विश्वकप लिग २ : आज नेपाल र ओमान भिड्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ ।

अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ ।

लिग-२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो ।

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ ।

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।

नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ । नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ ।