माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । विराटनगरस्थित प्रदेश-१ को कार्यालयमा  एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन् ।

माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन् ।

माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए । उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी भएका थिए ।

नौ जना पदाधिकारीका लागि गत पुस ७ गते निर्वाचन भएको थियो । माओवादी केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मंसिर २५ र २६ गते सम्पन्न गरेको थियो । उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य मतदानमा सहभागी भएका थिए ।