विश्वकप छनोटमा नेपाल र कुवेत भिड्दै

झापा । युएईमा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा कुवेतविरूद्ध खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउँमा हुनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुँदा मंगलबारको दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराउँदै छनोटको सम्भावना कायमै राखेको छ ।

यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत यसअघि दुवै खेलमा पराजित भएको छ ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित भएको कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भयो ।

नेपालले विश्वकपको ग्लोबल छनोटको सम्भावना कायमै राख्न आज कुवेतसहित बाँकी खेलमा सबै टिमलाई हराउनुपर्ने हुन्छ ।

यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो ।

प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार घरेलु टोली संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ  ।

जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्षस्थानमा छ। नेपाल, मलेसिया, हङकङ र भुटानको समान २ अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । अंक जोड्न नसकेको कुवेत पुछारमा छ ।

एसिया छनोटका ६ टोलीमध्ये प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर ।