अफगानिस्तानमा भुकम्प, २६ को मृत्यु दर्जनौं घाइते

एजेन्सी । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि २६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन् ।

अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन् । दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु थियो ।

मापन केन्द्रका अनुसार २ घन्टाको अन्तरमा दुई पटक भूकम्प गएको थियो। दोस्रो पटक ४.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
बडघिस प्रान्तका संस्कृति एवं सूचना विभाग प्रमुख बास मोहम्मद सरवरीका अनुसार भुकम्पका कारण सयौं घर ढलेका छन् । प्रान्तको दक्षिणी भागमा रहेको क्वादिस जिल्लामा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ ।

बडघिसका गभर्नर मोहम्मद सालेहले क्वादिस जिल्लाका केही व्यक्तिले घरको छत खसेर ज्यान गुमाएको जानकारी दिए ।

पेशावर, मानशेरा, बालाकोट र चारसादासहित खैबर-पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

अफगानिस्तान बारम्बार भूकम्पको चपेटामा पर्दै आइरहेको छ। सन् २०१५ मा ७.५ रेक्टरको भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए ।