संखुवासभा हत्याकाण्ड : नाताका भतिजाले पालैपालो मारेको स्वीकार

झापा । संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्रेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), संघीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ ।

गत सोमवार मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ फरक–फरक स्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो । दुई नाबालक सहित सबैको हत्या गरिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसइबीका कारण हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएका युवक मृतक परिवारका १३ दिने नाता पर्ने एकै खलकका हुन् । हत्या गरिएका तेजबहादुरका नातामा उनी भतिजा पर्छन् ।

प्रहरीका अनुसार पक्राउ परेका छिमेकी नै हुन् । बिहान करिब साढे ५ बजेतिर घटना भएको देखिएको छ । सुरुमा उनले तेजबहादुरको हत्या गरेको त्यसपछि अन्य सदस्यहरूको हत्या गरेको बयान दिएको प्रहरीको दावी छ ।

घरभित्र, बाटोमा, बारी र खोल्सामा गरी सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो ।

हत्या भएका कार्की परिवारले आफूलाई हेप्दै आएको र मनमा त्यसको तुस रहिरहेकाले सोही दिन हत्या गरेको प्रहरीलाई उनले बयान दिएको प्रहरीको भनाई छ । केही दिन अघि अभियुक्तले तेजबहादुर कार्कीकी बुहारीलाई रातिको समयमा फोन गरेका थिए । सो कुराको जानकारी रञ्जनाले आफ्ना ससुरालाई दिएकी थिइन् । त्यसपछि तेजबहादुरले लोकबहादुरलाई हप्काएका थिए ।

‘मलाई हप्काउने उसका छोरा विदेशमा भएर पैसा कमायो भनेर हेप्ने गरेको थियो । त्यसैको रिस थियो,’ लोकबहादुरको बयानलाई उद्धृत गर्दै एक प्रहरीले अधिकृतले सुनाए ।

प्रहरीले सुरुमा यो घटना आर्थिक पाटोसँग जोडेर अनुसन्धान गरेको थियो । तर, कार्की परिवारको घर भित्र हरेको नगद र अन्य गरगहना सकुशल भएकाले नयाँ शिराबाट अनुसन्धान थालेको थियो । घरभित्र कुनै पनि छेडछाड नगरेको, अन्य आधुनिक हतियार प्रयोग नगएको र परिवारका एकजना बाहेक बसै सदस्यको हत्या गरिएको हुनाले कुनै चिने जानेको व्यक्तिबाट नै हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

‘हत्या भएपछि अनुसन्धानले शंका गर्ने आधार दिएपछि लागेपछि उसलाई सर्भिलेन्समा राखेका थियौँ । थप प्रमाण पुगेपछि नियन्त्रणमा लिएका हौँ,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले भने ।

एक वर्षअघिको जेठमा उनकी आमाको लडेर मृत्यु भएको थियो । आमाको मृत्युमा उनले कार्की परिवारमाथि शंका गरेका थिए । जसले गर्दा पनि कार्की परिवारप्रति रिसइबी बढेको देखिन्छ ।

प्रहरीले लोकबहादुरमाथि अनुसन्धान गर्दै जाँदा शंकास्पद गतिविधि देखिएको थियो । उनले आफूले लास देखेको भन्दै कुनै व्यक्तिलाई जानकारी दिएका थिए । तर, उनले जुन ठाउँबाट शव देखेको भनेका थिए त्यस स्थानबाट सहजै लास देखिने अवस्था थिएन । त्यसपछि प्रहरीको आशंका थप बलियो बनेको थियो ।

‘हामीलाई उसले जहाँबाट लास देखेको भने त्यहाँबाट हेर्दा लास देखिँदैन थियो । त्यसरी नै आशंकाहरूलाई टेकेर अनुसन्धान गर्दै गयौँ,’ एक प्रहरी अधिकृतले भने । प्रहरीले आज (आइतवार) पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने भएको छ