सावधानी अपनाऔं

।। सम्पादकीय ।।

कोरोना संक्रमणको जोखिम फेरि बढिरहेको छ । विगतमा संक्रमण कसलाई हुनसक्छ भन्ने आशंका गर्न सकिने अवस्था थियो । त्यही आधारमा सावधानी अपनाएर परीक्षण हुन्थ्यो । तर, हिजोआज अवस्था सजिलो छैन र अर्थात कोरोना संक्रमण समुदायमा पुगेको छ । समुदायमा संक्रमण फैलिएका कारण कसलाई संक्रमण छ वा कसबाट संक्रमण फैलिन सक्छ भन्ने अनुमान लगाउन कठिन छ ।

सार्वजनिक यातायात क्षेत्रमा संक्रमणको जोखिम अधिक हुन्छ । सिमानाबाट यात्रु बोक्ने कामले कोरोना सर्ने जोखिम कायमै छ । यसले पनि कोरोना भित्रिने र फैलिनेको जोखिम बढेको हो । यस्तै, सार्वजनिक गाडीमा यात्रु राख्दा त्यसमा धेरै यात्रु हुने नै भए । सँगै यात्रा गर्दा संक्रमित पनि हुने विषयलाई नकार्न सकिन्न । यसकारण कामको सिलसिलामा सार्वजनिक गाडीमा सवार गर्दा यात्रु स्वयम्ले पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्ने हुन्छ ।

कोरोनाले विश्व नै थला परेको छ । यसको रोकथाम र नियन्त्रण कसैको एक्लो प्रयासले मात्र सम्भव छैन । अर्थात यो मानव समुदायकै चुनौती बनेको छ । यसकारण पनि संक्रमणबाट जोगिन सबैको साझा प्रयास आवश्यक छ । आफूमा संक्रमण भएको खण्डमा पनि यस्ता सावधानी अपनाउँदा अरुलाई संक्रमण हुनबाट बचाउन सकिन्छ । यसैले पनि सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रु, सवारी चालक र सहचालकले विशेष ध्यान दिन जरुरी छ ।