टि-२० विश्वकप उपाधि जित्न सक्ने पाँच टोली

एजेन्सी । टि-२० विश्वकप २०२१ आइतबारदेखि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा सुरु हुँदैछ । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । झण्डै एक महिना चल्ने प्रतियोगिताबाट एक टि२० विश्वकप च्याम्पियन बन्नेछ । पहिलो चरणको समूह ए र बी को खेलपछि सुपर १२ का खेलहरु सुरु हुनेछन् ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । नामिबिया र पपुवा न्युगिनीले टि२० विश्वकपमा डेब्यू गर्दैछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

टि२० विश्वकप पाँच वर्षपछि हुन लागेको छ । अन्तिम पटक टि२० विश्वकप भारतमा २०१६ मा भएको थियो । सन् २००७ देखि सुरु भएको टि२० विश्वकपका ६ संस्करण सकिएका छन् । वेस्टइन्डिज दुई पटक च्याम्पियन बन्दा, भारत, श्रीलंका, इंग्ल्यान्ड र वेस्टइन्डिजले एक एक पटक उपाधि जितेका छन् । भारतले २००७, पाकिस्तानले २००९, इंग्ल्यान्डले २०१० र वेस्टइन्डिजले २०१२ र २०१६ को विश्वकप टि२० उपाधि जितेका थिए । २०१४ श्रीलंका च्याम्पियन बनेको थियो ।

सबै टोलीले टि२० विश्वकपको लागि आफ्नो तयारी पूरा गरेका छन् । सबै टोलीले आफ्नो अन्तिम टोली घोषणा गरि सकेका छन् । पछिल्लो एक वर्षको प्रदर्शन निकै महत्वपूर्ण हुनेगर्दछ । कुनैपनि टोली कस्तो छ त्यसमा रहेका खेलाडीलाई हेरेर पूर्व अनुमान गर्न सकिन्छ । पछिल्लो समयको अन्तर्राष्ट्रिय प्रदर्शन, खेलाडीको लय, प्रतियोगिता हुने स्थानको अवस्था, कप्तानी नेतृत्व, टोली सन्तुलन लगायत धेरै पक्षले नतिजामा प्रभाव पार्ने गर्दछ । विशेष गरि खेलाडीको लय र क्षमता बढी निर्भर हुन्छ । टि२० विश्वकप २०२१ मा सहभागि सबै टोलीको विभिन्न पक्ष अध्ययन गर्दा यी पाँच टोली विश्वकप उपाधिका सर्वाधिक बलिया दाबेदार देखिन्छन् ।

५. न्युजिल्यान्ड

न्युजिल्यान्ड कागजी रुपमा सधैं औसत टोलीमा पर्दछ । तर मैदान र आइसिसी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्नेगर्दछ । टोली सन्तुलन, एकता र उत्कृष्ट नेतृत्व न्युजिल्यान्डको खुबी हो । कुनैपनि टोली च्याम्पियन बन्न उत्कृष्ट खेलाडीनै हुनुपर्छ भन्ने छैन । टोलीमा भएका खेलाडीलाई राम्रोसँग सदुपयोग गर्न सकेपनि च्याम्पियन टोली बन्न सक्छ । त्यसको लागि सबैभन्दा पहिला कप्तानी क्षमता उत्कृष्ट हुनुपर्छ ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन वर्तमान समयका उत्कृष्ट कप्तानमा हुन् । उनको कप्तानीमा यसै वर्ष न्युजिल्यान्डले भारतलाई हराउँदै टेस्ट च्याम्पियनसिप उपाधि जितेको थियो । २०१९ मा सबैलाई आश्चर्य पार्दै एकदिवसिय फाइनलमा स्थान पक्का गराएका थिए । फाइनलमा इंग्ल्यान्डसँग सुपर ओभर बराबर हुँदा बाउन्ड्री काउन्टको आधारमा पराजित हुन पुगेको थियो ।

