नीतिसँगै नेतृत्वमा केन्द्रित

नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको छ । राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर महाधिवेशनमा परिणत भयो । महाधिवेशनमा परिणत भएकाले यसले नीति विमर्शसँगै नेतृत्व चयन समेत गर्नेछ । करिब ९ वर्ष अगाडि माओवादी केन्द्रले हेटौंडामा सातौँ महाधिवेशन गरेको थियो । २०६९ मा सातौँ महाधिवेशन गरेको माओवादी केन्द्रको आठौँ महाधिवेशन अहिले जारी छ ।

यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । तर, महाधिवेशनको एउटा साझा दृष्य नेपाली राजनीतिलाई देखाएको छ । सबै दलको महाधिवेशनमा सबै राजनीतिक दलका प्रतिनिधि उपस्थित भए । एमालेको महाधिवेशनमा प्रधानमन्त्री देउवा चितवन पुगेका थिए । माओवादी केन्द्रका भने प्रतिनिधि गएका थिए । साना दलका भने प्रमुख नै सहभागी भए । काँग्रेसको महाधिवेशनमा सबै प्रमुख राजनीतिक दलका प्रमुख सहभागी भए । माओवादीको महाधिवेशनमा एमालेका महासचिव शंकर पोखरेल थिए भने बाँकी दलका प्रमुख उपस्थित भए, एउटै मञ्चमा बसे ।

अहिलेको गठबन्धनका कारण एक्लिएको एमालेले पनि अन्य दलका नेतासँग मञ्चमा साझेदारी गरेका छन् । फरक एजेन्डा बोकिरहेका नेताहरु एउटै मञ्चमा बसेर राष्ट्रिय राजनीतिक हितका निम्ति अभिव्यक्ति दिए । अर्थात् बितेको वर्ष तिक्ततापूणर् सम्बन्धमा रहेका दलहरुलाई एकठाउँ उभिने वातावरण महाधिवेशनले गरेको छ । दलीय सम्बन्ध सुधारका निम्ति यो सकारात्मक संकेत हो । चुनावमा प्रतिस्पर्धा भए पनि राष्ट्रिय हितका निम्ति दलहरु एकठाउँ उभिँदा संविधान र व्यवस्थाको संरक्षण हुनेछ भने नागरिक हितको काममा सघाउ पुग्नेछ ।