एन्फा चुनाव : १९/२० को भिडन्त

काठमाडौं । नेपाली फुटबल टोली कुवेतमा सम्पन्न एसियन कप छनोट प्रतियोगिता खेलेर फर्किएको छ । सामान्य अवस्था हुन्थ्यो भने त्यहाँको नतिजा अहिले चर्चाको विषय हुन्थ्यो । तर, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)अहिले चुनावमा होमिएको छ । त्यसकारण, नेपाली फुटबल चुनावमय बनेको छ ।

चर्चा चुनावकै छ । राष्ट्रिय टिमको नतिजाको होइन । नहोस पनि किन ? नेपाली फुटबलको भविष्य तय गर्न नेतृत्व गर्ने नेता चयन हुँदै छ । त्यसैले, चर्चा हुनु स्वाभाविक हो । अब चुनिने नेतृत्वले चार वर्ष नेपाली फुटबल हाँक्नेछ । र, त्यसपछिका लागि पनि दिशानिर्देश गर्नेछ ।

असार ६ गते हुने चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्व हत्याउन लागिपरेका छन् । काठमाडौंमा जिल्लाका प्रतिनिधिहरूको चहलपहल बढेको छ । मताधिकार प्राप्त व्यक्तिलाई आफूतिर तान्नका लागि हानथाप बढेको छ । मतदातालाई भेट्नु त स्वाभाविक भइहाल्यो । तर, मतदाताभन्दा बाहिरका ‘शक्तिकेन्द्र’ लाई पुज्न पनि दौडधुप उत्तिकै  छ । चुनाव आउन चार दिन बाँकी हुँदा दुवै पक्षले आफू जित्ने दाबी गरेका छन् । तर, औपचारिक कुरा गर्दा आफू जित्ने दाबी गरे पनि अनौपचारिक कुराकानीमा भने दुवै पक्ष कडा प्रतिस्पर्धा हुनेमा बताउँछन् । भन्छन्, “यसपटक १९/२० छ । जसले पनि जित्न सक्छ ।”

चुनावमा कुल मत ८४ छ । तीन जिल्लाको मताधिकार प्रतिनिधि छैनन् । सिन्धुलीको चुनावले मान्यता पाएन भने भक्तपुरले प्रतिनिधि चयन गर्न सकेन । सिरहाको निर्वाचन कमिटीले खारेज गरिदिएको छ । सिराहासँगै महिला संघ, सरस्वती क्लब र फ्रेन्ड्स क्लबको प्रतिनिधित्वलाई पनि निर्वाचन समितिले अवैध भनेको थियो । तर, पुनरावेदनले सिरहाबाहेक अन्यको मताधिकार वैध भएको घोषणा गरेको छ । कुल ८४ मतमध्ये दुवै पक्षले आफ्नो पक्षमा लगभग ५० मत रहेको दाबी गरेका छन् । जितका लागि ४३ मत आवश्यक छ ।

कहाँ कसको कति दाबी

सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूबाट १४ मत छ । १४ मध्ये शेर्पा पक्षले कम्तिमा १० मत आफूसँग रहेको दाबी गरेका छन् भने नेम्वाङ पक्षले पनि कम्तिमा ८ मत आफूसँग भएको दाबी गरेका छन् । कम्तिमा चार मतमा दुवैको दाबी छ ।

त्यस्तै, सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबहरूबाट ११ मत छ । त्यसमा पनि कर्मा पक्षको कम्तिमा ९ नभए १० मत आफूलाई आउने दाबी गर्छन् । त्यस्तै, नेम्वाङ पक्ष पनि कम्तिमा पाँच मत आफूसँग रहेको दाबी गर्छ । ‘बी’ डिभिजनमा पनि कम्तिमा चार मतमा दुवै पक्षको दाबी छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिगका क्लबहरूबाट ९ मत छ । ९ मध्ये बढीमा तीन मतसम्म आउन सक्ने आँकलन गरेको छ । उपाध्यक्षका उमेदवार दावा लामाको पकड भएका कारण ‘सी’ डिभिजनमा शतप्रतिशत मत आफूलाई आउने पंकज पक्षको दाबी छ ।