२०१६ मा विलियम्सनकै कप्तानीमा न्युजिल्यान्डले समूह विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । शान्त स्वभाव र माष्टर माइन्ड भएमा विलियम्सन प्रदर्शनमात्र नभएर कप्तानीमा पनि खेल जिताउन सक्ने गुण भएका खेलाडी हुन् । उदाहरणीय कप्तान विलियम्सन आफ्नो नेतृत्वमै शक्तिशाली टोलीलाई घुँडा टेकाउँदै आएका छन् ।

न्युजिल्यान्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मार्टिन गुप्टिल, ग्लेन फिलिप्स, विलियम्सन र डेभन कन्वे प्रमुख ब्याटर हुन् । यसअघि न्युजिल्यान्डको ब्याटिङ कमजोर रहँदै आएको थियो । फिलिप्स र कन्वेको आगमनले न्युजिल्यान्डको ब्याटिङ मजबुत बनेको छ । फिलिप्स र कन्वेले प्रदर्शन अन्तर्राष्ट्रिय र फ्रेन्चाइज लिगमा लोभलाग्दो छ ।

गुप्टिल र विलियम्सन अनुभवी खेलाडी हुन् । गुप्टिल टि२० आईमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीमा पर्दछन् । टिम सिफर्ट, ड्याल मिचेल मध्यक्रम सम्हाल्नेछन् । काइल जेमिसन, जेम्स निशम, मिचेल सान्टनर र मार्क च्यायम्पान अलराउन्डरको रुपमा छन् । निसम र जेसिमन तीव्र गतिको बलिङसँगै तल्लोक्रममा आक्रामक सट प्रहार गर्ने गर्दछन् ।

न्युजिल्यान्डको तीव्र गतिको बलिङ आक्रामण पनि उत्कृष्ट र विश्वस्तरिय छ । ट्रेन्ट बोल्ट, लोकी फर्गुसन, टिम साउथी जस्ता विश्वस्तरिय तीव्र गतिका बलर छन् । फर्गुसनको बलमा गती छ भने बोल्टमा स्वींग । जेमिसन बाउन्सरका लागि माहिर छन् । निसमले पनि राम्रो बलिङ गर्ने गर्दछन् । स्पिनरमा ईश सोधी र मिचेल सान्टर छन् । सोधी राम्रो लयमा छन् । ड्याल मिचेल, टोड एस्टल पार्टटाईमको रुपमा छन् ।

न्युजिल्यान्ड क्रिकेटको एकता र खेल भावना उनीहरुको संस्कारनै हो । विलियम्सनको उत्कृष्ट कप्तानी, टोली सन्तुलन, विश्वस्तरिय तीव्र गतिको बलिङ आक्रामण र टिम एकताले गर्दा न्युजिल्यान्डले सबैलाई आश्चर्य पार्दै उपाधि जित्नसक्छ । सुपर १२ को समूह बी मा रहेको न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाउन भारत वा पाकिस्तान मध्य एकलाई भने पछि पार्नुपर्ने हुन्छ ।

न्युजिल्यान्डले २००७ र २०१६ मा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । टेस्ट च्याम्पियनसिपको उपाधिसँगै उच्च मनोबलमा रहेको न्युजिल्यान्डले टि२० विश्वकपको उपाधि पनि जित्नसक्छ ।

४. पाकिस्तान

टि-२० विश्वकप यूएईमा भारतले आयोजना गर्दैछ । यूएई पाकिस्तानको घरेलु मैदान हो । त्यसैले सर्वाधिक फाइदा पाकिस्तानले उठानउने देखिन्छ । विश्वकप हुने मैदान र पिचबारे पाकिस्तानका खेलाडीलाई राम्रोसँग थाहा छ । पाकिस्तानका सबै खेलाडी त्यहाँ खेलेर निखारिएका छन् । त्यसै अनुसार टिम निर्माण, रणनीति र योजना बनाएर खेल्नेछन् । अन्य टोलीलाई भन्दा पाकिस्तानलाई अतिरिक्त फाइदा हुनेछ । २००९ मा श्रीलंका टिम चढेको बस कराँचीमा बम विष्फोट भएपछि पाकिस्तानले यूएईलाई घरेलु मैदान बनाउँदै आएको छ । पाकिस्तान सुपर लिग पनि युएईमा हुँदै आएको छ ।

पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवान उत्कृष्ट लयमा छन् । २०२१ मा रिजवानले १४ इनिङमा १ शतक र ७ अर्धशतक सहित ७ सय ५२ रनका साथ सर्वाधिक रन बनाउने सूचिमा शीर्षस्थानमा छन् । १४ इनिङमै बाबरले १ शतक र ४ अर्धशतक सहित ५ सय २३ रन बनाएका छन् ।

यी दुबैले राम्रो साझेदारी गर्दै ठूलो योगफलको आधार तय गर्नसक्छन् । १५ खेलमा ओपनिङ गर्दा यी दुई जोडीले तीन पटक शतकीय र तीन पटक ५० माथिको साझेदारी गरेका छन् । यी दुई ब्याटरले आफ्नो उच्च प्रदर्शनमा पाकिस्तानको जित सहज बनाउन सक्छन् । दुबै ब्याटरमा क्लास र जिम्मेवारी छ ।

राम्रो सुरुवात पाएपछि मध्यक्रममा शोएब मलिक र मोहम्मद हफिज जस्ता अनुभवी ब्याटरले सम्हाल्दै इनिङलाई अधि बढाउन सक्छन् । दबाबमा अनुभवी खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् । हफिजले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । युवा ब्याटर हैदर अली, फखर जमान, आसिफ अलीले आक्रामक ब्याटिङका साथ ठूलो योगफल बनाउन सक्छन् ।

स्पिन अलराउन्डर शादब खान र इमाद वासिम पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । तीव्र गतिको बलिङ आक्रमणमा शाहिन शाह अफ्रिदी, हसन अली, हरिस रौफ, मोहम्मद जुनियर हुँदा उत्कृष्ट छ । जुनियर वाउन्सरको लागि माहिर छन् । अर्कोतर्फ पाकिस्तानसँग इख छ । पाकिस्तान भारत र न्युजिल्यान्डलाई विश्वकपमा हराउन चाहन्छ । न्युजिल्यान्डले अघिल्लो महिना पाकिस्तान भ्रमण गरेपनि सिरिज नखेली फर्किएको थियो । भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण सिरिज खेल्दैनन् ।

पाकिस्तानको टोलीमा इख र जोश बढी छ । त्यो मैदानमा पोख्न चाहन्छ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न भारत र न्युजिाल्यान्ड मध्य एकलाई पछि पार्नुपर्छ । पाकिस्तानले २००९ को फाइनलमा श्रीलंकालाई हराउँदै टि२० विश्वकप च्याम्पियन बनेको थियो ।

३.भारत

भारत कागजी रुपमा सधैं बलियो टोली हो । सिरिज, आइसिसीको प्रतियोगितामा लिगमा राम्रो प्रदर्शन गरेपनि नकआउटमा चुक्दै आएको छ । विश्व क्रिकेटमा आफ्नो दबदबा कायम गर्दै आएको भारतलाई विश्वकप उपाधि आवश्यकनै बनि सकेको छ । भारतीय टोलीमा सन्तुलन बढी छ । ब्याटिङमा विराट कोहली, रोहित शर्मा, ईशान किशन, सुर्यकुमार यादव र लोकेश राहुल जस्ता चर्चित म्याच विनर ब्याटर छन् । कोहली र रोहित प्रमुख ब्याटर हुन् । कोहली र रोहित टि२० क्रिकेटका सर्वाधिक सफल खेलाडीमा पर्दछन् ।

रोहित टि-२० आईमा चार शतक प्रहार गर्ने एक्लो कप्तान हुन् । रोहित क्रिजमा जमेपछि ठूलो इनिङ खेल्ने गर्दछन् । रोहितले १ सय ११ खेलमा ४ शतक र २२ अर्धशतक सहित २ हजार ८ सय ६४ रन बनाएका छन् । विराट कोहलीले ९० खेलमा २८ अर्धशतक सहित कुल ३ हजार १ सय ५९ रन बनाएका छन् । राहुलले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पछिल्लो तीन वर्षमा भारतबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आइपिएलमा लगातार रन बनाउँदै आएका छन् । राहुलमा जिम्मेवारी छ । राहुलको लयलाई रोक्न विश्वका जुनैसुकै टिम र बलरलाई कठिन पर्ने देखिन्छ ।

