‘केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देख्छु’

२३ कात्तिक, काठमाडौं ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै नेकपा एमालेमा बसेका नेताहरुमध्ये एक हुन् सुरेन्द्र पाण्डे । १० औं महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजकसमेत रहेका पाण्डे महाधिवेशनको तयारीमा व्यस्त छन् । महाधिवेशन तयारीका क्रममा दैनिक बैठक, भेलामा जुटेका उनले मंसिर दोस्रो साता हुने महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने केही बताएका छैनन् ।

तर पार्टीको अध्यक्षमा चाहिँ केपी शर्मा ओलीलाई निर्विकल्प देख्न थालेका छन् । पार्टीलाई एकतावद्ध बनाउन र चुनौतीहरु सामना गर्न पनि ओलीलाई सर्वसम्मत अध्यक्ष देख्ने उनी भन्छन्, ‘नयाँले दावी गर्दा दावी त होला, तर सबैलाई समेटेर लैजाने व्यक्तित्व पनि चाहियो । त्यो हिसाबले सर्वसम्मतको सम्भावना देख्छु ।’

पदाधिकारीहरुमा पनि सहमतिको सम्भावना देखेका उनले केन्द्रीय सदस्यका लागि भने मतदान हुने बताउँछन् । प्रस्तुत छ, आसन्न महाधिवेशनको सन्दर्भमा पाण्डेसँग अललाइनखबरकर्मी बिनु सुवेदी र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

नेकपा (एमाले) को आउँदै गरेको १० औं महाधिवेशन पार्टीका अघिल्ला महाधिवेनहरु भन्दा फरक छ भन्दै आउनुभएको छ । के–के कुरामा फरक हुन्छ ?

हामी एउटा विषम परिस्थितिमा महाधिवेशन गर्दैछौं । नेकपा बनायौं, त्यो रहन सकेन । एमाले पनि सग्लो रहेन । यस्तो परिस्थितिमा महाधिवेशन गर्दैछौं । अप्ठ्यारो, तर राम्रो सम्भावना या उज्यालोको नेतृत्व गर्ने गरी यो महाविधेशन गर्दैछौं ।

प्रबन्ध र व्यवस्थाका हिसाबले पनि फरक छ । विगतमा विचारको बहस र नेतृत्वको चुनाव एकैसाथ हुन्थ्यो । अहिले हामीले विचारको बहस विधान महाधिवेशनमा सकेर नेतृत्व चयनको लागि मात्रै राष्ट्रिय महाधिवेशन गर्दैछौं । यो अहिलेको परिस्थितिमा आएको विचार होइन ।

२०७१ सालको नवौं महाधिवेशनले नै विचारमा छलफल हुन सकेन, विचार र नेतृत्वको बहस एकैचोटी नगरौं भनेर दुईटा महाधिवेशन गर्ने सर्वसम्मत धारणाका आधारमा विधानमा व्यवस्था गर्‍यौं । र, विधान महाधिवेशनबाट राजनीतिक दस्तावेजहरु पारित गरिसक्यौं । अब राष्ट्रिय महाधिवेशनमा अरु दस्तावेज ल्याउने कुरा हुँदैन । त्यसैले, नेतृत्व छनोटमा मात्रै केन्द्रित हुन्छौं । यस अर्थमा यो पृथक छ ।

०७१ मा हामी भिन्न परिस्थितिमा थियौं । अहिले हामी सरकारमा पुगेर बाहिरिएको छौं । केन्द्र र प्रदेश सरकारमा नभएको अवस्थामा प्रमुख प्रतिपक्षीको हैसियतमा महाधिवेशनमा गइरहेका छौं । यस मानेमा हाम्रा अवसर र चुनौती धेरै छन् । एमालेविरुद्ध बनेको गठबन्धन परास्त गर्नेगरी हामी अघि बढ्नुपर्ने देखिएको छ । नयाँ चुनौती र सम्भावनाबीच यो महाधिवेशन गर्दैछौं ।

नवौं महाधिवेशनयता एमालेले कमजोरी नै धेरै गरेको छ । विधान महाधिवेशनमा पनि कमजोरीहरुको त्यति समीक्षा भएन । राष्ट्रिय महाधिवेशनमा पनि छलफलका लागि ठाउँ छैन भनेपछि त एमाले बहसका लागि झन् खुम्चिएको हो ?

