पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु‚ पत्नी गम्भीर घाइते

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका-३ ज्यामिरेमा पति-पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ ।

५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया भक्तकुमारीबीच आइतबार राति  कुटपिट भएको थियो । कुटपिट हुँदा गोविन्दको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते गोविन्दको उपचारका क्रममा छ थर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तकुमारी पनि गम्भीर रहेकाले थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।