४२ जिल्लामध्ये प्रदेश–१ मा १० मत छ । अध्यक्षका उमेदवार पंकजको आफ्नो क्षेत्र भएका कारण १० मध्ये १० मत नै आफ्नो पक्षमा आउने उनीहरूको दाबी छ । तर, शेर्पा पक्षले भने १, २ मत तान्न सक्ने आंकलन गरेको छ ।
त्यस्तै, मधेस प्रदेशमा ७ मत छ । सातमध्ये ५ मतमा नेम्वाङ पक्षको दाबी छ । त्यही शेर्पा पक्षले ४ मत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
बागमती प्रदेशमा ९ मत छ । ९ मध्ये ६ मतमा नेम्वाङ पक्षको दाबी छ । बागमतीमा शेर्पा पक्षले ३ मत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । गण्डकी प्रदेशमा ६ मत छ । उपाध्यक्षका उमेदवार रत्नमान श्रेष्ठको क्षेत्र भएका कारण शेर्पा पक्षले शतप्रतिशत मत आफ्नो पक्षमा आउने दाबी गरेका छन् । त्यही नेम्वाङ पक्षले एक मत तटस्थ रहेको र त्यो मत आफ्नो पक्षमा आउने दाबी गरेको छ ।

लुम्बिनी ६ मत छ । त्यसमध्ये कर्मा पक्षले शतप्रतिशत आफ्नो पक्षमा रहेको र गडबड भए पनि कम्तिमा ५ मत आफ्नो पक्षमा आउने दाबी गरेको छ । त्यहाँ नेम्वाङ पक्षले १ मत आफ्नो पक्षमा रहेको र एक तटस्थ रहेको बताएका छन् । त्यो तटस्थ मत पनि आफ्नो पक्षमा आउने नेम्वाङ पक्षको दाबी छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा समान २ मत छ । सुदूरपश्चिममा नेम्वाङ पक्षले दुवै मत आफ्नो पक्षमा खस्ने दाबी गरेका छन् । त्यहाँ शेर्पा पक्षले एक मतको दाबी गरेको छ । त्यस्तै, कर्णालीमा दुवै पक्षले आफ्नो एक मत रहेको दाबी गरेका छन् ।
खेलाडी, महिला, प्रशिक्षक र रेफ्री संघमा एकएक गरी कुल ४ मत छ । त्यसमध्ये २ शेर्पा पक्षले समान २/२ मत रहेको बताउँछन् । नेम्वाङ पक्षले दुई आफ्नो पक्षमा एक शेर्पा पक्ष र एक स्वतन्त्र मत रहेको दाबी गर्छन् ।

एन्फा प्रेसिडेन्ट कपबाट राष्ट्रिय लिगमा छनोट भएका ४ मोफसलका क्बलबाट कुल ४ मत छ । त्यसमध्ये तीन मतमा नेम्वाङ पक्षको दाबी छ । शेर्पा पक्षले भने २ मतको दाबी गरेका छन् ।  दुवै पक्षको दाबी हेर्दा जिल्लामा लगभग दुवै पक्षको दाबी मिल्छ । तर, क्लबहरूमा भने दुवै पक्षको दाबी बढी छ ।

शेर्पा पक्षका उमेदवार

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।

सदस्यहरूमा साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रूपेश अधिकारी, फ्रेन्डसका अध्यक्ष दीपक थापा, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका रामराज गुरुङ, मकवानपुरका अध्यक्ष टिका लामा, बाँकेका प्रदेशसिंह राठौर, जुम्लाका अध्यक्ष भरत बुढ्थापा, मच्छिन्द्रका टिम व्यवस्थापक अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यञ्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा भगवती क्लबका अध्यक्ष मनीष जोशी र सिरहा प्रवीणकुमार यादवको उमेदवारी घोषणा भएको छ । महिलातर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् ।

नेम्वाङ पक्षका उमेदवार

नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले उमेदवारी दर्ता गराएका छन् ।

सदस्यमा पदमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, रौतहटका नेपाल कार्की, भोजपुर जिल्ला संघका प्रवीण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, एन्फा सदस्य विजय घले, धनुषाका तपेश्वरकुमार राउत, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरज खड्गी, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल, कैलालीका अनिल मल्ल, सुर्खेत जिल्लाका रवीन्द्र चन्द र मुखिया लामा लिलीले उमेदवारी दिएका छन् । महिला सदस्यमा विन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।