अग्निपीडितलाई माओवादी केन्द्रको सहयोग

मेचीनगर । आगो निभाउने क्रममा ज्यान गुमाएका मेचीनगर-८ का सरद राजबंशीको परिवारलाई नेकपा माओवादी केन्द्र मेचीनगरले सहयोग जुटाएको छ ।

१२ औँ पुन्य तिथिमा राजवंशी समाज विकास समिति झापाको पहलमा माओवादी केन्द्रले नगद ८ हजार ५ सय र खाद्यान्न सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

सोही क्रममा राजवंशी समाज विकास समितिले नगद ७ हजार ५ सय रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरेको राजवंशी समाज विकास समितिका सचिव मुनिलाल राजवंशीले जानकारी दिए ।

मेचीनगर-७ पिपलचोकस्थित केशव पाठकको घरमा गत पुस २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका सरद राजवंशीको सिलिन्डर ग्यास पड्किएर मृत्यु भएको थियो ।

आर्थिक अवस्था कमजोर रहेका मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ । त्यस क्रममा माओवादी केन्द्र मेचीगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए ।

पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवंशी समाज विकास समितिले जोडदार माग गरेको सचिव मुनिलाल राजवंशीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा उत्तम राजवंशी, नन्दलाल राजवंशी, मेचीनगर समितिका सल्लाहकार सदस्य हिरामोहन राजवंशी, नगर समितिका सचिव सुकलाल राजवंशी, कोषाध्यक्ष मीना राजवंशी, मेचीनगर वडा नं. १४ का अध्यक्ष सुशील राजवंशी, मेचीनगरका इन्जिनियर प्रदिप राजवंशी, ओभरसियर सुजित राजवंशी लगायतको उपस्थिति रहेको थियो ।