हिमशिखर एग्रोले दियो किसानलाई क्रेडिट कार्ड

झापा । सरकारले किसानका धेरै कामहरु गर्छु भनेर पनि गर्न सकेको छैन । तर, गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम भने लागू भएको छ । किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको अवधारणा आएसँगै अहिले किसानहरु यसप्रति आकर्षीत हुन थालेका छन् ।

झापा दमक–१० कि शान्तकुमारी थाम्सुहाङ लिम्बू बिहिबार किसान क्रेडिट कार्ड पाएपछि दङ्ग थिइन् । कृषि उद्यमका लागि सहयोगी हुने यो किसान क्रेडिट कार्ड पाएर दङ्ग हुनेमा उहा मात्रै हैन सोही ठाउका जितबहादुर धिमाल, सोमबहादुर धिमाल, राजकुमार धिमाल र उदयभक्त केरुङपनि कार्ड पाएपछि हर्षित थिए । हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टर प्राली दमकले मेगा बैंकसँगको सहकार्यमा यि किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरेको हो ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी किसान क्रेडिट कार्ड वितरणसँगसँगै किसानहरुलाई किसान वित्तीय साक्षरताका बिषयमा छलफलसमेत गराएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख ओलीले किसान सम्मानित पेशा भएकाले किसानका हक र हितका लागि हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरले सुरुवात गरेको यो कामको उनले प्रशंसासमेत गरे । नगरप्रमुख ओलीले अहिलेपनि किसानका नाममा अरुलेनै सेवा लिईरहेको प्रति चिन्ता जनाउँदै उनले आगामी दिनमा यस्ता क्रियाकलापको अन्त्य गर्न आफुहरु लागि पर्ने धारणा समेत राखे ।

यस्तै कृषकहरुलाई डिजिटल कृषि प्रणालीमार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उद्देश्यका साथ मेगा बैंकको सहयोगमा किसान क्रेडिट कार्ड वितरण गरिएको एग्रोका अध्यक्ष धुब्रप्रसाद न्यौपानेले जानकारी दिए । उनले बिहिबार सुभारम्भ भएको किसान क्रेडिट कार्ड वितरण अभियानले किसानलाई थप हौसला मिल्नेमा आफु आशाबादी रहेको बताए ।

यस्तै, हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरेले किसानका लागि आफुहरु सदैब सहयोग गर्न तत्पर रहेको बताए । उनले सहुलियत कर्जामात्र हैन आगामी दिनमा किसानलाई आवश्यक पर्ने अन्य कामका लागि सहयोगी बन्न आफु र आफ्नो संस्था सदैब तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा मेगा बैंकका माईक्रो हेड पूण्यप्रसाद खनिया, बैंकका प्रदेश १ का प्रमुख बिबेक बन्धु न्यौपानेलगायत अन्य प्रतिनिधिहरु, त्यसैगरि दमक नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु बिकास अधिकृत पदम राईलगायतले मन्तब्य राखे । एग्रोका अध्यक्ष ध्रुबप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सञ्चालन हिमशिखर टेलिभिजनका समाचार शाखा प्रमुख सुदिप अधिकारीले गरेका थिए ।