यसपालि भारतले बाँडेको पुरस्कारको नेपालमा भयो धेरै चर्चा

भारतीय राष्ट्रपतिबाट पुरस्कार थाप्न खाली खुट्टा गएकाहरूको नेपालमा तक्मा पाउनेसँग तुलना

काठमाडौं, कात्तिक २४

सोमबार साँझदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भारत सरकारले बाँडेको एउटा पुरस्कारको चर्चा भइरहेको छ।

सुरूमा नेपाली भाषी साहित्यकार लिलबहादुर क्षेत्रीले भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार पाएको विषयले चर्चा पाएको थियो।

नेपाली पाठकमाझ लोकप्रिय रहेको उपन्यास ‘बसाइँ’ का लेखक क्षेत्रीले खुकुरी क्रससहितको भादगाउँले टोपी लगाएर भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पुरस्कार थापेका थिए। नेपाली भाषी भएकाले क्षेत्रीले पुरस्कार पाउँदा नेपालीहरूलाई भावनात्मक रूपले छुनु स्वभाविक थियो।

मंगलबारदेखि भने भारतीय सञ्चारमाध्यममा पुरस्कार पाउने अरू पात्रका कथा आउन थाले। राष्ट्रपति कार्यालयमा पुरस्कार थाप्न जानेहरू यस्ता भुइँमान्छे थिए, जसलाई जिन्दगीभरि न खुट्टामा चप्पल लगाउनु पर्ने आवश्यकता पर्‍यो न त आधुनिक पहिरनमा सजिने रहर। उनीहरू आफ्नो काममा मस्त थिए। दूर-दराजका ती आममान्छे जसले राष्ट्रपतिबाट देशकै प्रतिष्ठित पुरस्कार थापे उनीहरूको कथाले नेपालीलाई छुनु पनि स्वभाविकै हो।

यी दुई कुराबाहेक अहिले अर्को पक्षको पनि चर्चा भइरहेको छ। नेपालमा केही महिनाअघि सरकारले बाँडेको तक्मा पाउने र अहिले भारतमा पुरस्कार पाउनेहरूबीच तुलना भइरहेको छ। भारतमा पुरस्कार पाउने मानिसहरूको तारिफ भइरहेको छ।

नेपालमा हरेक वर्ष संविधान दिवसको दिन पारेर सरकारले विभिन्न पदवी र तक्मा पाउने नामवाली सार्वजनिक गर्छ। यसपालि ९ सयभन्दा बढी जनालाई पदवी र तक्मा दिने सरकारले निर्णय गरेको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सार्वजनिक गरेको सूचीमा सत्तारूढ गठबन्धनमा रहेका दलका कार्यकर्तादेखि कालोसूचीमा परेका ठेकेदार पनि थिए। सरकारले बाँड्ने तक्मा उनीहरूले समाजमा गरेको योगदानमा नभई सत्तासँगको साँठगाँठमा आधारित थिए। केही लेखक, पत्रकार र कार्टुनिस्टले आफूलाई सोध्दै नसोधी तक्मा दिइएको र तक्मा लिँदा तक्माकै अपमान हुने भन्दै नलिने घोषणा गरे।

सरकारले बाँडेका तक्मा विवादमा परेको यो पहिलो पटक होइन। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले पनि आफ्नै पार्टीका नेता/कार्यकर्तालाई केन्द्रमा राखेर तक्मा बाँडेका थिए।

नेपालको तक्मा वितरणमा सत्तारूढ दलको हालीमुहाली भइरहेकाले यसको संख्या, छनोट प्रक्रियादेखि पदवी पाउने पात्रबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। हरेक वर्ष तक्मा पाउनेको सूची सार्वजनिक हुँदा विवाद भइहाल्छ।

आफ्नो देशमा सरकार पुरस्कार बाँड्ने मामलामा तन्नम भएका बेला नेपालीहरू भारतमा सरकारी पुरस्कार पाउनेको उदाहरण दिएर ‘हो, यस्ता मान्छेलाई दिँदा सम्मानको पनि सम्मान हुन्छ’ भनिरहेका छन्।

भारतमा पुरस्कार पाउनेमध्ये अहिले चार पात्र चर्चामा छन्। उनीहरू हुन्: तुलसी गौडा, हरेकाला हजाब्बा, मन्जामा जोगाती र के वाई भेन्कातेश।

७७ वर्षीया आदिवासी महिला तुलसी गौडा र ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा राष्ट्रपति कार्यालय जाँदा पनि खाली खुट्टा थिए।

तुलसी खाली खुट्टा आफ्नो जातिको परम्परागत पहिरन लगाएर राष्ट्रपति भवन पुगेकी थिइन्। पर्यावरणको सुरक्षामा दिएको योगदानका लागि तुलसीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।