हाम्रो स्थायी र केन्द्रीय कमिटीमा पर्याप्त बहस भए । ती बहसका बीचबाटै हामीले दस्तावेज पारित गर्‍यौं । कतिपय दस्तावेज परिमार्जन पनि गरिए । यसबीचमा आउने संकटलाई नेतृत्व दिन सक्षम हुने गरी हामीले विधान बनाएका छौँ ।

५ वर्षको अवधिमा नयाँ कुराहरु गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीमा बहस त निरन्तर चलिरहन्छ । बहस गर्ने तरिका बदल्नुपर्छ भन्ने बहस पनि गरिरहेका छौं । त्यो भनेको हामीले आठौं महाधिवेशनमा सबै पदाधिकारी प्रत्यक्ष रुपले प्रतिनिधिले चुन्ने व्यवस्था गर्‍यौं ।

नवौंमा प्यानल बनाएर लड्यौं । त्यसको परिणाम र अनुभवहरु त्यति सुखद रहेनन् । किनकी, त्यसले पार्टीमा स्थायी गुटबन्दी हुर्काउँदै गयो । मनस्थिति विभाजित र खण्डित बनाउँदै गयो । मलाई भोट हाल्ने मान्छे हो कि होइन भनेर पार्टी सदस्य र कार्यकर्ताप्रति व्यवहार गर्ने स्थिति बन्यो । हामी यसलाई रोक्न चाहन्छौं ।

नवौं महाधिवेशनपछि हरेक निर्णयमा प्यानलको दबाब पर्दै आएको थियो । त्यसलाई कसरी रोक्ने भनेर छलफल गर्दागर्दै माओवादी केन्द्रसित एकता भयो र त्यो विषयले प्राथमिकता पाएन ।

माओवादीसित एकता गर्दा दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने भनेका थियौँ, जुन भएन । बरु दुबै पार्टीका समस्याहरु भने सरेर आए । यसले पनि पार्टीभित्र गुटबन्दी कायम रहे । नेतृत्व या सरकारमा एकता भए पनि यति सिट तिम्रो, यति मेरो भनेर भागवण्डामा चल्ने अवस्था कायमै रह्यो । त्यसैले एकता दिगो हुन सकेन । एकताको महाधिवेशन नहुँदै पार्टी फुट्यो । अब यस्ता अनुभवहरु नदोहोरिउन् भनेर छलफल गरिरहेका छौँ ।

हुन त हामीले विचारका बहसहरुले पार्टी फुट्यौँ भनेका छौं, त्यसमा केही न केही भूमिका होला । तर सबभन्दा ठूलो भूमिका के देख्छु भने अहिले हामी विपक्षमा रहे पनि सत्तारुढ दल हौं ।

सत्तारुढ दलमा हुने अन्तरविरोध अरुतिर भन्दा फरक छ । यसभित्र कसलाई ‘पोजिसन’ दिइयो या दिइएन भन्ने कुराबाट सिर्जित हुने अन्तरविरोध छ, त्यसको वस्तुगत आधार अहिले पनि जिवित छ ।

हामीले फुटाउने, मिलाउने जे गरे पनि पार्टीलाई विधिबाट चलाउन सकेनौं, आकांक्षीहरुको भीडबाट गठबन्धन या विरोध या पक्षधरता बन्यो भने फेरि नयाँ पार्टीमा समस्या पैदा हुनसक्छ । यो नहुने कसरी भनेर समाधान खोज्नुपर्नेछ । व्यक्तिगत आधारमा प्रतिस्पर्धा होस्, तेरो र मेरो भन्ने पक्षधरता पनि नहोस् । यसो हुँदा एकीकृत ढंगले पार्टीलाई अघि बढाउन सक्छौं ।

पार्टी अध्यक्षले बारम्बार सहमतिमा जानुपर्छ, माओवादी केन्द्रबाट आएकालाई पनि व्यवस्थापन गर्नुपर्छ, १० बुँदे गरेर पार्टीमा बसेकाहरुलाई पनि समेट्नुपर्छ भनिरहनुभएको छ । त्यसो हुँदा त उहाँले नै तिमी उपाध्यक्ष बन, तिमी महाचिव भनेर पद बाँडफाँट गर्ने होला नि ?

