बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा

एजेन्सी । चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो ।

साउदी अरेबियास्थित किंग फवाद स्टेडियममा भएको खेलमा रियल म्याड्रिडले खेलमा निरन्तर अग्रता बनाएको थियो । खेलको २५ औं मिनेटमा भिनियस जुनियरको गोलमार्फत रियले अग्रता बनयो। जुनियरले करिम बेन्जमाको पासलाई सदुपयोग गर्दै टिमका लागि गोलको खाता खोलेका थिए । तर‚ बार्सिलोनालाई पहिलो हाफमै खेलमा फर्काउने क्रममा डि जोङले ४१ औं मिनेटमा बराबरी गोल गरे ।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा पुनः रियलले अग्रता लियो । करिम बेन्जमाले ७२ औं मिनेटमा पुनः रियललाई अग्रता दिलाए । उक्त अग्रता पनि अन्सु फातिले ८३ औं मिनेटमा गोल गर्दै खेल पुनः बराबरीमा ल्याए ।

निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ फेडेरिको भाल्भरडेले ९८ औं मिनेटमा टिमका लागि निर्णायक गोल गर्दै टिमलाई फाइलमा पुर्‍याए ।

अब दोस्रो सेमिफाइनलमा एट्लेटीको म्याड्रिड र एट्लेटिको बिलबाओबीच बिहीबार हुने दोस्रो सेमिफाइनलले फाइनल पुग्ने दोस्रो टिमको तय हुँदै छ । रियादमा आइतबार उपाधि भिडन्तमा प्रतिस्पर्धा हुने छ ।