मेची किनारका चार चुनावी दृश्य

‘दूरदर्शी छन् हाम्रा स्थानीय दल र नेता ! अलिअलि भएका प्राकृतिक स्रोत जम्मै बेचेर खाएपछि हावा अशुद्ध हुन्छ; पानी सुक्छ; प्रदूषण बढ्छ अनि मान्छेका मुटु, फोक्सो र मृगौला बिग्रन्छन् । त्यसैले त हो नि घोषणापत्रमा मस्तिष्काघात, मृगौला रोग सबैको उपचार गर्न कोष खडा गर्ने भनेको !’

‍ — दृश्य एक
सबेरै पूर्वी क्षितिजमा घामका पहेंला धर्सा पोतिन थालेसँगै काँकरभिट्टाबाट उत्तरतर्फ मेची खोलाको किनारैकिनार करिब तीन किलोमिटर हिँड्दा रूख, बाँसघारी र हरिया चौर देखिए । अलि पर भारतपट्टिको जंगलमा ठोक्किनुअघि आँखा मौनप्राय : भई सुस्तरी बगेको मेची खोलामा परे । बीचमा मन्दिर, घर र साना पसलमा मान्छेका कल्याङकुलुङ सुरु भइसके पनि विभिन्न चराचुरुंगीका चिरबिर सुनिए । स्थानीय फोटोग्राफर देवेन्द्र खरेलले काँकरभिट्टावरपर घुमेर परीपरीका चराका तस्बिर खिच्न भ्याएका त्यसै होइनन् !

करिब तीन किलोमिटरसम्म पैदल हिँड्दा देखिएका दृश्य, सुनिएका आवाज, स्पर्श गर्न आइपुगेको सिरसिर बतास सबै सुन्दर थिए । अनुभूतिको यो माधुर्य धेरै बेर भने टिक्न सकेन । हिँड्दाहिँड्दै हठात् अवरोध सृजना गर्न खोजेझैं, कोपिला फुटेर भर्खरै निस्केको गुराँस हेर्दाहेर्दै परक्क निमोठेर कुल्चेझैं मेची किनारमै केही फुस्रा ढिस्काहरू फुत्त देखा परे । ती चुरेका साना थुम्का थिएनन्, प्राकृतिक रूपले नै बनेका कलिला ढिस्का पनि थिएनन् ती । सम्भवत : केही दिनअघि मेची बगर खनेर निकालेको बालुवाका पहाड थिए ती । आगामी केही दिनमा ती सबै नोटका बिटामा परिणत हुनेछन् ।

असुन्दर अवरोध छिचोलेर अघि बढ्न मन भएन, त्यही बाटो फर्कंदा देखिएका र सुनिएका आवाजले उँभो जाँदाको छोटो र मीठो स्मृतिलाई फेरि कोपरिदिए । दुई यामानका टिपर हतारमा दौडँदै थिए । ‘खबरदार, यो बाटो हिँड्लास !’ भनेर परैबाट धोद्रो स्वरमा थर्काएझैं गर्दै ती वरवर आए । यी ठूला फलामे गाडीको भयंकर रूप आफैंमा कर्कश धम्कीझैं लाग्छ, भुइँका जीव कुल्चँदै र मार्दै हिँड्ने यिनका क्रूर लबस्तर्‍याइँ भयका स्रोत हुन् । अघि देखिएका बालुवाका ढिस्का आफ्ना ढाडमा उठाउन हिँडेका थिए ती ।

टिपर उकालो लागेर अदृश्य भएपछि स्थानीय निर्वाचनमा भिडेका सबै उम्मेदवारका अनुहार एकएक गर्दै सम्झें । के ती उम्मेदवारलाई बगरदोहनबाट बनेका बालुवाका ढिस्का सुन्दर लाग्छन् ? के यो बालुवाको प्रत्येक कणलाई तिनले कमिसनको स्रोत देख्छन् ? के तिनलाई हरिया रूख, चौर, सुस्तरी बगेको खोलो र चराचुरुंगीको आवाज मन पर्दैन ? निर्वाचनमा उम्मेदवारका रूपमा सहभागी हुँदै गर्दा के तिनले यी दृश्यहरू सम्झे ? के यी दृश्यले गर्ने संकेतबारे तिनले आफ्ना नेता, साथी, कार्यकर्तासँग बात मारे ? खोलो, रूख, चरा जोगाए मात्रै मान्छे र मतदाता जोगिनेछन् भनी तिनले महसुस गरे ?

दलतन्त्रको जालोबाट केही दूरीमा बस्न खोजिरहेका एक स्थानीय शिक्षकले यस्तो दृश्यबारे सुनिसकेपछि भने, ‘दूरदर्शी छन् हाम्रा स्थानीय दल र नेता ! अलिअलि भएका प्राकृतिक स्रोत जम्मै बेचेर खाएपछि हावा अशुद्ध हुन्छ; पानी सुक्छ; प्रदूषण बढ्छ अनि मान्छेका मुटु, फोक्सो र मृगौला बिग्रन्छन्; त्यसैले त हो नि घोषणापत्रमा मस्तिष्काघात, मृगौला रोग सबैको उपचार गर्न कोष खडा गर्ने भनेको !’ दलतन्त्रका पार्टपुर्जा बनेका कार्यकर्तासँग यी शिक्षकको व्यंग्य बुझ्ने सामर्थ्य कति होला ?

