गठबन्धनले हिंसा भड्काएको ओलीको आरोप, कब्जा गरिएका ठाउँमा पुन:मतदान गर्न माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मतदान केन्द्रमा सत्ताको दुरुपयोग गरेर हिंसा भड्काउने काम भएको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गरेको आरोप लगाएका हुन् ।

भयरहित र धाँधलीरहित वातावरणमा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आफ्नो सिंगो पार्टी र र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भएको दाबी गर्दै ओलीले तर लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भएको आरोप लगाएका हुन् ।

हिंसा भएका स्थानमा गृह प्रशासन अस्वभाविक रूपमा असन्तुलित देखिएको ओलीको आरोप छ । बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजिएको, केही पालिकाका प्रमुखका उम्मेदवारहरूलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्‍याइएको ओलीले आरोप लगाएका छन् ।

‘प्रकृतिका घटना दर्जनौ स्थानमा भएका छन् । स्वतन्त्र निर्वाचनविरूद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख व्यक्त गर्दछु,’ ओलीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यी स्थानमा पुन: मतदान गर्न ओलीले निर्वाचन आयोगसँग माग गरेका छन् । ‘स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा भनिएको छ ।

ओलीले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेलेकोमा निर्वाचन आयोगको नेतृत्व र परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

ओलीले मतदानमा सहभागी हुने आम मतदातालाई पनि धन्यवाद ज्ञापन गरेका छन् । ‘मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानको लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।