तुलसी कर्नाटककी पर्यावरणविद् हुन्। उनलाई जंगलकी इन्साइक्लोपिडिया पनि भनेर चिनिन्छ। उनले अहिलेसम्म ३० हजार बिरूवा रोपेकी छन्।

उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन्। ती बिरूवाको हेरचाह उनी आफैंले गर्थिन्।

तुलसी वन विभागमा पनि काम गर्छिन्। त्यसअघि उनले त्यहाँ स्वयंसेवकको रूपमा काम थालेकी थिइन्।

कर्नाटकाको एक गरिब परिवारका ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बाले आफ्नो कमाइबाट दक्षिण कन्नाडाको न्युपादुपु गाउँका गरिब बालबालिकाहरूलाई पढाउन मद्दत गरेका थिए।

उनले गाउँमा बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय बनाएका थिए। उनी पनि सोमबार खाली खुट्टामा पद्मश्री पुरस्कार लिन पुगेका थिए।

कर्नाटकाकी ६४ वर्षीया मन्जामा जोगाती लोक नृत्यंगना हुन्। पारलैंगिक हुन्। पारलैंगिक भएकै कारण उनले सानोमा अनेक दु:ख पाएकी थिइन्। ज्यान जोगाउन उनले भिख मागेकी थिइन्। पछि उनले लोक नृत्य सिकिन् र त्यसको प्रवर्द्धनमा लागिन्।

पद्मश्री अवार्ड पाएका के वाई भेन्कातेश पाराओलम्पियन हुन्। बैङ्लुरूका भेन्कातेशको उचाइ ४ फिट २ इन्च छ। उनले सन् १९९९ मा भारतका लागि सट पुटमा स्वर्ण दिलाएका थिए।

उनलाई पुरस्कार दिन भारतीय राष्ट्रपति कोविन्द सोमबार आफ्नो स्थान छोडेर तल ओर्लिएका थिए। यीबाहेक अरू पनि सामान्य मान्छेले भारत सरकारको पुरस्कार पाएका छन्।

यी भुइँमान्छेले कसरी पाए त प्रतिष्ठित पुरस्कार?

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुरस्कारमा विविधता हुनुको मुख्य कारण छनौट प्रक्रिया हो।

भारत सरकारले सन् १९५४ मा भारत रत्न र पद्म पुरस्कार स्थापना गरेको थियो। भारत रत्न नागरिकले पाउने भारतको सबैभन्दा ठूलो पुरस्कार हो। भारत रत्नपछि पद्म पुरस्कार छ। पद्म पुरस्कारलाई पनि तीन श्रेणीमा विभाजन गरिएको छ। सुरूमा यसलाई पद्म प्रथम वर्ग, दोस्रो वर्ग र तेस्रो वर्ग भनेर छुट्याइएको छ। पछि त्यो नाम परिवर्तन गरेर पद्म विभूषण, पद्म भूषण र पद्मश्री बनाइएको छ। एक वर्षमा १२० जनासम्मलाई यो पुरस्कार दिइन्छ।

पुरस्कार पाउनेको नामावली भारतको गणतन्त्र दिवसको अघिल्लो साँझ सार्वजनिक हुन्छ। सोमबार वितरण भएको पुरस्कार सन् २०२० को हो।

यसपालि राष्ट्रपति कोविन्दले ११९ जनालाई पद्म पुरस्कार दिएका छन्। तीमध्ये ७ पद्म विभुषण, १० पद्म भूषण र १०२ पद्म श्री छन्। पुरस्कार पाउनेमध्ये २९ महिला छन् भने १६ जनालाई मरणोपान्त पुरस्कार दिइएको छ।

पद्म पुरस्कारमा विविधता हुनुको प्रमुख कारण छनौट प्रक्रिया हो। सन् २०१६ देखि पद्म पुरस्कार छनौट समितिले अनलाइनबाट पुरस्कारका लागि सिफारिस गर्न सक्ने व्यवस्था गरिदिएको छ। कुनै व्यक्तिले आफूलाई वा अरू कसैलाई पनि पुरस्कारका लागि सिफारिस गर्न सक्छन्। यसरी सिफारिस भएकाहरूबाट गृह मन्त्रालय अन्तर्गत बनेको समितिले अन्तिम नामावली छानेर प्रधानमन्त्री कार्यालयमा पुर्‍याउँछ।

यति हुँदाहुँदै पनि यो पुरस्कार विवादरहित भने छैन। यसअघि नै कतिपय व्यक्तिले पुरस्कार अस्वीकार गरेका छन्।

यसपालि पनि अभिनेत्री कंगना रनावतले पद्मश्री पुरस्कार पाएकी छन्। उनी पछिल्लो समय सत्तारूढ भारतीय जनता पार्टीकी कट्टर समर्थक बनेर निस्किएकी छन्।
सेतोपाटी