जोखिमलाई ‘हल्का’ नलिऔं

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिँदा स्थिति नियन्त्रण बाहिर जानसक्ने अड्वाजी सुरु भएको छ । तर, स्थानीय सरकार भने सामान्य रुपमा प्रस्तुत भइरहेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्ने बाहेकका काम खासै हुन सकेको छैन । सामान्य ज्वरो जाँच गर्ने, हेल्प डेस्क खडा गर्ने योजनाले मात्रै कोरोनाबाट मानिसलाई बचाउन सकिदैन । कोरोना संक्रमण दर यही हिसाब बढ्ने हो भने भारतको अवस्थाभन्दा नेपालमा अझ भयावह स्थिति बन्ने संकेतहरु देखापर्न थालेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना नियन्त्रण बाहिर जाने अवस्थामा छ । त्यहाँ दैनिक लाख मानिस संक्रमित भइरहेका छन् भने धेरै संख्यामा ज्यान गुमाउनु परेको छ । भारतसँगको खुल्ला सीमानाका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा बढी जोखिममा पर्ने नै भए । अहिले पनि नाकामा दोहोरो आवतजावत गर्ने कार्य रोकिएको छैन । नाकामा कडाइ गर्ने भनिए पनि सामान्य स्वास्थ्य चेकजाँच गरेर मानिस आउआउ गर्नुले कोरोना संक्रमण बढ्ने खतरा छ । त्यसैले, नाकामा कडाइभन्दा पनि बन्द गर्नुपर्छ । अत्यावश्यक बाहेकका काममा पूणर्रुपमा बन्देज लगाउनुको विकल्प छैन ।

ओमिक्रोनको खतराप्रति आवश्यक सतर्कता अपनाइएको देखिएको छैन । बितेको दुई वर्षसम्म मनाउन नपाएको सांस्कृतिक पर्वमा मानिसको घुइँचो देखिने गरेको छ । सांस्कृतिक पर्वमा उत्सव हुनु स्वभाविक हो । तर, विश्वव्यापी महामारीबाट नागरिकको जीवन रक्षा पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ । अहिले मानिस कोरोना केही होइन भनेर हिँडिरहेका छन् । यसप्रतिको सोचले संक्रमण बढ्ने चिन्ता थपिएको छ ।