शिक्षकको विज्ञापन धमाधम खुल्दै, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  शिक्षक सेवा आयोगले धमाधम विभिन्न तहको शिक्षक पदको विज्ञापन खुलाएको छ । गत मंसिर २९ गते माध्यमिक तहका लागि एक हजार ५४७ जनाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यस्तै, पुस ७ गते निम्न माध्यमिक तहका लागि  दुई हजार ५९८ जनाका लागि विज्ञापन गरेको छ ।

मावि तहका लागि पुस १ देखि २९ गतेसम्म नियमित शुल्क र माघ ६ गतेसम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सकिने छ । आवेदन फारम अनलाइनबाट पनि भर्ने व्यवस्था आयोगले गरेको छ। परीक्षा आगामी चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ ।

दरखास्तका लागि यस्तो छ प्रावधान 

आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले मावि तहको विज्ञापनमा आवेदन दिन अनिवार्य मावि तहको स्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) चाहिने जानकारी दिए ।

सामाजिक अध्ययन विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिक शास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञापन, मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा र स्वास्थ्य शारीरिक शिक्षा विषय अध्ययन गर्नेले आवेदन दिन पाउने दाहाले बताए । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै‚ शिक्षा विषयमा कम्तीमा १० महिना तालिम पूरा गरेको हुनुपर्नेछ । विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले मात्रै सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन पाउने छन् ।

निमावि तहका लागि सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको छ । माघ ३ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा १३ गतेसम्म मिति छ । फारम अनलाइन माध्यामबाट भर्न सकिने छ । परीक्षा भने आगामी चैत १७ गते लिखित परीक्षा हुने छ ।

परीक्षा केन्द्र प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्कीमा तोकिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा दुई पटक र एक पटक अन्तवार्ता हुने छ ।

आयोगका प्रशासकीय प्रमुख दाहालले निमाविको लागि पनि निमावि तहको स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकाले मात्रै आवेदन दिन पाउने जानकारी दिए । उनका अनुसार सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञापन, मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा र स्वास्थ्य शारीरिक शिक्षा विषय अध्ययन गर्नेले भर्न पाउने छन् ।

मान्यता शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरह र उक्त तहभन्दा माथि अध्ययन गरेकाले आवेदन दिन पाउने छन् ।

गणित‚ विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा २००/२०० पूर्णाङ्क लिई कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ । विषयगत स्थायी अध्ययपन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले सम्बन्धित विषय मात्र उम्मेदवार लिन पाउने दाहालले बताए ।

एक सातामा प्राविको विज्ञापन हुने

आयोगका प्रशासकीय प्रमुख दाहालका अनुसार प्रावि, निमावि, मावि गरी देशभरका विद्यालयमा हाल १७ हजार शिक्षकको पद रिक्त छ । यसैका लागि अहिले विज्ञापन गराइएको छ । एक साता भित्र प्रावि तहको पनि शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्ने उनले जानकारी दिए ।

दाहालले भने‚ ‘विज्ञापन खुलाउनेबारे अहिले तयारी भइरहेको छ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस ५ गते आयोगको छलफलमा रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन पदाधिकारीलाई निर्देशन दिएका थिए । आयोगका अनुसार हाल देशभर ७ लाखले शिक्षक लाइसेन्स लिइएका छन् । थाहा खबरबाट