद्यार्थी थिए ।

उनले मलाई सूचना मात्र दिएका थिएनन्, यस घटना सम्बन्धी केही सवाल जवाफ र स्पष्टीकरण पनि मागिरहेका थिए । अब के हुन्छ ? के गर्दा उसले अधिकार पाउँछे ? कानुनले उसको अधिकारका संरक्षण गर्छ वा गर्दैन ?

१०-११ वर्षकी बालिकालाई पटक-पटक आफ्नै घरभित्र भएको बलात्कारले हाम्रा नानीहरु घरभित्र पनि सुरक्षित छैनन् देखाएको छ । उनको यौनांगमा आएको समस्या देखाउन डाक्टरकोमा जाँदा डाक्टरले बलात्कार भएको भने पनि बालिकाले सत्य बताइनन् ।

परिवारले उनलाई धेरै फकाएर आफूहरु उनको पक्षमा भएको आश्वासन दिएपछि मात्रै उनले मुख खोलिन् । बलात्कारीले छुरा देखाएर कसैलाई भने उनलाई र परिवारका सबै सदस्यलाई मार्ने धम्की दिने गरेका रहेछन् । यसरी एउटा बालिकाले पटक-पटक आफू बलात्कारमा पर्दा पनि परिवारलाई विश्वास गरेर भन्न नसक्नु भित्र हाम्रो समाजको कुरुप दृश्य लुकेको छ ।

हाम्रा घरका चार पर्खाल भित्र अझै घरेलु हिंसा, यौन दुव्र्यवहार, लैंगिक असमानता, असमान व्यवहार, सामाजिक बन्देजका मूल्य मान्यताहरुको निरन्तरता वा पुनः उत्पादन हुन सफल भइरहेका छन् । पितृसत्ता (पुरुष सदस्य प्रमुख) ले गाँजेको नेपालीे समाजमा महिलाले घरधन्दा मात्र गर्नुपर्छ, घर समाल्नु पर्छ भन्ने मान्यताको निरन्तरता भइरहेको छ । आधुनिकता, सहरीकरण र पुँजीवादले महिलाले पनि पुरुषसरह घरबाहिरको काममा जाने बाटो खोलिदिएको छ । तर, उनीहरु घर बाहिरको काम सकेर आएर सबै नियमित घरधन्दा पनि आफै गर्न पर्दा भने दोहोरो पेलानमा परिरहेका देखिन्छन् ।

तुलनात्मक हिसाबले आजका महिला संविधान र कानुनी रुपमा धेरै स्वतन्त्र र अधिकार सम्पन्न भए पनि सयौं बर्षदेखि धर्म, संस्कृति, भाष्य, मूल्य मान्यतामा नाममा बाँधिएका महिला घरपरिवार भित्रै अझै पूणर् स्वतन्त्र बन्न सकेका छैनन् । उनीहरुका लागि घर सुरक्षित छैनन् । समान छैनन् । बालबालिकाका लागि परिवार पहिलो विद्यालय हो । यस विद्यालयले कामका आधारमा, निणर्य प्रकृयामा, आर्थिक अधिकार प्रयोगमा, हिँड्डुल गर्ने अनुशासनमा र शिक्षा प्राप्तिमा लैंगिक असमानता व्यावहारिक रुपमा सिकाइरहेको छ ।

नेपाली समाजमा अझै श्रीमानले रिसाएको बेला वा कोही बेला गाली गर्नु, कहिले कहिले कुटपिट हुनुलाई सामान्य मानिन्छ । समाजले बुढाबुढीको झगडा परालको आगो भनेर पनि लैंगिक हिंसा र असमानताका घटनालाई सामान्य मान्छ । घर भित्रका बारेमा अन्यले चासो दिन हँुदैन भन्दै मौनताको संस्कारको अपेक्षा गरिन्छ । बाल विकासका क्रममा घरपरिवार भित्र हुने लैंगिक असमानताका आयाम र मान्यताहरुले बाल मस्तिष्कमा गहिरो छाप बनाउँछन् ।

समाजले भन्छ, महिलाले सानातिना कुरा सहन सक्नुपर्छ । यसरी सहनशील बन्ने नाममा महिलालाई आफ्नो स्वतन्त्रताको बली चढाउन पर्छ । परिवारले बालकलाई साहसी र आत्मविश्वास बनाउने रे ! बालिकालाई उनीहरुको आफ्नो सीमितता स्वीकार गर्दै संस्कारी बनाउने प्रयत्न गरिरहन्छ ।

बालबालिकाले जीवनको लामो समय विद्यालयमा बिताउँछन् । धेरै सामाजिक मूल्यमान्यता र पुरातन चिन्तनका आधारमा चल्ने परिवारमा जस्तैः शिक्षा र ज्ञानको मन्दिर मानिने विद्यालय भित्र पनि बालिका र महिला आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् ।

मेचीनगर-७ स्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई महिला शिक्षिका माथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता धेरै पुरुष शिक्षकद्वारा छात्रालाई गरिने व्याड टच, संवेदनशील अंगमा हेर्ने र विभिन्न बहानामा यौन हिंसा र दुव्र्यवहार गर्ने गरेका छन् । शिक्षकको डर, प्रलोभन तथा त्रास साथै आफ्नो र परिवारको इज्जतको ख्याल गरेर यस्ता घटनाहरु बाहिर आउन सकेका छैनन् ।

शिक्षकले भविष्यका कणर्धार र देश निर्माण गर्ने नागरिक उत्पादन गर्ने जिम्मा पाएका हुन्छन् । समतामूलक समाज बनाउने, सामाजिक विभेदको अत्य गर्ने र सृजनशील र चेतनशील नागरिक बनाउन शिक्षकको अहम् भूमिका हुन्छ ।