सूर्य र इशान आक्रामक ब्याटिङका लागि चिनिन्छन् । विकेटकिपर ऋषभ पन्त, हार्दिक पान्ड्या र रविन्द्र जडेजा जस्ता आक्रामक ब्याटर हुन् । पन्त र हार्दिक टि२० स्पेलिष्ट मानिन्छन् । यूएई स्पिनर सहयोगी मानिएको छ । भारतले आफ्नो टोलीमा रविन्द्रन आश्विन, बरुणचक्रवर्ती र राहुल चाहर स्पिनरको रुपमा छन् । तीव्र गतिको बलमा जस्प्रित बुमराह, मोहम्मद शामी, भुवनेश्वर कुमार र शार्दूल ठाकुर छन् ।

योर्कर बलका लागि माहिर बुमराह बर्तमान क्रिकेट टोलीका सर्वोत्कृष्ट खेलाडीका हुन् । टोलीमा यस पटक पूर्व कप्तान महेन्द्रसिंह धोनी सल्लाहकारको रुपमा छन् । भारतलाई तीनै विश्वकप उपाधि जिताएका एक सफल कप्तान टोलीमा हुँदा कमजोरी सुधारमा राम्रो सल्लाह दिनसक्छन् । भारतले सन् २००७ को विश्वकपमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

२. इंग्ल्यान्ड

इंग्ल्यान्ड वर्तमान विश्व क्रिकेटको एक उत्कृष्ट टोली हो । पछिल्लो पाँच वर्षमा इंग्ल्यान्डले विश्व क्रिकेटमै खेल्ने शैलीमा परिवर्तन ल्याएको छ । २०१९ को एकदिवसिय विश्वकप च्याम्पियन इंग्ल्यान्ड टि२० विश्वकप जित्न चाहन्छ । इंग्ल्यान्डको मुख्य खुबी ब्याटिङ हो । उनीहरुको ब्याटिङ शैली अन्य टोलीको भन्दा फरक रहँदै आएको छ ।

दबाब, खराब सुरुवात र कमजोर अवस्थामा पनि आक्रामक ब्याटिङको क्षमता राख्ने गर्दछन् । इंग्ल्यान्ड २०१६ को विश्वकपको फाइनलमा पराजित भएको थियो ।

इंग्ल्यान्ड ब्याटिङमा विशाल योगफल बनाउन र पूरा गर्नसक्छ । जस बटलर, जेसन रोय, जोनी बेयरस्टो, ओईन मोर्गन, लियाम लिभिङस्टोन र डेविड मलान जस्ता विश्वस्तरिय टि२० प्रमुख ब्याटर टोलीमा छन् । बटलर र रोय दुबै आक्रामक ब्याटिङका लागि परिचित छन् । ठूला सटका लागि माहिर यी दुई ब्याटरले पावर प्लेमा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । मलान, लिभिङस्टोन र मोर्गन ठूला सट र इनिङको लागि परिचित छन् । लिभिङस्टोन र मलानले इंग्ल्यान्डबाट लगातार उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका छन् ।

मोईन अली, टम करन, डेविड विल्ली, क्रिस वोक्स जस्ता अलराउन्डर टोलीमा छन् । आदिल राशिद प्रमुख स्पिनर हुन् । मार्क वुड,वोक्स, विल्ली, टायमल मिल्स तीव्र गतिका बलर हुन् । इंग्ल्यान्डले २ सय २० माथिको योगफल सफल रुपमा दुई पटक पूरा गरेको छ । इंग्ल्यान्डको ब्याटिङमा गहिराई र विष्फोटक ब्यारटको बाहुल्यता छ ।