दृश्य दुई
बजारमा खुलेका चार अत्याधुनिक कफीसपमध्ये एक । प्राय : चालीस नकटेका तन्नेरीहरू बसेर भिन्न स्वाद, मात्रा र प्रकारका कफी पिउँदै गफिइरहेका । गफको मुख्य विषय स्थानीय निर्वाचन । सबैभन्दा नजिकको र प्रचुर अधिकारसहितको सरकार चुन्ने प्रक्रिया गफको विषय बन्नु सामान्य मात्रै होइन, जरुरी पनि हो । मुख्य विषय भने नगरको सबैभन्दा चलायमान वडामा अध्यक्षका एक प्रत्याशीको गतिविधि थियो ।

अमेरिकानो सिंगल सट : ती दाजु त बिहान अँध्यारैमा दुइटा केटा लिएर घरबाट निस्कन थालेछन् । केटाहरू झोला बोकिदिने । झोलामा चैं ८–१० गड्डी हुन्छन् अरे !

क्यापुचिनो : कतिको हौ गड्डी चैं ? एकलाखे गड्डी ? आम्मामा !

अमेरिकानो डबल सट : बेलुका फर्किंदा कहिलेकाहीँ एउटाजति बाँकी हुन्छ रे

गड्डी ! कहिले चैं पूरै सकेर मात्रै फर्किन्छन् भन्थे साथीहरू । एउटा केटो त भर्खरै उनको पार्टीमा आएको हो, एक महिनापहिलेसम्म अर्कै पार्टीमा थियो ।

क्याफे लाट्टे : कहाँ लगेर कसलाई दिन्छन् हौ त्यत्रो पैसा ? यसै घरघरै गएर बाँड्ने त होइन होला ! त्यसो हुँदो हो त हाम्रोमा पनि आइपुग्नुपर्ने, उनकै वडाको मान्छे हुँ म !

अमेरिकानो सिंगल सट : अस्ति भर्खरै एउटा क्लब खोलेका थिए केटाहरूले, दर्ता पनि भएको छैन होला, त्यसमा पनि १ लाख दियो भन्दै थिए मलाई । पैसा त त्यस्तैमा बाँड्ने हो ।

मिन्ट लेमोनेड : मन्दिर र टोलटोलको भजन टोलीलाई पनि हार्मोनीयम, झ्याम्टा, मादल केके किन्न पैसा दिन्छन् रे ! यस्तो कुरा पहिलाको चुनावमा पनि सुनेको हो ।

एसप्रेसो : अनि दिनैपिच्छे ८–१० लाख गरेर बीस दिनजति बाँड्दा करोडौं सकिन्छ त यार ! वडाध्यक्षकै लागि त्यत्रो ? कहाँबाट ल्याउँछन् पैसा चैं ?

डोपियो : दुई वर्षअघिदेखिकै प्लान थियो रे ! पैसा जम्मा गरेको छु, म खर्च गर्न सक्छु भनेरै टिकट पाएको भन्थे हाम्रो काका । काका पनि पार्टीकै मान्छे हुन् नि त !

अमेरिकानो डबल सट : फेरि अर्को पार्टीले चैं दस जनाजति केटा खटाएको रैछ । त्यही दाजुको पछिपछि हिँड्ने, उसकै पैसाले सधैं फाक्सा र रक्सी खाने ! मोज छ तिनेर्को !

डोपियो : त्यो हाम्रो अर्को अंकलले चैं टिकट पाएनछ यसपालि । नत्र त्यसको २ करोड हिँडिहाल्थ्यो नि ! तर के छ र, तिनटा धनीपुर्जा त हो, जितिहाल्थ्यो अंकलले !

मिन्ट लेमोनेड : टन्नै छ भिट्टा त्यो ब्रोको ?

डोपियो : ह्या मूला, त्यसको त धनीपुर्जाको लाइब्रेरी नै छ घरमा !

दृश्य तीन
नेपालको संविधान–२०७२ अन्तर्गत बनेको नयाँ संघीय संरचनाको स्थानीय सरकारको एक कार्यकाल अनुभव कस्तो रह्यो मेचीनगरमा ? स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले तय गरिदिएका कर्तव्य र अधिकारका कसीमा हेर्दा मेचीनगरको समग्र काम कस्तो देखियो ? स्थानीय अनुभवका आधारमा स्वयं ऐनकै सीमाहरू पनि देखिए कि ? अन्य पालिकाका तुलनामा यसका विशिष्टताहरू केके रहे ? भारतसँगको नाका भएकै कारण पछिल्ला पाँच वर्षमा कुनै विशेष समस्या झेल्नुपरेको थियो वा नयाँ सम्भावना पहिल्याउन सफल भयो कि मेचीनगर सरकार ?