पदाधिकारीसम्मका १५ वटा सीमित पदमा सहमतिको गुञ्जायस म पनि देख्छु । २२५ जनाको केन्द्रीय कमिटीको व्यवस्थामा पदाधिकारीको अतिरिक्त २१० जना त सदस्य हुन्छन् । २१० जनालाई त फलाना, फलाना बसेर यसरी मिलाऔँ भन्न गाह्रो छ ।

अध्यक्षलाई नै तपाईंले तोक्नुस् भनेर जिम्मा दिने हो भने पनि २१० भन्दा बढी ल्याउनुपर्ने खालका मान्छे छन्, त्यसैले समस्या छ । यसको समाधान चुनाव नै हो भन्ने लाग्छ । त्यसैले, विद्युतीय मतदानका लागि मेसिनको व्यवस्था गर्दैछौँ ।

चुनाव हुँदा त सबै पदको हुनसक्छ भनेर पनि सोच्नुपर्ला । सहमति चाहिँ बढी पदाधिकारीमा होला, सदस्यमा नहोला ।

पदाधिकारीमा सहमति हुँदा तपाईंहरु १० जनाको ‘एडजस्ष्टमेन्ट’को कुरा पनि होला नि ?

व्यक्तिगत रुपमा कसैको पनि कुरा भएको छैन । अब हामीले हिजोको १० भाइ, माओवादी केन्द्रबाट आएको यति जना भन्ने होइन, अहिले एमाले मात्रै छ ।

एमाले छ, एमालेमा पनि अध्यक्ष ओलीले ज–जसलाई भन्नुहुन्छ त्यही–त्यही मात्र छ, होइन ?

एमालेभित्र विभिन्न मनोविज्ञान, मनोभावना मिलाउन खोज्नु एउटा कुरा हो, तर फलानो पक्ष, ढिस्कानो पक्ष भन्ने म देख्दिन ।

तपाईंहरु नेकपामा हुँदा पनि फरक मत राख्ने, प्रश्न गर्ने असहमति जनाउने नेता हुनुहुन्छ । अहिले तपाईंको कुरा सुन्दा त पार्टी नेतृत्वसित कि सहमति भइसक्यो या तपाईंहरु विलय हुनुभयो भन्ने बुझियो नि ?

हामीलाई चिन्नुभएकै रहेनछ । तपाई‌ंलाई सुनाउँ, पार्टीको अन्तरसंघर्ष हल गर्न १० बुँदेको छलफल भइरहँदा मैले एकदिन घनश्याम (भुसाल)जीलाई भनेको थिएँ, तपाईं ३९ सालदेखि पार्टीमा प्रतिपक्षी भएर बस्नुभयो, म संस्थापन पक्ष भएर बसेँ ।

त्यसैले मैले सोच्ने तरिका तपाईंको भन्दा केही फरक हुन्छ । अर्थात मैले भन्न खोजेको सधैं प्रश्न गरिरहने, सधैं प्रतिपक्षमा बसिरहने मान्छे हुन्छन् भन्ने होइन । बहस गर्नुको अर्थ प्रतिपक्षमा बस्नु मात्र होइन । कुनै कालखण्ड, खास अवस्थामा मान्छेहरु यता या उता हुन सक्छन् । यो भनेको अस्थायी मात्रै हो ।

विगत हेर्नुभयो भने पनि एमाले भिन्न कोर्सबाट बहसमा आइरहेको पार्टी हो । ३२ सालमा कोअर्डिनेसन केन्द्र बन्दा सचिव सिपी मैनाली हुनुहुन्थ्यो । पछि महासचिवको व्यवस्था गरियो, ३५ सालमा महासचिव सिपी बन्नुभयो । ३९ सालमा झलनाथ महासचिव हुनुभयो । झलनाथ महासचिव हुँदा पनि सिपी त्यही पार्टीमा बसिरहनुभयो । रहेका अन्तरविरोधलाई हामीले समाधान गर्‍यौं ।

