दुर्घटना न्यूनीकरण गर्न अनेरास्ववियूले बनायो जेब्रा क्रसिङ

विश्वास दाहाल ।

काँकरभिट्टा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर काँकरभिट्टा सडकखण्डमा जेब्रा क्रसिङ बनाइएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एकीकृत समाजवादी) काँकरभिट्टा बहुमुखी क्याम्पसले जेब्रा क्रसिङ निर्माण गरेको हो । मेचीनगर-६ काँकरभिट्टास्थित एसियन हाइवे र बाहुनडाँगी रोडमा जेब्रा क्रसिङ बनाइएको हो ।

बालबालिकालाई विद्यालय आउने-जाने क्रममा राजमार्गमा जेब्रा क्रसिङ नहुँदा बाटो काट्न समस्या हुने गरेको साथै अन्य पैदलयात्रुलाई समेत बाटो वारपार गर्न समस्या भएकाले आफूहरुले मुख्य स्थानमा जेब्रा क्रसिङ बनाउन लागि परेको आयोजक तथा अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पस अध्यक्ष विनम सरदारले बताए ।

‘जेब्रा क्रसिङ नहुँदा बाटो काट्न पनि समस्या थियो, पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जानसक्ने भएकाले यसलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पुर्‍याउने विश्वास लिएका छौँ,’ उनले भने, ‘दुर्घटना जोखिम पनि बढेकाले आफ्नै अग्रसरतामा जेब्रा क्रसिङ निर्माण गरेका हौँ ।’

बालबालिकाबाटै ट्राफिक सचेतनाका कुराहरु सिकाउन सक्ने हो भने एउटा बालबालिकाबाट परिवारदेखि समाजसम्म जनचेतना फैलिने अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष (एकीकृत समाजवादी) कार्यक्रमका सहजकर्ता हरिप्रसाद भट्टराईले बताए ।

जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने योजना रहेको ट्राफिक प्रहरी यज्ञराज शर्माले जानकारी दिए ।

जेब्रा क्रसिङ अभियानमा अनेरास्ववियू जिल्ला कमिटी सहसचिव अनुसा अर्याल, जिल्ला कमिटी सदस्य विश्वास दाहाल, सुरज राजवंशी, विक्रम दुलाल, दिक्षा खड्का, अनेरास्ववियू काँकरभिट्टा मावि प्राक अध्यक्ष राजीव राजवंशी, उपाध्यक्ष दिपिका लामिछाने, सचिव शैलेश निरौला, सहसचिव पूजा पाण्डे, सदस्य विशाल विष्ट, आकृति बयलकोटी, मिलन उप्रेती, सोनी माझी, इसा खनाल, रुमा बन्जरालगायतको उपस्थिति रहेको थियो ।