मत दिन स्वस्तिक किन ?

नियमित निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो । नागरिकले आफूमा निहित सार्वभौम अधिकारलाई राम्ररी बुझेर, सोचेर–सम्झेर उम्मेदवार प्रतिनिधिहरूमध्येबाट असल रोजेर मात्र प्रयोग गर्न दिन्छन् भन्ने मान्यतामा लोकतान्त्रिक प्रणालीको जग बसेको हो । आवधिक निर्वाचनमा स्वस्तिक छाप प्रयोग गरी आफ्नो मत दिएर यो अधिकार हस्तान्तरित गरिन्छ ।

हामीले आगामी वैशाख ३० गते स्थानीय तहको चुनावमा मतदान गर्दै छौं । त्यस दिन मतदान केन्द्रमा गएर आफूलाई मन पर्ने व्यक्ति वा पार्टीको चिह्ननजिकै स्वस्तिक छाप अंकित गर्नेछौं । निर्वाचनमा स्वस्तिक किन प्रयोग गरिएको होला ? क्रस अथवा टिक मार्क पनि प्रयोग गर्न सकिन्थ्यो होला, आफ्नो सार्वभौम अधिकार स्वस्तिकमार्फत किन प्रदान गरिन्छ ?

स्वस्तिक संस्कृत शब्द हो । ‘सु’ (राम्रो वा असल), ‘अस्ति’ (हुनु) र ‘क’ लाई जोडेपछि ‘स्वस्तिक’ नाम बन्छ अनि यसको पूर्ण अर्थ हुन्छ- शुद्ध र भाग्यमानी हुनु । स्वस्तिक प्राचीन वैदिक परम्परादेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । मध्यएसियामा यसको प्रयोग धेरै सभ्यताले गरेका छन् । ज्योतिषीय चिह्नसमेत रहेको स्वस्तिकका चार कुनाले चार दिशा र चार मानवीय गुण धर्म, अर्थ, काम र मोक्षबारे बोध गराउँछन् ।

स्वस्तिकले बुद्ध धर्ममा अनश्वर वा कहिले नमर्नेतर्फ इंगित गर्छ । जैन धर्म मान्नेहरू कुनै नयाँ कामको सुरुआत स्वस्तिक बनाएर गर्छन् । स्वस्तिकका चार हातले स्वर्ग, नर्क, मनुष्य र त्रियंच (सिद्धिप्राप्तिपूर्वको अवस्था) जनाउने मान्छन्, जैनीहरू । यस्तै विशेषता र मान्यता भएकाले स्वस्तिकलाई निर्वाचनजस्तो पवित्र कार्यमा प्रयोग गरिएको हुनुपर्छ । निर्वाचनले देशमा सौभाग्य सृजना गर्नेछ, समृद्धि ल्याउनेछ र सबै नागरिकले चाहेजस्तो शुद्ध समाज निर्माण गर्न योगदान गर्नेछ भन्ने सोचसाथ यो चिह्न नागरिकले आफ्ना प्रतिनिधि छान्न प्रयोग गरेको हुनुपर्छ । लोकतन्त्रका चार स्तम्भ व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र स्वतन्त्र प्रेस सञ्चालन गर्ने प्रतिनिधिहरू चयन गर्दा शुद्धता आओस् भन्ने प्रतीकात्मकता पनि यसमा छ ।

बीसौं शताब्दीसम्म स्वस्तिकलाई सबैतिर एउटा सात्त्विक चिह्न मानिन्थ्यो । तर बीसौं शताब्दीको प्रारम्भतिर जर्मनीमा यसलाई उच्च आर्य जातिको प्रतीकका रूपमा प्रयोग गरियो र तत्कालीन जर्मन शासकले आफ्नो नाजी पार्टीको प्रतीक बनाए । हिटलरले आफ्नो झन्डाको अर्थबारे भनेका थिए, ‘रातो रङमा हामीले आन्दोलन, सेतोमा राष्ट्रियता र स्वस्तिकमा आर्यहरूको विजयका लागि संघर्ष देख्छौं ।’ पछि विश्वयुद्धमा नाजीको कृकृत्यले गर्दा यस चिह्नबारे विश्वभर नकारात्मक संदेश फैलियो । जर्मनीमा यसलाई अहिले पनि प्रयोग गर्न अदृश्य रोक नै छ । अमेरिकाले समेत स्वस्तिकलाई त्यति जाति नमानेको पढ्न–सुन्न पाइन्छ ।