०४६ सालपछि मदन भण्डारी महासचिव हुनुभयो । दासढुंगा घटनापछि माधव नेपाल हुनुभयो । ६४ को संविधानसभा निर्वाचनको नतिजापछि उहाँले राजीनामा गर्नुभयो । त्यसपछि झलनाथ र ०७१ मा केपी कमरेड हुनुभयो । एउटा नेता आएपछि अर्काेले पार्टी फुटाएर हिँड्ने हाम्रो ईतिहास होइन ।

नेकपा (एमाले) पटक–पटक नेतृत्व परिवर्तन हुँदा पनि अरु नेता त्यस मातहत बस्ने पार्टी हो । केही अपवाद मात्रै हो । ०५४ सालमा वामदेव गौतमले पार्टी फुटाउनुभयो । उहाँको नेतृत्वमा माले बन्यो । अहिले माधव नेपालजीको नेतृत्वमा पार्टी फुटाउने काम भएको छ । खास कालखण्डमा दुर्घटना भयो, तर एमाले एउटा संस्कृतिबाट हुर्किएको पार्टी हो ।

हरेक महाधिवेशनमा पक्षधरता यताउता भइरहेको छ । आज यत्रो दुश्मनीको स्थिति छ, तर आठौं महाधिवेशनमा माधव र केपी कमरेड एकैठाउँ हुनुहुन्थ्यो । वामदेव गौतम नवौं महाधिवेशनमा ओली कमरेडसँगै हुनुहुन्थ्यो, अहिले अर्कै स्थिति छ । एमाले सधैं स्थायी प्यानलबाट हुर्किएर आएको पार्टी नै होइन, अहिले पनि हुँदैन । अरु पार्टी बुझेको मान्छेलाई त्यो होला जस्तो लाग्ला, तर एमाले बुझ्नेलाई त्यो हुँदैन । हामी आफ्नै किसिमको प्रणालीबाट हुर्किएर आएका छौं ।

हिजो तपाईंहरु नै केपी ओलीले ‘मलाई कसले भोट दियो’ भन्ने आधारमा अवसर बाँडफाँट गरे भन्नु हुन्थ्यो, आज बोली फेरिएको छ । ओलीबाट हिजो जे भयो, भोलि त्यो हुँदैन भन्ने सुनिश्चिता भएको हो कि यसो भन्नु तपाईंहरुको बाध्यता हो ?

एमालेले जुन संस्कृति निर्माण गर्‍यो, त्यसको निर्माता हामी हौं । यो पार्टी हामीले बनायौं, कुनै व्यक्तिले बनाइदिएको होइन । पार्टीमा धेरै नेता आउनुभयो, एकले अर्कालाई नेतृत्व हस्तान्तरण गर्दै जानुभयो । भोलि पनि यस्तै हुन्छ । पार्टीभित्र विधि स्थापित भएन भने नेतासँगै पार्टी पनि ‘कोल्याप्स’ हुन्छ ।

केपी कमरेडको उदाहरण दिनुभयो, उहाँ ७० वर्षमा हुनुहुन्छ । ७० वर्षको उमेर हद लागू गर्ने पार्टी विधान छ । अहिले उहाँ अध्यक्ष हुनुभयो भने अर्को चोटी पाउनु हुन्न । उहाँ आफैंले पनि ‘विधान उल्लङ्घन गरेर जान्न’ भन्नुभएको छ ।

हामी अर्को पटक नयाँ पुस्ताले नेतृत्व लिने अवस्थामा छौं । अहिले पहिलो पुस्ताका नेता लगभग ओली कमरेड मात्रै हुनुहुन्छ । अर्को पुस्तामा गएपछि त्यो संख्या ठूलो हुन्छ । त्यो भन्दा अर्को पुस्तामा जाँदा अझ बढी प्रतिश्पर्धी र समकालीनको संख्या ठूलो हुन्छ । नेतृत्वबारे विधि नहुने हो भने समाधान नै हुँदैन । हामी समाधान खोज्नुपर्छ भन्ने ठाउँमा छौं । स्वयं ओली कमरेड पनि यो पक्षमा हुनुहुन्छ ।

