अक्षयको ‘गोरखा’ पोस्टरमा भेटिएका यी गल्ती

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ मा देखिँदैछन् । दुई दिन अगाडिमात्रै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो ।

गोरखा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको यस फिल्ममा अक्षय मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । पोस्टरमा पनि अक्षय फिचर्ड छन् ।

तर, पूर्व आर्मी अफिसरले ‘गोरखा’ को पोस्टरमा गल्ती औल्याएका छन् । पूर्व आर्मी अफिसर मनिक एम जोलीले पोस्टरमा देखिएको खुकुरी गलत भएको उल्लेख गरेका छन् ।

अक्षयलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘डिअर अक्षयजी, पूर्व आर्मी अफिसर भएको नाताले यस फिल्म बनाउन लाग्नुभएकोमा तपाईंलाई धन्यवाद । जे होस्, यसमा सानोसानो कुरा पनि महत्वपूर्ण छ । कृपया खुकुरीलाई ठीक गर्नुहोस् । खुकुरीको दोस्रोतर्फ तेज धार छ । यो तलवार होइन । खुकुरीको धार भित्रपट्टी हुन्छ । धन्यवाद ।’

जोलीको पोस्टमा अक्षयले जवाफ दिएका छन्, ‘डिअर मनिक जली, गल्ती देखाइदिनुभएकोमा धन्यवाद । हामी फिल्म बनाउने समयमा यी सबै कुरालाई ध्यान दिनेछौँ । हामी यो फिल्म बनाउन लागेकोमा गर्व महसुस गरिरहेका छौँ । वास्तविकतासँग नजिक जुनसुकै प्रतिकृयाहरु हाम्रो लागि स्वीकार्य छ ।’

सन् १९६२ को सीनो-इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् ।

आनन्द एल रायले निर्माण गर्न लागेको यस फिल्मलाई सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्नेछन् ।