टिकटक बन्यो विश्वकै लोकप्रिय अनलाइन प्लेटफर्म

एजेन्सी । टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म भएको छ। यो भिडियो मेकिङ एपले गुगललाई उछिन्दै प्रयोगकर्ताको बढ्दो रोजाइमा परेको हो ।

आईटी सेक्यूरिटी कम्पनी क्लाउडफेयरका अनुसार भारइल भिडियो एप टिकटकले अमेरिकी सर्च इन्जिन गुगलभन्दा धेरै चर्चा पाउन थालेको हो ।

सो कम्पनीले तयार पारेको सूचीअनुसार टिकटकले यस वर्षको फ्रेबुअरी, मार्च र जुन महिनामा गुगललाई शीर्ष स्थानबाट हटाएर अगस्ट महिनादेखि आफू पहिलो स्थानमा रहेको छ ।
गत वर्ष भने गुगल पहिलो स्थानमा थियो र यसलाई पछ्याउदै टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्ससहित धेरै अनलाइन साइटहरु शीर्ष दशमा थिए ।

यी डाटा ट्रयाक गर्न क्लाउडफेयरले आफ्नो राडार प्रयोग गर्छ, जसले वेब ट्राफिकलाई निगरानी राख्छ ।

टिकटकको लोकप्रियतमा बृद्धि हुनुको एउटा कारण कोभिड महामारी रहेको विश्वास गरिन्छ । लकडाउनमा संसारभरका मानिसहरु घरमै थुनिएको बेला मनोरञ्जनका लागि यो एप बढी प्रयोग गरेको बिबिसी बिजनेसले जानकारी गराएको छ ।

सेन्सर टावरको डाटा कम्पनीका अनुसार यस वर्षको जुलाइसम्म टिकटक तीन अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको छ । अहिले यसको विश्वभर एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ताहरु छन् र यसको संख्या बढ्दै गइरहेको छ ।

टिकटक सन् २०१८ मा चिनियाँ सामाजिक सञ्जाल म्युजिकल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो । म्युजिकल्ली पनि विशेषगरी छोटा भिडियोमा गीतहरुको लिप–सिङ्किङ् गर्ने एप थियो ।