यी सबै प्रश्नको सम्यक् उत्तर खोज्ने ठाउँ स्थानीय अखबार हुनुपर्ने हो । पछिल्ला पाँच वर्षको गतिलो समीक्षासहितको रिपोर्टिङ खोज्दै मेचीनगरबाट प्रकाशित हुने केही अनलाइन र छापा पत्रिका हेरियो । निर्वाचन आउन केही साता बाँकी थियो, त्यसैले अघिल्लो महिनादेखिकै पत्रिका हेर्दा यस विषयमा कुनै गहकिला सामग्री फेला परेनन् । सम्पर्कमा भएका स्थानीय पत्रकारसँग चासो राख्दासमेत त्यस्ता सामग्री प्रकाशन भएको सुइँको पाउन गाह्रो भयो ।

सबै नहोलान् तर प्राय : स्थानीय सञ्चारमाध्यम दल वा गुटका पुर्जा मात्र हुन् । त्यसैले तिनले गहकिला रिपोर्टिङमार्फत मिहिन ढंगले स्थानीय सरकारको समीक्षा गरेनन् । स्थानीय अखबारका पत्रकारलाई सोध्नुभन्दा, दलकै नेता वा पालिकामा बसेर काम गरेका मान्छेसँग जिज्ञासा राख्दा बढी सम्यक् चित्र आउन सक्छ । पत्रकारको भेषमा खटिएको नेताविशेषको हल्कारालाई आफ्ना मालिक जोगाउनुपर्ने अतिरिक्त बोझ हुन्छ । उसले नेता जोगाउन अर्धसत्य र असत्यले मोहोरेर आफ्ना कथालाई नेताअनुकूल बनाउँछ ।

पालिकामा बसेर काम गरेका एक अनुभवी नेतासँगको जिज्ञासामा पाएको सोझो, सपाट र छोटो उत्तर भने यस्तो थियो, ‘सामाजिक विकास समिति भनौं वा लेखा समिति, एक–दुई जनप्रतिनिधिबाहेक अरू सबैको ध्यान आफूले पाएको जिम्मेवारी अनुसारका समितिमा होइन, ठेक्कापट्टा र गिट्टी–बालुवाको कमिसनमा थियो । पाँच वर्षभरि आफ्नै गोजीको हिसाबकिताब मात्रै गरिरहे ।’ त्यसो त कुनै चलाख कर्मचारीले भोली आफैं उम्मेदवार लड्न सक्ने गरी पैसा जम्मा गरिसकेको अपुष्ट दाबी स्वयं पालिकामा बसेर काम गर्नेहरू नै गर्छन् ।

दृश्य चार
नगरको एउटा वडामा सीमान्तकृत समुदायका मान्छे अध्यक्षको उम्मेदवार बने । अरू सबै वडाध्यक्ष र सदस्यहरूको तामझामसहित चुनाव प्रचार सुरु भयो । बाइकका ताँती देखिए, जुलुसमा मान्छे दिन–प्रतिदिन बढ्न थाले । फेसबुकमा फोटो र चुनाव चिह्नसहितका प्रचार सामग्री फैलन थाले । नाचेका र गाएका, भाषण गरेका र कर जोरी ‘भिक्षां देहि’ भाकामा भोट मागेका भिडियो पनि सार्वजनिक भए । यी गैरखसभाषी वडाध्यक्ष प्रत्याशीको भने चालचुल केही देखिएन ।

यसै त उनी सीमान्तका मान्छे, तल्लो वर्गका, त्यसमाथि पार्टी पनि गरिब । पार्टीको आयतन ठूलो नभएकाले, पार्टीका स्थानीय नेतासँग पनि कुस्त पैसा नभएकाले र आँफै अग्रसर भएर जोसुकैसँग पैसा माग्न नसकेकाले उनीसँग चुनाव लड्न आवश्यक पैसा भएन । न प्रशस्त झन्डा किन्न सके, न बाइकमा इन्धन हालिदिन, न समोसा र चिया खुवाउन, मान्छे पनि उनीसँग त्यति जुट्न सकेनन् । घरदैलो चहारेर नमस्कार गरिहिँड्न पनि उनलाई प्रशस्त स्रोत भएन । उनको पार्टीका एक युवा नेताले जिब्रो नचपाई भने, ‘हाम्रो त बिजोग छ । अलिअलि आफैंले दिन सकिने पैसा दिइयो, उठाउने कोसिस पनि गरियो, कसैले दिँदैन । भएको पैसा सकियो अनि उम्मेदवारसँगै भाग्नुपर्ने भयो । पैसा नहुनेले नउठे पनि हुने रहेछ । उम्मेदवार भएको पनि कसैले थाहा नपाउने रहेछन् ।’

अन्तमा, यी चार दृश्य हाम्रो सामाजिक गरिबीका चित्र हुन् । लोकतन्त्र उन्नत बन्न नसकेको, आमवृत्त साँघुरो भएको, राजनीतिक नेता–कार्यकर्ता अलोकतान्त्रिक दलतन्त्रका सामान्य पुर्जा मात्र भएको, र समग्र राजनीतिले अर्थ गुमाउन थालेको बुझ्न यी दृश्य सहयोगी होलान् । कान्तिपुर