धनकुटाको रामबजारमा आगलागी, दुई घर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा शुक्रबार बिहान आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।

स्थानीय कुलबहादुर तामाङको घरमा बालकुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । राति २ बजेदेखि सुरु भएको आगलागीबाट ग्यारेज रहेको तामाङको घर र महेश कुमार राईको तीन तले घर पूर्णरुपमा नष्ट भएको जनाइएको छ ।

स्थानीयबासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । घटनामा ग्यारेजमा रहेका १२ वटा मोटरसाइकल सहित ४ वटा खसी र ५० कुखुरा जलेर नष्ट भएको छ ।

क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो बिहान ५ बजे नियन्त्रणमा आएको थियो ।