आफूलाई लागेको आधारमा बहस गर्ने, तर प्यानलको ‘माइण्डसेट’बाट गर्नु हुँदैन भन्ने हो । प्यालनभन्दा बाहिरबाट बहस गर्दा कोही तलमाथि हुनुपर्ने या कसैलाई कर्के नजरले हेर्नुपर्ने परिस्थिति बन्दैन । विचारहरु पोखिने स्थिति भयो भने पार्टी समृद्ध भएर जान्छ । ओली कमरेडको कुरा यसरी नै बुझेको छु मैले ।

दशौं महाधिवेशनमा केपी ओली निर्विकल्प हो, त्यसपछि मात्रै हामी भन्ने हौं भनेर बुझे हुन्छ ?

(हाँसो…) नढाँटीभन्दा हामी यस्तो परिस्थितिमा छौं । नयाँले दावी गर्दा दावी त होला, तर सबैलाई समेटेर लैजाने व्यक्तित्व पनि चाहियो । त्यो हिसाबले सम्भावना त्यो (केपी ओली निर्विकल्प) देख्छु ।

आगामी महाधिवेशनदेखि एउटा पुस्ता विदा हुनुपर्ने ‘बोर्डर लाइन’मा पुग्दैछ । तेस्रो र चौथो पुस्ता पनि नेतृत्वमा आउने र विदा हुने विधि बनाउँदा पार्टी दीर्घकालसम्म जान्छ । बिना योजना हिड्यौं भने त पार्टी जुनसुकै बेला खत्तम हुन्छ ।

२०७४ फागुन २ गते केपी ओली सर्वसम्मत रुपमा संसदीय दलको नेता चुनिँदा अर्को जो भएपनि उठ्नुपर्छ भन्ने तपाईंहरु नै हो । अहिले कसरी परिस्थिति फेरियो ?

गलत बुझ्नु भयो । त्योभन्दा अगाडि नै ललितपुरमा भएको स्थायी कमिटीको बैठकबाट हामीले प्रधानमन्त्रीमा केपी कमरेडलाई अगाडि सार्ने निर्णय गरेका हौं । त्यहाँ छलफल भयो, सहमति भयो । कोही पनि म प्रतिस्पर्धी थिएनन् । कोही साथीले उठ्नुपर्छ भनेर मनमा सोचेको भएपनि व्यक्त भएन । त्यसैले अहिले पनि सर्वसम्मतिबाट पार्टी अध्यक्ष चयन हुन सक्दैन भन्ने कुरै भएन ।

त्यसबेला नेताहरुबीच चोचोमोचो मिलेको थियो । जब चोचोमोचो मिलेन, संसद विघटनदेखि पार्टी फुटसम्म आयो । अहिले चोचोमोचो त मिलेको छैन, प्रतिस्पर्धा पनि गर्न सक्ने अवस्था छैन, होइन ?

पछिल्लो घटनालाई हेरेर चोचोमोचो भन्न पनि सक्नुहोला । पार्टी फुटमा गएको हुनाले चोचोमोचो पो हो रहेछ कि भन्न पाउनुहुन्छ, तर त्यो चोचोमोचो थिएन ।

चुनाव अगाडि असोज १५ गते बालकोटमा भएको हाम्रो स्थायी कमिटीको बैठकमा कसैको पनि मतभिन्नता थिएन । सूर्य चिह्नमै मिलेर चुनाव लड्ने र पछि एकता गर्ने, ६०/४० अनुपात हुनेमा दस्तखत नै भएको हो । पछि माओवादीले सूर्य चिह्नमा लड्न इन्कार गर्‍यो ।

त्यो कुनै चोचोमोचोको कुरा थिएन । जानैनौं कि ढंग पुगेन कि अनेक शक्तिहरु खेले कि भन्ने अलग कुरा हो । जे भएपनि एकता टिकेन । कुशलता भएको भए टिक्थ्यो कि ? त्यो अलग कुरा हो । हामीले जानेनौं भन्दैमा त्यसलाई चोचोमोचो भनिदिनु भएन ।