वैदिक रूपमा स्वस्तिकका चारवटै भागका बीचमा थोप्लो पनि प्रयोग गर्ने गरिन्छ भने नाजीको स्वस्तिकमा त्यस्तो छैन । वैदिक धर्मावलम्बी समुदाय खास गरी हिन्दु, बुद्धमार्गी र जैनहरूको दैनिक जीवनमा स्वस्तिकको प्रयोग दैविक शक्तिको आह्वानका लागि गर्ने गरिन्छ । विभिन्न चित्र, मूर्ति, मन्दिर, रंगोली कला आदिमा यो देखिन्छ । वैदिक यज्ञ तथा पूजा गर्नमा त अनिवार्य नै स्वस्तिक चिह्न अंकित गर्नुपर्ने हुन्छ । गणेशको पूजा र धनकी देवीको आराधनामा स्वस्तिकको विशेष स्थान हुने गर्छ । स्वस्तिक घडीको दिशामा फर्केको सुल्टो र त्यसको विपरीत उल्टो दुवै रूपमा देखिन्छ । सुल्टो समृद्धि र भाग्यको प्रतीक मानिन्छ भने उल्टोतर्फ फर्केकाले तान्त्रिक अर्थ राख्छ । पश्चिमा जगत्मा स्वस्तिकलाई नाजीले प्रयोग गरेपछि नराम्रो प्रतीकका रूपमा लिन थालिए पनि यो शताब्दियौंदेखि नै असल र शुभ कार्यको द्योतक रहिआएको पाइन्छ ।

अहिले लोकतान्त्रिक प्रक्रियामा बहुमत प्रणाली हामीले अपनाएका छौं । तर यस प्रणालीमा बहुमतको परिभाषा ज्यादै साँघुरो छ । कुल जनसंख्यामा विदेश गएका दसौं लाख नेपाली युवायुवतीको मत गन्तीमा आउँदैन । चुनावमा उठेका उम्मेदवारहरू जे–जस्ता भए पनि तिनैमध्येबाट मात्र छान्ने हो, ‘उठेका कसैलाई पनि मत दिन्नँ’ भन्ने विकल्प ग्रहण पनि हुन सकेन । मतदान नागरिकको स्वैच्छिक कार्य देखिए पनि अपनाइएको प्रणालीको पछि–पछि लाग्नुपर्ने बाध्यता छ । मत दिए पनि, नदिए पनि एक जनाले पक्कै जित्छ । जित्ने उम्मेदवारले प्रतिस्पर्धामा रहेको अर्को उम्मेदवारभन्दा एक मत बढी ल्याए पनि जित्छÙ अरू उम्मेदवारले ल्याएको मत रद्दी बन्छ, निस्तेज बन्छ । अनि जितेकामध्येबाट पनि बहुमत अर्थात् ५१ प्रतिशतले गर्ने निर्णय सरकारी निर्णय बन्छ । यसरी भन्नलाई बहुमतीय भनिए पनि प्रणालीगत कारणले गर्दा अल्पमतले सार्वजनिक विषयहरूमा निर्णय गर्ने अवसर पाउँछ ।

यति हुँदाहुँदै पनि हाम्रो देशमा प्रयोग भइरहेको लोकतान्त्रिक प्रणालीको विकल्पमा योभन्दा राम्रो हामीले ग्रहण गर्न सक्ने प्रणाली छैन । तसर्थ, निर्वाचनमा प्रयोग हुने प्रत्येक बालिग मतले उठेकाहरूमध्ये सबैभन्दा कम खराबलाई चयन गर्ने सुनिश्चित गर्न सक्नुपर्छ । स्वस्तिक चिह्नको सही र सचेत प्रयोगले यो सम्भव हुनेछ । स्वस्तिक चिह्नको प्रयोग हामीले सदैव आफ्ना जीवनका असल र पवित्र कार्यहरूको प्रारम्भमा गर्ने गरेका छौं, निर्वाचनमा पनि गरौं । सही व्यक्तिलाई मत दिएर सभ्य समाज निर्माण गरौं । कान्तिपुर