टी-२० विश्वकपः अफगानिस्तानको जितको कामनामा सिंगो भारत

एजेन्सी । युएईमा जारी टी-२० विश्वकप क्रिकेटमा आज हुने एउटा खेलले तीन टिममध्ये को सेमिफाइनलमा पुग्ने भन्ने कुराको लगभग टुंगो गर्ने भएको छ ।

आबुधाबीस्थित शेख जायेद रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरू हुने न्युजिल्याण्ड र अफगानिस्तान बीचको खेलले भारतसहित अफगानिस्तान र न्युजिल्याण्डमध्ये को सेमिफाइनल जाने भन्ने कुराको लगभग निर्धारण गर्नेछ  ।

आजको खेलमा न्युजिल्याण्डले जिते अफगानिस्तान र भारत दुबैको सेमिफाइनल दौड सकिनेछ। भारत एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिनेछ ।

अफगानिस्तानले न्यूजिल्याण्डलाई हराए भारतको आशा कायमै हुनेछ। आज सिंगो भारत अफगानिस्तानको जितको कामना गर्दैछ । किनकी आफ्नो अन्तिम खेलमा भारतले नामिबियालाई फराकिलो अन्तरले हराउन सके समान ६-६ अंक जोड्दै राम्रो रन रेटका आधारमा भारतको सेमिफाइनल प्रवेश सम्भावना झिनो बाँकी रहनेछ ।

जुनसुकै बलियो टोलीलाई चुनौती दिँदै आएको अफगान टोलीले न्युजिल्याण्डलाई हराउन सके उसको पनि सेमिफाइनलमा प्रवेश गर्न सम्भावना जिवित हुनेछ । सेमीफाइन यात्राका लागि भने उसले भारत र नामिबियाको भोलि हुने खेल पनि कुर्नुपर्नेछ । भारतले नामिबियालाई हराएको खण्डमा नेट रन रेट बढी भएको टिमले सेमिफाइनलमा स्थान बनाउने छ ।

अफगानिस्तानका स्पिनर मुजीब-उर रहमानसमेत फिट भएर मैदान उत्रन सक्नेछन्। चोटका कार्ण उनी यसअघि भारतविरूद्ध खेलेका थिएनन् ।

यसअघि ४ खेलमा २ जितसहित ४ अंक जोडेको अफगानिस्तानका लागि आजको खेल जिते सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहनेछ ।

विश्वकप अगाडि खेलिएको अभ्यास खेलमा दक्षिण अफ्रिकासँग पराजित अफगानिस्तानले वेष्टइन्डिजलाई हराएको थियो ।

अफगानिस्तानका पछिल्ला ६ खेल

  • दक्षिण अफ्रिकासँग ४१ रनले पराजित (अभ्यास खेल)
  • वेष्टइन्डिजमाथि ५६ रनको जित (अभ्यास खेल)
  • स्कटल्याण्डमाथि १३० रनको जित (विश्वकप)
  • पाकिस्तानसँग ५ विकेटको हार (विश्वकप)
  • नामिबियामाथि ६२ रनको जित (विश्वकप)
  • भारतसँग ६६ रनको हार (विश्वकप)

अफगानिस्तानको सम्भावित ११
हजरतुल्लाह जजई, मोहम्मद शाहजाद (विकेटकीपर), रहमानुल्लाह गुरबाज, गुलाबदीन नैइब, नजिबुल्लाह जर्दान, मोहम्मद नाबी (कप्तान), करीम जनत, राशिद खान, शरफुद्दीन अशरफ/मुजीब उर रहमान, नवीन-उल-हक र हामिद हसन ।

आजको खेलमा न्युजिल्याड हाबी देखिएको छ । ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको न्यूजिल्याण्डका लागि सेमिफाइनलमा पुग्न अफगानिस्तानलाई हराउनैपर्ने हुन्छ । न्यूजिल्याण्डले हालसम्म ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

न्यूजिल्याण्डले अभ्यास खेलमा अष्ट्रेलिया र इङ्ल्याण्ड दुबैसँग पराजित भएको थियो । त्यसपछि विश्वकपको पहिलो खेलमा पाकिस्तासँग पराजित भए यता अपराजित छ ।

न्यूजिल्याण्डका खेलहरू
•    अष्ट्रेलियासँग ३ विकेटको हार (अभ्यास खेल)
•    इङ्ल्याण्डसँग १३ रनको हार (अभ्यास खेल)
•    पाकिस्तानसँग ५ विकेटको हार (विश्वकप)
•    भारतमाथि ८ विकेटको जित (विश्वकप)
•    स्कटल्याण्डमाथि १६ रनको जित (विश्वकप)
•    नामिबियामाथि ५२ रनको जित (विश्वकप)

न्युजिल्याडको सम्भावित प्लेइङ ११
मार्टिन गुप्टिल, डेरिल मिचेल, केन विलियम्सन (कप्तान), डेवन कान्वे (विकेटकीपर), ग्लेन फिलिप्स, जेम्स नीशम, मिसेल सान्टनेर, ऐडम माइल्न, ईश सोढी, टिम साउदी र ट्रेन्ट बोल्ट ।

हेड टु हेड
अफगानिस्तान र न्यूजिल्याण्ड टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक भिड्न लागेका हुन्। यसअघि सन् २०१५ र २०१९ को एक दिवसीय विश्वकपमा यी दुई टिमबीच खेल भएको थियो । दुबै खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो ।