सिक्किम साहित्य उत्सवको तयारी तीब्र

झापा । नेपाल र भारतका साहित्यकारहरू सहभागी हुने सिक्किम साहित्य उत्सवको तयारी सुरु भएको छ । सिक्किमको राजधानी गान्तोकमा आगामी २६ नोभेम्बरमा हुने साहित्य उत्सवको तयारी तीव्र पारिएको हो ।

हाम्रो वार्ता टेलिभिजनको दोस्रो वर्षगाँठका अवसरमा आयोजना हुने उत्सवमा सिक्किम, दार्जीलिङ, उत्तर बंगाल र नेपालका साहित्यकारले सहभागिता जनाउनेछन् । उक्त साहित्य उत्सवको मुख्य आकर्षण नेपालका लोकप्रिय कवि नवराज पराजुली, दार्जीलिङका कवि पवित्र लामा र कालेबुङका कवि मनोज बोगटी रहने आयोजकले जनाएको छ । कवितामा नवराज पराजुलीलाई प्रत्यक्ष बाँसुरीमा साथ दिन सम्यक महर्जन र पियानोमा साथ दिन रिदम कँडेल पनि नेपालबाट सिक्किम जाँदैछन् ।

उत्सव आयोजक समितिका प्रमुख आरके वालिङका अनुसार कविता, वाकपटुता, चित्रकला र पुस्तक निरुपण प्रतियोगितालाई उत्सवमा प्राथमिकता दिइएको छ । पुस्तक निरुपणलाई खुल्ला प्रतियोगिताको रूपमा सामेल गरिएको र बाँकी तीन वर्गका प्रतियोगिता विद्यार्थीस्तरमा हुने उनले जानकारी दिए ।

सो अवसरमा सिक्किम, दार्जीलिङ र कालेबुङका विशिष्ट नेपाली र अंग्रेजी साहित्यकारहरूलाई सम्मान पनि गरिने उनले बताए । उनले अंग्रेजी र नेपाली साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरू सिक्किमबाट केएन शर्मा, वीणाश्री खरेल, चेतनराज श्रेष्ठ, दार्जीलिङबाट गुप्त प्रधान र डा. राजेन्द्र भण्डारीलाई सम्मानित गरिने जानकारी दिए ।

कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथि रहने आयोजकले जनाएको छ । राज्यका विद्यार्थीहरूलाई साहित्य, कला र पुस्तक पठनपाठनतिर प्रेरित गर्न यस प्रकारको उत्सवको आयोजना गरिएको वालिङले बताए ।