स्टार अलराउन्डर बेन स्टोक्स र जोफ्रा आर्चर टोलीमा नहुँदा केहि असर पर्नसक्छ । अर्कोतर्फ मोर्गनको कप्तानी पनि उत्कृष्ट मानिन्छ । उत्कृष्ट ब्याटिङ र कप्तानीमा इंग्ल्यान्ड उपाधिको बलियो दाबेदार देखिन्छ ।

१. वेस्टइन्डिज

 

वेस्टइन्डिज टि२० क्रिकेटमा विश्वकै सवैभन्दा खतरा टोली हो । विश्वका टि२० स्टार ब्याटर र अलराउन्डर वेस्टइन्डिजमा छन् । हार्ड हिटर र विष्फोटक ब्याटरको बाहुल्यता छ । वेस्टइन्डिज विश्वको त्यस्तो टोली हो जसका प्लेइङ ११ मा रहेका सबै खेलाडी ब्याटिङबाट खेल जिताउन सक्ने खुबी राख्छन् । आन्द्रे फे्लेचर, लेन्डन सिमन्स, इविन लेविस ओपनरको रुपमा छन् । निकोलस पुरन, शिम्रन हेटमायर र क्रिस गेल छन् । गेल सर्वाधिक अनुभवी खेलाडी हुन् । आफ्नो अनुभवको भरपूर्ण फाइदा उठाउन सक्छन् । सिमन्स र लेविसले पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएका छन् ।

सुनिल नारायण र जेसन होल्डर जस्ता विश्व स्तरिय फ्रेन्चाइज लिगमा राम्रो गर्ने खेलाडी टोलीमा अटाउन सकेका छैनन् । आन्द्रे रसेल र कप्तान काइरन पोलार्ड जस्ता विश्व चर्चित म्याच विनर अलराउन्डर हुन् । दुवै हार्ड हिटर हुन् । एकै ओभरमा यी दुई ब्याटरले खेल मोड्न सक्छन् । विष्फोटक ब्याटिङका लागि माहिर यी दुई ब्याटर डेथ ओभरमा असम्भव मानिएको खेललाई पनि जितमा बदल्ने गर्दछन् । रसेल र पोलार्ड क्रिजमा हुनसम्म टोलीको जितको आशा कायमै रहने गर्दछ ।

रसेल र पोलार्ड एक्लै खेल जिताउन सक्ने खुबी भएका खेलाडी हुन् । यी दुई बाहेक फबिएन एलेन, ड्वेन ब्राभो र रोश्टन चेश अलराउन्डरको रुपमा छन् । एलेन फिल्डिङ मार्फत पनि खेल मोड्न सक्छन् । ब्राभो डेथ ओभर स्पेलिष्टनै मानिन्छन् । युवा स्टार म्याककोयले त्यतिनै राम्रो प्रर्दशन गर्दै आएका छन् । म्याककोयको आगमनले तीव्र गतिको बलिङ युनिट मजबुत बनेको छ । अष्ट्रेलियालाई पाँच टि२० आई सिरिजमा पराजित गर्न म्याककोयले उच्च प्रदर्शन गरेका थिए । रसेल, ब्राभो, पोलार्ड र म्याकोय तीव्र गतिको बलिङ सम्हाल्ने छन् ।

स्पिनरमा हेडन वाल्श जुनियर छन् । जुनियरले वेस्टइन्डिजको टोली र फ्रेन्चाइज क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिजको टोलीमा पूरन, लेविस, गेल, हेटमायर बायाँ हाते ब्याटर छन् । जसको कारण पनि वेस्टइन्डिजलाई अतिरिक्त फाइदा मिल्नसक्छ ।

अर्कोतर्फ विश्व टि२० फ्रेन्चाइज लिगमा वेस्टइन्डिजका खेलाडी पहिलो रोजाईमा पर्ने गर्दछन् । यूएईको पिच बारे राम्रोसँग जानकार छन् । आइपिएल, पिएसएल, टि१० लिग लगायतका फ्रेन्चाइज लिग युएईमा खेल्दै आएका छन् ।