पाठ्यक्रममा भएका समानताका पाठ पढाउँदै व्यवहारमा छात्राहरुलाई गिद्धे नजरले हेर्ने र यौन हिंसाका दर्दनाक सिकार बनाउने शिक्षकहरुको कमि छैन । यस्ता शिक्षकहरुका व्यवहारले बालिकाहरुमा आत्मविश्वास मार्ने र आफूलाई कमजोर महसुस गर्न थालेका हुन्छन् ।

मेचीनगर नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको नगरपालिका हो । मेचीनगर सुगमताका हिसाबले, साक्षरता दरका हिसाबले, जनजीविकाका दृष्टिले पनि श्रेष्ठतम् मध्येको एक नगरपालिका मान्न सकिन्छ । तर, केही महिना भित्र महिला हिंसा र बालिका बलात्कारका घटना हेर्दा लैंगिक समानता र चेतनाका हिसाबले सुरक्षित नगर बन्न भने सकेको छैन । यस्ता यौनजन्य घटना घट्नु एउटा दुर्भाग्य हो भने घटना घटिसकेपछि पीडितले निरन्तर पाउने सामाजिक तिरस्कार र हेला अर्को दुर्भाग्य हो ।

नेपालको संविधान र कानुनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिसँग हुने कुनै पनि यौन सम्पर्कलाई बलात्कार मान्छ । तर, हाम्रो समाजमा ११ वर्षकी बालिकाको बारम्बार बलात्कार हँुदा पनि त्यो केटी नै त्यस्तै खालको हो भनेर उनको चरित्र माथि प्रश्न उठाइन्छ । समाजले पीडितलाई साथ सहयोग गरेर हिम्मत र हौसला दिनुभदा पनि गालीगलोज गर्ने र चरित्रहत्या गर्ने काम गरिन्छ ।

एकदिन एकजना महिला साथीसँग कुरा गर्दा उनले आफूलाई घर नजिकको पसलमा सामान किन्न जान अप्ठ्यारो लाग्ने बताइन् । उनलाई सामान किन्न जाँदा पसलेले गर्ने व्यवहार, हेर्ने नजर र उसको बोल्ने तरिका मन पर्दैन । यस्ता पसले जस्ता गलत नियत, नजर र व्यवहार भएका व्यक्तिहरु हाम्रा वरिपरि धेरै छन् । घर होस् वा विद्यालय, समाजमा वा सामाजिक सञ्जाल भित्र, सडक वा सदन, अफिस होस् वा श्रम क्षेत्र, सिनेमा पर्दाभित्र वा नाटकका थिएटर कुनै क्षेत्रमा महिलाले यी ठाउ“मा म सुरक्षित हुन्छु भनेर महसुस गर्न सकेका छैनन् ।

एकातिर यसरी समाजमा आपराधिक मानिएको घटनामा संलन भएका मानिसहरुलाई राजनीतिक संरक्षण र सामाजिक सहानुभूति मिल्नुले पनि अपराधीको मनोबल बढ्ने गरेको छ । अर्कोतिर केही प्रतिनिधि घटना सतहमा आउँदा समाजमा पीडितलाई अझ पीडा थप्ने भाष्य र व्यवहारले कयौं यौन हिंसा र दुव्र्यवहारमा परेका बालिका र महिलाले मुख खोल्ने आँट गर्न सकिरहेका छैनन् ।

देश गणतान्त्रिक व्यवस्थामा गएपछि कानुनी र संवैधानिक अधिकार प्राप्तिका हिसाबले नेपालमा नारीवादी आन्दोलन केही सफल देखिए पनि व्यवहारिक र समानताको चेतनका हिसाबले हेर्दा अझै नारीवादी आन्दोलन सफल बन्न सकेको छैन । घरबाटै सुरु हुने सामाजिक बन्धनलाई अझै भत्काउन नसक्दा स्वरुप बदलेर पितृसत्ता आफूलाई पुनः जीवन दिन सफल बनिरहेको देखिन्छ । शैक्षिक क्षेत्र जहा“ समानताका पाठ सिकाइन्छ, त्यहा“भित्र पनि असमान र अमानवीय मानिने यौन हिंसा, दुव्र्यवहार छद्मभेषमा फुलिरहेको देखिन्छ ।

बलात्कार र यौन दुव्र्यवहार जस्तो अपराध कर्म गर्ने व्यक्तिलाई कुनै अमुख राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले अपराधी भन्दा पनि आफ्नो पार्टीको मानिस देख्दा राजनीतिक रुपमा संरक्षण र प्रतिवादको लाभ पाउने गरेका छन् । अपराधीलाई राजनीतिक संरक्षण दिन, अपराधको ढाकछोप गर्न र उनीहरुलाई भगाउन राजनीतिक दलका नेता लाग्दा यस्ता अप्रिय घटनाका दोषीलाई कानुनी कठघरमा ल्याउन असहयोग हुने गरेको छ ।

आपराधिक मानसिकता भएका व्यक्तिको मनोवल गिराउन र कानुनी राज्यको अनुभूति नागरिकलाई दिलाउन पनि राजनीतिक दलले सहयोग गर्नुपर्छ । यस्ता अपराध र हिंसाको अन्त्य गर्दै न्यायपूणर् समाज बनाउन राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाजले व्यापक जनचेतना फैलाउने जिम्मेवारी लिन सक्नुपर्छ । हामी आफूलाई नपर्दासम्म जे हुन्छ, हुन्छ मलाई केही मतलव छैन भनेर चुप बस्ने नागरिक भन्दा पनि आफ्नो समाजलाई सभ्य र न्यायपूणर् बनाउन आवाज उठाउने नागरिक बन्न सक्नुपर्छ ।

(धुलाबारी निवासी लेखक मानवअधिकारकर्मी हुन् ।)