फेरि, राजनीति भनेको शक्तिकै खेल हो । हामी शक्तिमै छौं, यही पार्टीमा छौं । को व्यक्तिलाई बनाउने भन्ने कुरा समय र परिस्थितिमा भर पर्छ । कसले एकतावद्ध गर्न सक्छ ? त्यो हेरिन्छ । केपी कमरेडले नै पार्टीलाई अझ एकताबद्ध पार्नुहुन्छ भने त्यो देशको हितमा हुन्छ ।

कम्तीमा तपाईं चाहिँ ओलीले मात्र एमालेलाई एकतावद्ध गर्न सक्छन् भन्ने निश्कर्षमा पुग्नु भएको हो ?

तत्काललाई प्रतिद्वन्द्विताको स्थिति देखिरहेको छैन ।

नेकपा हुँदाको कुरा छोडौं, अहिले पनि एमाले संघीय संसद र पाँच प्रदेशको पहिलो दल हो । र पनि, सबैतिर प्रतिपक्षी बन्यो । यो भनेको त नेतृत्वको असफलता हो, तर तपाई केपी ओलीलाई निर्विकल्प भन्दै हुनुहुन्छ नि ?

समय आएपछि यसको पनि समीक्षा गरौंला । हरेक दलले आफ्नो जीवनको समीक्षा गर्छ । राजनीतिक दलभन्दा बढी समीक्षा र एक आपसमा वादप्रतिवाद गर्ने निकाय अर्को हुँदैन । तपाईंको मिडियामा झगडा भयो भने निश्कासन हुन्छ, तर पार्टीमा त्यस्तो हुँदैन ।

समीक्षा त अर्को ढंगले पनि त होला नि । जस्तो, तपाईंहरु विचारले नेतृत्व गर्नुपर्छ भन्नुहुन्छ, तर संख्याले नै डोर्‍याउन थाल्यो नि ?

विचार विना पार्टी हिँड्दैन, संख्या पनि विचार नै हो । कतिपयले संख्यालाई प्राविधिक कुरा भन्लान् । त्यसैले पार्टीलाई एकतावद्व पार्न ओलीलाई बढी व्यवहारिक र सर्वसम्मत देख्छु । किनभने, पाँच वटा दल गठबन्धन गर्छौ भनिरहेका छन् ।

पाँच दल गठबन्धन गर्दैछ भनेर आन्तरिक लोकतन्त्र खुम्च्याउँदा एमाले बाँच्छ कसरी ?

हामीले चुनाव नगर्ने त भनेका छैनौं । तर कोही उठेन भने उठ्नैपर्छ भन्ने हुन्छ र ? म ३२ वर्षदेखि पार्टी केन्द्रीय कमिटीमा छु । चौथौदेखि सबै महाधिवेशनमा छु । त्यसबेला अध्यक्ष मण्डलको प्रस्तावमा केन्द्रीय समिति बनाउने व्यवस्था थियो ।

योग्य मान्छेलाई अगाडि बढाइन्थ्यो, नेतृत्व प्रस्तावमा दायाँबायाँ हुँदैनथ्यो । त्यो लोकतान्त्रिक हैन र ? पछि पाँच–दश जनाको केन्द्रीय कमिटी बढेर सय जना बन्यो । १०० जना छान्न कठिन हुँदै गएपछि पार्टी चुनावी बन्दै गयो ।

नयाँ परिवेशको आवश्यकता अनुसार निर्वाचनमा गयौं । चुनावी प्रक्रियामा रहँदा पनि सर्वसम्मत नेतृत्व चयन भइरहेको छ । यसलाई अलोकतान्त्रिक भन्न सकिएला र !

अर्थात्, यसपटक अध्यक्षदेखि पदाधिकारीसम्म मत पेटिका राखिन्न । अरुले चाहिँ चुनाव जितेर आउनुपर्छ ?

अहिले नै त्यो भन्न सक्दिनँ । पदाधिकारीमा चाहिँ सहमति हुन्छ भन्ने हो, किनभने सानो संख्या छ । सदस्यहरुको चाहिँ चुनाव हुने देख्छु ।अनलाइनखबर