अमेरिकाले उद्धार गरिएका अफगानीलाई लैजान यात्रुवाहक जहाज खटाउने

एजेन्सी । अमेरिकाले काबुलबाट उद्धार गरी मध्यपूर्वका विभिन्न सैनिक बेसमा पुर्‍याइएका अफगानीहरूलाई गन्तव्यमा पुर्‍याउन व्यावसायिक उडान गर्ने यात्रुवाहक जहाज खटाउने भएको छ ।

अमेरिकी रक्षा मन्त्री लोइड जे अस्टिनले अमेरिका एयरलाइन्सहरूलाई सैनिक जहाजले गरिरहेको उद्धारमा सहयोग गर्न निर्देशन दिएका हुन् । अहिलेसम्म युनाइटेड एयरलाइन्सका ४, अमेरिकन एयरलाइन्स, एटलस एयर, डेल्टा एयरलाइन्स र ओम्नी एयरका ३/३ र हवाइएन एयरलाइन्सका २ वटा जहाज उद्धारमा खटिने भएका छन् ।

यी जहाजहरू काबुल विमानस्थलमा भने जाने छैनन् । काबुलबाट अमेरिकी वायु सेनाका जहाजले बहराइन, कतार, युएईका सैनिक बेसमा ल्याएका अफगानीलाई उनीहरूले युरोप र अमेरिका लैजाने छन् ।

अहिले अमेरिकी सैनिक जहाजले काबुलबाट हजारौं अफगानीहरूलाई मध्यपूर्वका बेसमा पुर्‍याएका छन् । व्यावसायिक उडान भर्ने जहाजले उनीहरूलाई गन्तव्यमा पुर्‍याएपछि सैनिक जहाजलाई भार कम हुनेछ ।

विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरूले कस्तो शासन लगाउने हुन् भन्ने डरले अहिले हजारौं अफगानी देश छोड्न विमानस्थलमा आइरहेका छन् ।