पूर्व प्रहरीको शुभकामना आदानप्रदान

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर समितिले विजया दशमीको सन्दर्भ पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्यतामा शनिबार सो कार्यक्रम गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि दाहाल, विशिष्ट अतिथि मेचीनगर १० का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति सुवेश पनेरु, संगठनका जिल्ला अध्यक्ष खेम कार्की, निवर्तमान अध्यक्ष प्रेम लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले समाजमा शान्ति, सुव्यवस्था एवं अमनचयन कायम गर्न प्रहरी संगठनले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै अपराधमुक्त समाज निर्माणका लागि पूर्व प्रहरीको भूमिका पनि उत्तीकै आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा संगठनका नगर अध्यक्ष अमिन अली शेखले नगरमा पूर्व प्रहरी एक ढिक्का हुँदाहुँदै पनि संगठनको भवन नहुँदा संगठनका गतिविधि अघि बढाउन र कार्यसम्पादन प्रक्रियामा समस्या उत्पन्न भइरहेको बताए ।
त्यस्तै, संगठनका नगर सचिव लक्ष्मीप्रसाद उप्रेतीले लामोसमयदेखि संगठनले कार्यालय भवन अभावकाबीच पनि कार्यक्रम गर्दै आएको अवगत गराएका थिए । उनले संगठनका कार्यक्रमहरुलाई सहज रुपमा सञ्चालन गर्न इलाका प्रहरी कार्यालय धुलाबारीको पुरानो भवनको एउटा कोठा उपलब्ध गराउन ध्यानाकर्षण गराए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राई, प्रहरी उपरीक्षक दीपक पोखरेलकी आमा लक्ष्मी पोखरेल, संगठनका नगर उपाध्यक्ष दीपक थापा, काँकरभिट्टा इकाई प्रमुख खेमध्वज लिम्बू, पूर्व प्रहरीका गुरुबा चन्द्रध्वज लिम्बूलगायतको आतिथ्यता थियो ।
मेची उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा पूर्व प्रहरी परिवारका सदस्य एवं युवा गायक जमीर अलीले गीत तथा बाल नृत्यकार शिवन्या उप्रेती र सोनाम श्रेष्ठले नृत्य कला प्रस्तुत गरेका थिए ।
त्यसक्रममा सहभागी पूर्व प्रहरी तथा परिवारका सदस्यहरुले सामूहिक रुपमा नृत्य गरेका थिए । कार्यक्रममा पूर्व प्रहरी कृष्ण तामाङकी श्रीमति बिना निरौला (तामाङ)लाई सम्मान गरिएको थियो । नगरमा संगठन स्थापना भएदेखि हालसम्म संगठनका हरेक गतिविधिमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
संगठनका नगर अध्यक्ष अमिन अली शेखको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत नगर उपाध्यक्ष भूपेन्द्र गिरी र सञ्चालन नगर सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।