थामिएन अर्थतन्त्रको ओरालो गति

सरकार र राष्ट्र बैंकले आयातमा कडाइको प्रयास गरे पनि अर्थतन्त्र सम्हालिने संकेत देखिएन, सबैजसो सूचक नकारात्मक

काठमाडौँ । अर्थतन्त्रका बाह्य सूचकमा दबाब परेपछि सरकार र राष्ट्र बैंकले आयातमा कडाइको प्रयास गरे पनि अर्थतन्त्र सम्हालिने संकेत देखिएको छैन । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) को वित्तीय विवरणले सबैजसो सूचकको ओरालो यात्रा यथावत् देखाएको छ  ।

मुलुकको विदेशी मुद्रा सञ्चिति वैशाखमा थप २१ अर्ब ४ करोड रुपैयाँले घटेको छ । वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो । ०७८ असार मसान्तमा भने १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो । १० महिनामै यस्तो सञ्चिति १८ प्रतिशतले कमी आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति झन् धेरै घटेको छ । ०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकामा ०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड डलर कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ । पछिल्लो आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ६ दशमलव ५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति) को घाटा पनि वैशाख महिनामा मात्रै २० अर्ब २४ करोड थपिएको छ । साउनदेखि वैशाख मसान्तसम्म २ खर्ब ८८ अर्ब ५० करोडले भुक्तानी सन्तुलन घाटामा छ । चैतसम्म यस्तो घाटा २ खर्ब ६८ अर्ब २६ करोड थियो । अघिल्लो वर्ष वैशाख मसान्तसम्म यस्तो शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति घाटामा जान्छ । १० महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोड घाटामा थियो । मुलुकको १० महिनाको व्यापार घाटा संशोधित बजेटको हाराहारी पुगेको छ । यस अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको छ । संशोधित चालु आर्थिक वर्षको बजेट आकार १४ खर्ब ४७ अर्ब हो ।

वैशाखमा मात्रै मुलुकको व्यापार घाटा १ खर्ब २५ अर्ब २१ करोड थपिएको छ । आयातमा गरिएको कडाइले वैशाखमा व्यापार घाटा अघिल्ला महिनाको तुलनामा केही सम्हालिएको देखिन्छ । तर समग्रमा १० महिनाको समीक्षा अवधिमा यस्तो व्यापार घाटा २५ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म कुल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात भएकामा मुलुकबाट भने १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँको सामान निर्यात भएको छ । अर्थतन्त्र धानिरहेको रेमिट्यान्स भने वैशाखमा घटेको छ । चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको रेमिट्यान्स वैशाखमा ८७ अर्ब ५ करोडमा खुम्चियो । साउनदेखि वैशाखम मसान्तसम्म कुल ८ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत वर्षको यसै अवधिको तुलनामा ०.२ प्रतिशत बढी देखिए पनि डलरमा भने १.६ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १९.२ प्रतिशत बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या भने अहिले उल्लेख्य बढेको छ । साउनदेखि वैशाख

मसान्तसम्म अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ७८ हजार २९८ छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ लाख ३० हजार ४६६ पुगेको छ ।

अर्थतन्त्रका बाह्य सूचक संकटोन्मुख देखिएका बेला महँगी उकालो लागिरहेको छ । वैशाखमा मूल्य वृद्धि (महँगी) करिब ८ प्रतिशत पुगेको छ । वैशाखमा बिन्दुगत उपभोक्ता मूल्य वृद्धि ७.८७ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि जम्मा ३.६५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१३ प्रतिशत तथा सेवा समूहको ८.४५ प्रतिशत छ । खाद्य समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको मूल्य वृद्धि सबैभन्दा उच्च २४.८६ प्रतिशत छ ।